अन्तर्राष्ट्रिय

इन्डोनेसियामा सुनामीमा मृतकको संख्या २२२ नाघ्यो

अनाक क्राकाटोआ ज्वालामुखी विस्फोटका कारण इन्डोनेसियामा आएको सुनामीका कारण ध्वस्त भएको सवारी साधन र घरको भग्नावशेष। तस्बिर : एजेन्सी

जकार्ता, पुस ८ (एजेन्सी)– इन्डोनेसियामा आएको सुनामीको कारण ज्यान गुमाउनेको संख्या दुई सय २२ नाघेको अधिकारीहरुले पुष्टि गरेका छन्। सुनामीका कारण इन्डानेसियाको जाभा र सुमात्रामा ती व्यक्तिहरुको मृत्यु भएको र सयौं घाइते भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

अनाक क्राकाटोआ ज्वालामुखी विस्फोटनका कारण समुद्रमुनि पहिरो आएका कारण सुनामी आएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको अधिकारीहरु र सञ्चारमाध्यमले आइतबार जनाएका छन्। सुनामीका कारण सयौं घर र अन्य भवनहरुमा ठूलो क्षति पुगेको बताइएको छ। त्यसैगरी कारहरु पल्टिएका छन् र रुखहरु पनि ढलेका छन्। सुनामी आएपछि हजारौं स्थानीयवासी र पर्यटकलाई समुद्री सतहभन्दा माथिको क्षेत्रमा बस्न आग्रह गरिएको छ। सुन्दा प्यासेज वरपरको तटीय क्षेत्रका स्थानीयवासी र पर्यटकलाई डिसेम्बर २५ सम्म तटबाट परै बस्न भनिएको छ। उच्च गतिको छाल आउने क्रम जारी नै रहेकाले यस्तो आग्रह गरिएको अधिकारीहरुले बताएका छन्।

जसले सो क्षेत्र छोडेका छन्, अहिले नै नफर्किनुस्,’ देशको मौसम विभागका अधिकारी रहमात ट्रियोनोलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ। इन्डानेसियाको प्रकोप एजेन्सीले आठ सय ४३ जना घाइते भएको र २८ जना हराइरहेको जानकारी गराएको छ। उसले मृतकको संख्या पनि कम्तीमा दुई सय २२ जना भएको पुष्टि गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ। सुनामीका कारण भत्किएका संरचनाका भग्नावशेषमा हराइरहेका मानिस हुनसक्ने अनुमान इन्डोनेसियाली प्रकोप निकायका प्रवक्ता सुतोपो पुर्वो नुग्रोहोले जानकारी दिएका छन्।

अप्रिल महिनामा हुने निर्वाचनमा पुनः प्रतिस्पर्धामा सहभागी हुन लागेका राष्ट्रपति विडोडोले ट्विट गर्दै सबै सम्बद्ध सरकारी एजेन्सीलाई तत्काल आपतकालीन सेवामा खट्न आग्रह गरेका छन्।

सुनामीका कारण सयौं व्यक्तिको मृत्यु र सयौं नै घाइते भएपछि इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले मृतकको परिवारमा समवेदना प्रकट गरेका छन्। उनले सुनामी प्रभावित जनतालाई धैर्य धारण गर्नका लागि समेत आग्रह गरेका छन्। अप्रिल महिनामा हुने निर्वाचनमा पुनः प्रतिस्पर्धामा सहभागी हुन लागेका राष्ट्रपति विडोडोले ट्विट गर्दै सबै सम्बद्ध सरकारी एजेन्सीलाई तत्काल आपतकालीन सेवामा खट्न आग्रह गरेका छन्। उनले सुनामीका कारण प्रभावित र घाइते भएका सबैलाई ख्याल गर्न पनि सरकारी निकायलाई आग्रह गरेको उनको ट्विट उद्धृत गर्दै रोयटर्सले जनाएको छ।

तटीय क्षेत्रमा बस्ने स्थानीयवासीले भूकम्प र पानीको सतह बढेको कुनै संकेत नदेखेको वा अनुभव नगरेको स्थानीयवासीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले  जनाएका छन्। भूकम्प र सुनामीको जानकारी दिने खालको चेतावनीमूलक साइरनले केही क्षेत्रमा काम नगरेको सरकारी अधिकारीहरुले स्वीकार गरेका छन्।

इसाईहरुको पर्व क्रिसमस बिदाको याममा इन्डोनेसियामा आएको सुनामीले सन् २००४ मा हिन्द महासागरमा आएको भूकम्पपछिको सुनामीको कारण निम्तिएको दर्दनाक घटनालाई स्मरण गराएको छ। सन् २००४ को क्रिसमको भोलीपल्ट भूकम्पपछि आएको सुनामीका कारण १४ देशका दुई लाख २६ हजार मानिसको मृत्यु भएको थियो। जसमध्ये एक लाख २० हजार मानिस इन्डोनेसियामा नै मारिएका थिए।

इन्डोनेसियाका उपराष्ट्रपति जुसुफ काल्लाले एउटा पत्रकार सम्मेलन गर्दै मृतकको संख्यामा वृद्धि हुनसक्ने बताएका छन्।

भूकम्प आइरहने इन्डोनेसियामा लगातार घटिरहेको दुःखद् घटनाको पछिल्लो उदाहरण शनिबारको सुनामी भएको छ। इन्डोनेसिया ‘रिङ अफ फायर’ भनिने पूरै प्रशान्त महासागरको तटीय इलाकाहरूमै पर्छ जहाँ एकदमै धेरै भूकम्प र ज्वालामुखी विस्फोटका घटना भइरहन्छन्। इन्डोनेसियाको भूगर्भसम्बन्धी निकायका अनुसार शुक्रबार अनाक क्राकाटोआ ज्वालामुखी दुई मिनेट १२ सेकेन्डसम्म विस्फोट भएको थियो। ज्वालामुखीपछि समुद्रमा पहिरो गएको र त्यसको कारण सुनामी आएको हुनसक्ने अनुमान गरिएको छ। 

प्रकाशित: ९ पुस २०७५ ०५:४९ सोमबार

इन्डोनेसिया सुनामी