अन्तर्राष्ट्रिय

ट्रम्पको चेतावनीपछि सेयर बजार खस्कियो

हङकङ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को सातादेखि लागू हुने गरी दुई सय अर्ब अमेरिकी डलरबराबरका चिनियाँ सामानमा कर वृद्धि गर्ने चेतावनी दिएसँगै सोमबार एसियाली सेयर बजारमा ठूलो गिरावट आएको छ। विश्व अर्थतन्त्रका पहिलो र दोस्रो स्थानमा रहेका संयुक्त राज्य अमेरिका र चीनबीच जारी व्यापारिक तनाबलाई मत्थर बनाउन र नयाँ व्यापार सम्झौता गर्न केही महिनादेखि जारी वार्ता दुवै पक्षबाट ‘सकारात्मक’ रहेको बताइए पनि तार्किक निष्कर्षमा पुग्न सकेको छैन।

व्यापार वार्ता निकै सुस्त किसिमबाट अघि बढेको भन्दै राष्ट्रपति ट्रम्पले कर वृद्धिको घोषणा गरेर चीनमाथि थप दबाव दिन चोहेको केही विश्लेषकको भनाइ छ।    सांघाई सेयर बजार एकै दिन पाँच प्रतिशतले घटेको छ भने एसियाका अन्य सेयर बजारमा पनि मन्दी छाएको छ। ‘विगत १० महिनादेखि चीनले ५० अर्ब डलर बराबरका उच्च प्रविधिका सामग्रीका लागि २५ प्रतिशत कर तिर्दै आएको छ र दुई सय अर्ब डलर बराबरका सामानमा थप भएको १० प्रतिशत कर तिरिरहेको छ,’ राष्ट्रपति ट्रम्पले स्थानीय समयअनुसार आइतबार राति ट्विट गर्दै उल्लेख गरेको छ। ‘अब आगामी शुक्रबारदेखि त्यो १० प्रतिशत करलाई २५ प्रतिशत बनाइनेछ,’ ट्रम्पले ट्विट गरेका छन्।

राष्ट्रपति ट्रम्पको ट्विटसँगै अर्को चरणको वार्ता हुने वा नहुने भन्नेमा अन्यौल बढेको छ। यसै साता चिनियाँ व्यापार वार्ताकार वार्ताका लागि अमेरिका प्रस्थान गर्ने कार्यक्रम तय भएको थियो। ब्लुमबर्ग न्युजका अनुसार चिनियाँ पक्षले आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरिरहेका छन्।

अमेरिका र चीनले गत वर्ष एकअर्का विरुद्ध तीन सय ६० अर्ब अमेरिकी डलर बराबरका सामानमा कर वृद्धि गरेका छन् तर राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच थप कर वृद्धि नगर्ने र वार्ताद्वारा समस्याको समाधान निकाल्ने सहमति भएपछि गत वर्ष डिसेम्बर १ तारिखदेखि व्यापार वार्ता जारी छ।  ट्रम्प र सीबीच सहमति भएपछि सेयर बजारको गिरावट रोकिएको थियो।

हङकङको सेयर बजार पनि ३.३ प्रतिशत घटेको छ। सिंगापुरको सेयर बजार ३.३ प्रतिशत र ताइपेईको बजार १.८ प्रतिशतले घटेको छ। सिड्नी र वेलिङ्टनको सेयर बजारमा पनि एकएक प्रतिशत गिरावट आएको बताइएको छ।

प्रकाशित: २४ वैशाख २०७६ ०३:३२ मंगलबार

डोनाल्ड_ट्रम्प सेयर_बजार संयुक्त_राज्य_अमेरिका चीन