अन्तर्राष्ट्रिय

‘अमेरिका इरानमा शासन परिवर्तन गर्न चाहन्छ’

इरानी राष्ट्रपति हसन रौहानी।

तेहरान (बिबिसी) – संयुक्त राज्य अमेरिकाले इरानमा शासन परिवर्तन गर्न खोजिरहेको इरानका राष्ट्रपति हसन रौहानीले आइतबार आरोप लगाएका छन्।

वर्तमान अमेरिकी प्रशासन इस्लामिक गणतन्त्र इरानले चार दशकमा भोगेको सबैभन्दा प्रतिकुल प्रशासन भएको समेत राष्ट्रपति रौहानीले बताएका छन्।

इरानको आणविक कार्यक्रमसम्बन्धी बहुपक्षीय सम्झौताबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मेमा हात झिकेपछि दुई देशबीच तनाव बढेको छ।

‘इरान, इरानी जनता र इस्लामिक गणतन्त्रप्रति अहिलेको अमेरिकी प्रशासनजस्तो इष्र्यालु प्रशासन पछिल्ला ४० वर्षमै थिएन,’ राज्य सञ्चालित टेलिभिजनमार्फत् सम्बोधन गर्दै राष्ट्रपति रौहानीले बताए।

‘कुनै जमाना थियो, जुन बेला एक जनामात्रै शत्रु हुन्थे । अरु सबै मिलाउने खालका हुन्थे । तर अहिले अवस्था बदलिएको छ र सबै खराब मानिस एकअर्काका नजिक पुगेका छन्,’ तेहरान विश्वविद्यालयमा नयाँ शैक्षिक सत्रको सुरुवातको अवसरमा दिएको सम्बोधनका क्रममा रौहानीले बताए।

अमेरिकाले मनोवैज्ञानिक र आर्थिक युद्ध गरिरहेको र इस्लामिक गणतन्त्र इरानको वैधानिकतामाथि नै प्रश्न उठाइरहेको राष्ट्रपति रौहानीले आरोपसमेत लगाएका छन् । ‘प्रणालीको वैधानिकता घटाउनु नै उनीहरुको अन्तिम लक्ष्य हो । जब उनीहरुले  वाक्क भयौं भन्न थाल्छन्, उनीहरुको भाषामा त्यसको अर्थ शासन परिवर्तन हो,’ रौहानीले बताए।

विश्वका छ शक्तिशाली राष्ट्र र इरानबीच सन् २०१५ मा भएको आणविक सम्झौताबाट मे महिनामा फिर्ता भएपछि अमेरिकाले इरानको मुद्रा व्यापार, धातु र अटो क्षेत्रविरुद्ध अगस्ट महिनाबाट पुनः कदम चालेको छ।

इरानको तेल निर्यातमाथिको प्रतिबन्ध अर्को महिनाबाट लागू हुँदै गर्दा केही इरानी नागरिकले भने आफ्नो देश आर्थिक संकटमा फस्ने चिन्ता व्यक्त गरेका छन् । सन् २०१२ देखि २०१५ सम्म इरानले भोगेको प्रमुख प्रतिबन्धको समयभन्दा पनि खराब अवस्था आउन सक्ने अनुमान गरिएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ । अमेरिकालगायतका केही देशको पूर्वतयारीका साथ ल्याइएको प्रतिबन्धको केही प्रभाव नपर्ने इरानी उपराष्ट्रपति इसाक जाहानगिरीले आइतबार बताएका छन् । उनले आफ्नो देशले तेल बेच्नका लागि नयाँ साझेदार राष्ट्र खोज्न सफल भएको भन्दै अमेरिकी प्रतिबन्धले केही असर नपर्ने दाबी गरेका हुन्।

‘अमेरिकाले इरानको तेल निर्यातलाई शून्यमा पु-याउन सक्दैन,’ उनले बताए । ‘इरानको तेल निर्यातलाई साउदी अरबले प्रतिस्थापन गर्छ भन्ने अमेरिकी सोचाइ छ । तर अहिले इरानको तेल ८० अमेरिकी डलरभन्दा बढी पुगिसकेको छ र यसअघिको आधाभन्दा बढी निर्यातले हामीले पहिले जति नै कमाइ गर्ने छौं,’ उपराष्ट्रपति जाहानगिरीलाई उद्धृत गर्दै राज्य सञ्चालित टेलिभिजनले जनाएको छ।

प्रकाशित: २९ आश्विन २०७५ ०४:३८ सोमबार

अमेरिका इरान