अन्तर्राष्ट्रिय

काएरो दुर्घटनामा बीस जनाकाे मृत्यु, यातायात मन्त्रीद्वारा राजिनामा

इजिप्ट – इजिप्टको काएरोमा बुधबार रेल दुर्घटनापछि आगलागी हुँदा कम्तिमा २० जनाको मृत्यु भएको यहाँका अधिकारीले जनाएका छन्।

राजधानी काएरोस्थित रेल स्टेसननजिकै रेल दुर्घटना भएको छ साथै रेलको इन्धन ट्याङ्की विस्फोट भई आगलागी हुँदा २० जनाको मृत्यु भएको र केही यात्रु आगोले जलेर घाइते भएका कारण मृतकको संख्या थप बढ्नसक्ने काएरो रेलमार्गस्थित एक अस्पतालका प्रमुख मोहम्मद सैयदलाई उदृत गरी कतारी सञ्चारमाध्यम अलजजिराले जनाएको छ।

प्रारम्भिक जानकारी अनुसार तीव्र गतिमा रहेको रेल अचानक दुर्घटनाग्रस्त हुँदा इन्धन ट्यांकीमा आगलागी पछि विस्फोट भएको थियो। दुर्घटनामा घाइते करिब ४० जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। यसैबीच इजिप्टका यातायात मन्त्रीले राजधानीको केन्द्रीय रेल स्टेसननजिकै भएको दुर्घटनालाई लिएर राजीनामा दिएका यहाँको मन्त्री परिषद्ले जनाएको छ।

‘यातायात मन्त्री हिसाम अराफातले रेल दुर्घटनापछि आफ्नो राजीनामा दिनुभएको छ भने प्रधानमन्त्रीले उहाँको राजीनामा स्वीकृत गर्नुभएको छ,’ मन्त्रीपरिषद्द्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

 

प्रकाशित: १६ फाल्गुन २०७५ ०५:५९ बिहीबार

काएरो दुर्घटना यातायात_मन्त्री राजिनामा