अन्तर्राष्ट्रिय

डुंगा दुर्घटनामा मर्नेको संख्या १५ पुग्यो

बुडापेस्ट – हंगेरीको राजधानी बुडापेस्टमा एक साताअघि भएको डुंगा दुर्घटनामा परी मृत्यु हुने पर्यटकको संख्या १५ पुगेको छ दक्षिण कोरियाली दुई नागरिकको थप शव भेटिएपछि सो संख्या १५ पुगेको प्रहरी स्रोतले जानकारी दिएको छ। यस दुर्घटनामा परेका अझै पनि १३ व्यक्ति बेपत्ता रहेका प्रहरी स्रोतलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ।

हंगेरीको राजधानी बुडापेस्टको ड्यानुब नदीमा दृश्यावलोकन गराउने एक डुंगा एक साता अगाडि पल्टिँदा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य २१ जना बेपत्ता रहेका त्यहाँको सरकारी सञ्चारमाध्यमले सो समयमा जानकारी दिएका थिए।

सो डुंगामा ३३ जना दक्षिण कोरियाली पर्यटक सवार रहेको सोलस्थित विदेश मन्त्रालयले जानकारी दिएको थियो। हराइरहेका २१ व्यक्तिमा पनि प्रायःदक्षिण कोरियाली नागरिक नै रहेका दक्षिण कोरियाली विदेश मन्त्रालयले बताएको छ। स्थानीय समयानुसार गत बुधबार राति करिब ९ बजे भीषण रूपमा वर्षा भइरहेको अवस्थामा नदीको किनारमा बाँधेर अड्याइराखेको सो डुंगामा अर्को डुंगा आएर ठोक्किएपछि दुर्घटना भएको थियो।

दुई तले सो डुंगा ४५ जना मानिस बसेर दृश्यावलोकन गर्न सकिने क्षमताको रहेको भए पनि दुर्घटना हुँदा डुंगामा ६० जना सवार रहेका प्रत्यक्षदर्शीले जनाकारी दिएका छन्। हराइरहेका व्यक्तिको खोजीका लागि ड्यानुब नदीमा अझै पनि खोजी अभियान चलाइएको सरकारी अधिकारीले जानकारी दिएका छन्।

 

प्रकाशित: २४ जेष्ठ २०७६ ०३:४८ शुक्रबार

हंगेरी बुडापेस्ट डुंगा_दुर्घटना