अन्तर्राष्ट्रिय

युरोपेली युनियन छोड्न प्रतिबद्ध छौं : प्रधानमन्त्री जोन्सन

लन्डन – बेलायतका नवनियुक्त प्रधानमन्त्री बोरिस जोन्सनले बिहीबार मन्त्रिपरिषद्को पहिलो बैठकमा युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) समेतका विषयमा छलफल गरिने बताएका छन्।

नवनियुक्त प्रधानमन्त्री जोन्सनले ब्रेक्जिटका विषयमा जारी तनावलाई आगामी तीन महिनाभित्र समाधान गर्नुपर्ने चुनौती आफूसँग रहेको बताउँदै ब्रेक्जिटको विषयलाई अझैं लम्ब्याउने पक्षमा आफू नरहेको स्पष्ट पारेका हुन्।

बुधबार प्रधानमन्त्री पदको सपथ लिएपछि जोन्सनले पूर्वप्रधानमन्त्री थेरेसा मेको मन्त्रिपरिषद्मा रहेका आधाभन्दा बढी मन्त्रीलाई हटाएका छन्। उनले युरोपेली संघ (इयु) बाट बेलायत बाहिरिनु पर्छ भनेर अभियान चलाउने नेतालाई आफ्नो मन्त्रिमण्डलमा मुख्य जिम्मेवारी दिएका छन्। जोन्सनको मन्त्रिमण्डलमा एसियाली मूलका दुईजना बेलायती नागरिक पनि रहेका छन्।

एसियाली मूलका मन्त्री
प्रधानमन्त्री जोन्सनले आफ्नो मन्त्रीमण्डलमा एसियाली मूलका बेलायतीलाई उल्लेख्य स्थान दिएका छन्। अघिल्लो मन्त्रीमण्डलका कतिपय सदस्यलाई उनले मन्त्रीपरिष्दबाट हटाए पनि कतिपयको जिम्मेवरी हेरफेर गरेका छन्।

पूर्वप्रधानमन्त्री थेरेसा मेको सरकारका गृहमन्त्री साजिद जावेदलाई अर्थमन्त्रीको जिम्मेवारी दिएका छन्। ब्रेक्जिटका कट्टर समर्थक डोमिनिक रावलाई जोन्समनले विदेशमन्त्री बनाएका छन्।

बेलायती महारानीसँग प्रधानमन्त्री पदको सपथ लिएपछि प्रधानमन्त्री निवास टेन डाउनिङ स्ट्रिटमा सम्बोधन गर्दै जोन्सनले भने, ब्रेक्जिटका विषयमा ‘तर र यदि’जस्ता शब्द अब लाग्दैनन्। हामी युरोपेली संघबाट बिदा हुन्छौं।

प्रकाशित: १० श्रावण २०७६ ०१:१५ शुक्रबार

बोरिस_जोन्सन युरोपेली_युनियन युरोपेली_संघ