अन्तर्राष्ट्रिय

इन्डोनेसियामा भूकम्प, मर्नेको संख्या ३ सय नाघ्यो

जाकार्ता– इन्डोनेसियाको सुलावेसी प्रान्तमा शुक्रबार गएको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीमा परी तीन सय भन्दा बढीको मृत्यु भएको छ।

इन्डोनेसियाली विपद राष्ट्रिय प्रकोप नियन्त्रण निकायका अनुसार शनिबार दिउँसोसम्म ३८४ जनाको मृत्यु भएको पुष्टि भएको छ। मृतकको संख्या अझै बढ्ने बताइएको छ। ५४० भन्दा बढी घाइते छन्। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

प्रकोप नियन्त्रण निकायका प्रवक्ता सुटोपो पुर्वो नुग्राहोले पत्रकार सम्मेलन गरी अधिकांश शव समुद्री किनारमा फेला परेको र कति हराइरहेको भन्ने यकिन नभएको बताए। मृतक तथा घाइते लाई इट्टा र ब्लकले लागेको उनले जानकारी दिए। ‘भूकम्प र सुनामीका कारण ठूलो मात्रामा भौतिक सम्पत्तिको समेत क्षति भएको छ,’ प्रवक्ता नुग्राहोले भने।

मध्य इन्डोनेसियाको तटीय क्षेत्रमा ६.०, ७.४ र ६.१ म्याग्निच्युडका भूकम्पपछि शुक्रबारै ०.५ देखि ३ मिटरसम्मको सुनामी आएको थियो।

तटिय क्षेत्रका बस्तीहरुमा सुनामीले बढी प्रभावित पारेको र धेरै मानवीय तथा भौतिक क्षति भएको प्रकोप नियन्त्रण निकायले जनाएको छ।

खतराबाट जोगाउनका लागि उद्धार तथा सतर्कता सम्वन्धी कामहरु भइरहेका छन्। तर के कति क्षति भएको छ भन्ने पूर्ण विवरणहरु पनि आउन बाँकी छ।

प्रहरी, सैनिक, प्रकोप व्यवस्थापनकर्ता, स्वयमसेवकलगायतले भूकम्प र सुनामी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारसँगै राहतका कामहरु पनि गरिरहेको प्रवक्ता नुग्राहोले बताए।

यस भूकम्पको केन्द्रबिन्दु सुलावेसी द्वीपमा १८ किलोमिटर गहिराइमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले (युएसजिएस) ले जानकारी दिएको छ।

प्रकाशित: १३ आश्विन २०७५ ०८:१२ शनिबार

इन्डोनेसिया शक्तिशाली_भूकम्प सुनामी