अन्तर्राष्ट्रिय

ट्युनिसियाली राष्ट्रपति एसेब्सीको निधन

ट्युनिसिया- उत्तर अफ्रिकी मुलुक ट्युनिसियाका राष्ट्रपति बेजी काइद एसेब्सीको उपचारका क्रममा बिहीबार निधन भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। बयानब्बे बर्षीय एसेब्सी प्रजातान्त्रिकरूपमा निर्वाचित भएका पहिलो ट्युनिसियाली राष्ट्रपति थिए। उनी हाल सत्तामा रहेका बेलायतकी महारानी पछि सबैभन्दा पाका राष्ट्रप्रमुख थिए।

लामो समयसम्म सत्तामा रहँदै आएका दर्जनौँ अरबेली तथा अफ्रिकी नेताहरूलाई सन् २०११ अरब मुलुकहरूमा भएको जनआन्दोलनको बलमा अभियानकै रूपमा सत्ताच्युत गरिएको थियो। 

एसेब्सी तत्कालिन तानाशाह जिने एल अविदिने बेन अलीको स्थानमा सन् २०१४ मा प्रजातान्त्रिक निर्वाचन प्रणालीबाट निर्वाचित ट्युनिसियाको पहिलो राष्ट्रपति बनेका थिए।

नब्बे वसन्त पार गरेका एसेब्सी गत जुनमा स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पताल भर्ना भई उपचार गराउनु भएको थियो। उनलाई गम्भीर स्वास्थ्य समस्या देखिएपछि बिहीबार पुनः अस्पताल भर्ना गरी सघन उपचार कक्षमा राखी उपचार शुरू गरिएको थियो।

“धेरै समस्या देखिएका छन्, छोरा अफेद काइद एसेब्सीले एएफपीलाई बिहीबार राष्ट्रपति एसेब्सीलाई भर्ना गरेपछि उहाँको स्वास्थ्यप्रति चिन्ता प्रकट गर्दै जानकारी दिए। 

आगामी नोभेम्बरमा निर्वाचनको मिति तय भएका समय एसेब्सीको स्वास्थ्यमा आएको गडबढीपछि अस्पताल भर्ना र मुलुकको शक्ति सन्तुलनमा आउनसक्ने सम्भावित शुन्यताप्रति चिन्ता प्रकट गर्दै राजनीतिज्ञ तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले चासो व्यक्त गरेका थिए।

ट्युनिसियाको संविधानले राष्ट्रपतिको निधन भएमा अपनाउन सकिने दुई किसिमका शर्तको व्यवस्था उल्लेख गरेको छ। 

प्रथम व्यवस्था अनुसार राष्ट्रपतिको स्थानमा बढीमा ६० दिनका लागि प्रधानमन्त्रीले जिम्मेवारी लिने र उक्त समय सीमाभित्र निर्वाचन गर्ने र राजनीतिक सङ्कट टार्न सकिन्छ। दोस्रो विकल्प सभामुखले बढीमा ९० दिनका लागि राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने व्यवस्था रहेको छ। तर दुबै व्यवस्थाका लागि ट्युनिसियाको संवैधानिक अदालतबाट निर्णय लिनुपर्ने व्यवस्था छ। तर अरब वसन्त आन्दोलनका आठ बर्ष पूरा हुँदा पनि संवैधानिक अदालतको स्थापना भइसकेको छैन्।

ट्युनिसियामा आगामी अक्टोबर ६ मा संसदीय निर्वाचन गर्ने र नोभेम्बर १७ मा राष्ट्रपतिको निर्वाचन गर्ने कार्यक्रम निर्वाचन आयोगले सार्वजनिक गरेको छ। एएफपी

प्रकाशित: ९ श्रावण २०७६ १३:४६ बिहीबार

ट्युनिसिया राष्ट्रपति निधन