अन्तर्राष्ट्रिय

बाढीका कारण हजारौंलाई सुरक्षित स्थानतर्फ सारियो

गोलेस्तान प्रान्तमा बाढीका कारण जम्मा भएको पानीमा डुंगाबाट आरपार गर्दै स्थानीय । तस्बिर: एजेन्सी

तेहरान– बाढी प्रभावित इरानमा थप वर्षा हुने पूर्वानुमानपछि थप सहर र गाउँका मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको छ।

तीन सातादेखि जारी भारी वर्षाका कारण इरानका अधिकांश भूभाग हाल डुबान अवस्थामा रहेका छन् भने यो अवधिमा बाढीका कारण कम्तीमा ७० जनाको मृत्यु भइसकेको छ।

देशको दक्षिण–पश्चिमी क्षेत्रमा थप वर्षा हुने पूर्वानुमान देशको जल तथा मौसम विभागले शनिबार गरेपछि ती क्षेत्रमा बस्न्ने करिब चार लाख मानिस जोखिममा परेका छन्। लगातारको पानीले जलाशय भरिएपछि खतरा मोलेरै अधिकारीहरुले देशका विभिन्न जलाशयलाई खुला राखेको बिबिसीले उल्लेख गरेको छ।

थप वर्षा हुने पूर्वानुमानपछि शनिबार ती क्षेत्रमा बस्ने महिला तथा बालबालिकालाई सुरक्षित स्थानतर्फ सारिएको छ भने पुरुषहरुलाई भने सरकारले उपलब्ध गराएको सुरक्षा प्रयाससहित सुरक्षित तरिकाले बस्न भनिएको छ।

इराकसँग सीमा जोडिएको देशको दक्षिण–पश्चिमी प्रान्त खुजेस्तानका मानिसलाई विशेषगरी सुरक्षित तरिकाले सार्न केन्द्रीत गरिएको छ। कारखे नदी आसपास बस्ने मानिससहित ६ वटा सहरका मानिसलाई यथासक्य चाँडो सानुपर्ने आवश्यकता रहेको खुजेस्तान प्रान्तका गभर्नर घोलामरेजा सारिआटीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

उनले अवस्था अत्यन्तै नाजुक रहेको बताउँदै बाढीको त्रास विद्यमान रहे पनि खतरा मोलेरै भए पनि पानीको सतह कम गर्नका लागि कारखे जलाशय खुला गरिएको समेत बताएका छन्।

गत साता सो प्रान्तका करिब ७० वटा गाउँका मानिसलाई सुरक्षित तरिकाले स्थानान्तरण गरिएको थियो। यद्यपि खुजेस्तानको राजधानी अभाजमा बसोबास गर्ने मानिसलाई स्थानान्तरण गर्नका लागि भने सरकारी पक्षबाट कुनै आदेश नआएको बताइएको छ। निरन्तर वर्षा भइरहेपछि र मौसम विभागबाट बाढीको चेतावनी आएलगत्तै अर्को सूचना नआएसम्मका लागि भन्दै इराकले शनिबार सिब सीमाबाट वारपार हुने क्षेत्रलाई बन्द गरेको बिबिसीले जनाएको छ।

पर्याप्त तेल भण्डारण रहेको सो क्षेत्रमा जमेको पानी हटाउनका लागि पम्पको प्रयोग भइरहेको बताइएको छ।

मार्च १९ बाट सुरु भएको वर्षाका कारण इरानमा अहिले बाढीले समस्या पारिरहेको छ। विशेषगरी बाढीका कारण देशको उत्तरपूर्वी क्षेत्र एवं तुर्कमेनिस्तानसँग सीमा जोडिएको गोलेस्तानबाट बढीको प्रभाव सुरु भएको थियो।

मार्च २५ का दिन देशको पश्चिमी तथा दक्षिण–पश्चिमी क्षेत्र बाढीले प्रभावित भएको थियो। सोही क्षेत्रमा अप्रिल १ दिन परेको पानीले झनै समस्या उत्पन्न गराएको थियो। त्यसपछि लोरेस्तान प्रान्त बढी प्रभावित बनेको थियो र कैयौं गाउँ तथा सहरको जीवनमा असहजता उत्पन्न भएको थियो।

देशको एकतिहाई सडक सञ्जाल अर्थात् करिब १२ हजार किलोमिटर सडक बाढीका कारण प्रभावित बनेको बिबिसीले उल्लेख गरेको छ। हजारौं सडक, पुल र भवनहरु निरन्तरको वर्षा र बाढीका कारण क्षतिग्रस्त भएका छन्। वर्षा र बाढीका कारण हाल करिब ८६ हजार मानिस आपत्कालीन वासस्थानमा रहेका छन् जसमा एक हजार मानिस हवाईजहाजमार्फत् सुरक्षित तरिकाले उद्धार गरेर ल्याइएका थिए।

प्रकाशित: २४ चैत्र २०७५ ०५:५१ आइतबार

इरान बाढी_प्रभावित