अन्तर्राष्ट्रिय

जसोदावेनको नाम लिँदै मोदी माथी मायावतीको कटाक्ष

नयाँ दिल्ली- बहुजन समाज पार्टी तथा उत्तर प्रदेशकी पूर्वमुख्यमन्त्री मायावतीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथी उनकी श्रीमती जसोदा वेनको नाम दिँदै प्रहार गरेकी छन्।

मोदीले आफ्नो राजनीतिक स्वार्थको कारण आफ्नी पत्नीलाई छोडेको मायावतीले आरोप लगाएकी छन्। एक पत्रकार सम्मेलनमा उनले उनले भनिन्, 'मोदीले अरुका बहिनी-छोरीको इज्जत गर्न सक्दैनन्, उनले राजनीतिक स्वार्थका कारण आफ्नै वेकसुर पत्नीलाई पनि छोडिदिए।'

उनले देशका सबै महिलालाई प्रधानमन्त्री नरेन्द्र मोदीलाई भोट नदिन समेत अपिल गरिन्।

शनिबार मोदीले राजस्थानको अलवरमा एक दलित महिलामाथी भएको सामूहिक बलात्कारको निन्दा गर्दै राजस्थानमा कांग्रेस सत्तामा भएको र उसले अलवरमा भएको सामूहिक बलात्कारको चुनावसम्म लुकाउने प्रयास गरेको आरोप लगाएका थिए। उनले मायावतीलाई कांग्रेस सरकारलाई दिएको समर्थन फिर्ता लिन आग्रह समेत गरेका थिए।

यही विषयलाई लिएर मायावतीले मोदीमाथी प्रहार गर्दै भनिन्, 'मोदीको कुनै पार्टी तथा नेतालाई अलवर घटनाको विषयलाई लिएर सल्लाह दिने नैतिक अधिकार छैन।'

मायावतीको यो भनाईलाई लिएर भारतीय जनता पार्टीले जवाफ दिएको छ। केन्द्रीय वित्तमन्त्री अरुण जेटलीले ट्वीटरमा लेखेका छन्, 'बहिनी मायावती- उनी प्रधानमन्त्री बन्न चाहन्छिन् तर उनको शासन प्रणाली, नैतिकता र भाषण तल्लो स्तरको छ। प्रधानमन्त्री मोदी माथी उनको निजी हमलाले यही भन्छ उनी सार्वजनिक जीवनको लागि अयोग्य छन्।'

यस अघि फ्रेववरीमा आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडुले पनि मोदीकी पत्नीको विषयमा तिखो टिप्पणी गरेका थिए।

नायडुले प्रधानमन्त्री माथी टप्पणी गर्दै, 'तपाई आफ्नी पत्नीबाट अलग हुनुहुन्छ। परिवारको मूल्यको लागि तपाईको मनमा कुनै आदर छैन।' उनले प्रधानमन्त्रीको न कुनै परिवार छ न कुनै सन्तान् भन्दै टिप्पणी गरेका थिए।

 

 

प्रकाशित: ३० वैशाख २०७६ ०८:४२ सोमबार

मायावती नरेन्द्र_मोदी चुनाव