अन्तर्राष्ट्रिय

रुसले अमेरिकासँग भनेजुएलाका विषयमा वार्ता गर्ने

मस्को – भेनेजुएलामा बढ्दै गएको राजनीतिक तथा मानवीय संकट समाधानका लागि अमेरिकासँग वार्ता गर्न आफू तयार रहेको रुसले जनाएको छ।

संयुक्त राष्ट्रसंघको घोषणापत्रअनुसार दुई देशका लागि समन्वयकारी भूमिका खेल्न तयार रहेको रुसका विदेशमन्त्री सर्गेइ लाभरोभले शनिबार बताएका हुन्। विदेशमन्त्री लाभरोभले जारी गरेको वक्तव्यमा भेनेजुएलाका बारेमा आफूले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग छलफल गरेको उल्लेख गरेका थिए। लाभरोभले पोम्पेओसँग टेलिफोनमा कुराकानी गर्दै भेनेजुएलाको अवस्था, संकट समाधानको उपायलगायतका बारेमा कुराकानी गरेको पनि जानकारी दिएका छन्।

‘भेनेजुएलाका बारेमा मैले वासिङ्टनसँग छलफल गरेको छु। अमेरिकासँग भेनेजुएलाको सङ्कट समाधानको निकास निकाल्न सकिन्छ तर राष्ट्रसंघीय घोषणापत्रलाई भने मान्नु पर्दछ,’ लाभरोभले वक्तव्यमा भनेका छन्। संयुक्तराज्य अमेरिकाले विपक्षी नेता गुएइदोलाई मान्यता दिँदै उनको नेतृत्वका लागि कुटनीतिक अभियान चलाएको छ। रूसले भेनेजुएलाको सरकारलाई दिँदै आएको सहयोगलाई जारी राख्ने पनि रूसी विदेशमन्त्री लाभरोभले बताएका छन्।
‘हामीले अत्यधिक निकटमा रहेर भेनेजुएलाको समस्याबारे अन्तर्राष्ट्रिय क्षेत्रमा सहकार्य र समन्वय गर्दै अघि बढ्नेछौं,’ लाभरोभले भने।

उनले थपे, ‘वर्तमान समयमा भेनेजुएलाको आन्तरिक मामिलामा निर्लज्जरूपमा वैदेशिक हस्तक्षेपको सामना गरिरहेको र यसमा उसलाई सहयोग गर्नु महत्वपूर्ण कार्य हो।’ आर्थिक तरलताले विक्षिप्त बनेको भेनेजुएलामा प्रतिपक्षी नेता हुँवा गुएइदोले गत जनवरीमा आफूलाई स्वघोषितरूपमा अन्तरिम राष्ट्रपति घोषणा गरेका कारण उक्त मुलुक राजनीतिक संकटतर्फ गइरहेको छ। मदुरोले वैधानिकता गुमाएको दाबी गुएइदोले गर्दै आएका छन्। मदुरो र उनका रूसलगायतका सहयोगीले भेनेजुयलाको सरकार विरूद्ध वासिङ्टनले राज्य विद्रोह ‘कू’ प्रयास गराएको आरोप लगाउँदै आएको छ।

प्रकाशित: २० फाल्गुन २०७५ ०४:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App