अन्तर्राष्ट्रिय

‘सस्तो इन्धन चाहिए हस्तक्षेप बन्द गर’

इरानको राजधानी तेहरानको दक्षिणी क्षेत्रस्थित पर्सियन खाडीमा रहेको तेल उत्पादन प्लाटफर्मबाट चम्किरहेको ग्यास ।   फाइल तस्बिर : एजेन्सी

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सस्तोमा तेल चाहिए मध्यपूर्वमा हस्तक्षेप बन्द गर्नुपर्ने इरानका तेल इन्धनमन्त्री बिजान जाङगानेले बुधबार बताएका छन्। 

‘ट्रम्पले इरानको इन्धन निर्यात कम गराउन खोजिरहेका छन् र तेलको भाउ पनि नबढ्ने विश्वस्त पार्न खोजिरहेका छन्, तर यी दुवै चीज एकै पटक हुनै सक्दैन,’ इरानी विद्यार्थी समाचार एजेन्सीले मन्त्री जाङगानेलाई उद्धृत गर्दै बताएको छ। 

‘यदि उनी तेलको भाउ नबढोस् भन्ने चाहन्छन् र बजार अस्थिरतातर्फ नलम्कोस् भन्ने चाहन्छन् भने उनले मध्यपूर्वमा नचाहिँदो र बाध्यकारी हस्तक्षेप बन्द गर्नुपर्छ र इरानको तेल उत्पादन र निर्यातमा बाधा उत्पन्न गर्न अन्त्य गर्नु पर्छ,’ मन्त्री जाङगानेले बताए। 

विश्वमा इन्धनको मूल्य वृद्धि हुनुमा पेट्रोलियम निर्यात राष्ट्रहरुको संगठन (ओपेक)मा नरहेका ट्रम्पके ठूलो हात रहेको उनले बताए । ‘यद्यपि ओपेकले इन्धनको मूल्य वृद्धि गरेको र बजारमा अस्थिरता उत्पन्न गराएको आरोप ट्रम्पले लगाउने गरेका छन्,’ मन्त्री जाङगानेलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ। 

‘ओपेकका सदस्य राष्ट्रहरुसँग तेल उत्पादनको क्षमता वृद्धि गर्ने सामथ्र्य नै छैन, त्यसैले ट्रम्पले भने जस्तो अवस्था हैन,’ जाङगानेले बताए । संयुक्त राष्ट्रसंघको महासभामा मंगलबार सम्बोधन गर्ने क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले ओपेक राष्ट्रलाई तेलको उत्पादनको क्षमता वृद्धि गर्न र बढ्दो मूल्य रोक्न आह्वान गरेका थिए । उनले विश्व तेल बजारमा इरानले समस्याको बिज रोपेको आरोप लगाउँदै ट्रम्पले तेहरानविरुद्ध थप प्रतिबन्ध लगाउने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए। 

इरानबाट इन्धन निर्यात रोक्न संयुक्त राज्य अमेरिकाले नोभेम्बर ४ देखि लागू हुने गरी थप प्रतिबन्ध लगाउने छ । इरान ओपेकमा तेस्रो ठूलो तेल उत्पादक राष्ट्र हो । इरानबाट विश्व तेल बजारमा हुने आपूर्ति बन्द भएकै कारण विश्वमा तेलको कच्चा पदार्थमा वृद्धि भइरहेको कतिपय विश्लेषकरुले बताउने गरेका छन्।

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाको कार्यकालमा इरानको आणविक कार्यक्रम रोक्ने र त्यसको बदलामा अमेरिकालगायतका पश्चिमा देशले लगाएको तेहरानविरुद्धको प्रतिबन्ध खुला गर्ने विषयमा विश्वका ६ शक्तिशाली राष्ट्र र इरानबीच सम्झौता भएको थियो । तर जब डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भए, सो समयदेखि नै उनले इरानसँगको सम्झौता धोका भएको भन्दै सो सम्झौताबाट यसै वर्षको मे महिनामा हात झिके । उनले इरानसँगको सम्झौताबाट हात मात्रै झिकेनन्, बरु तेहरानविरुद्ध थप नयाँ प्रतिबन्धसमेत घोषणा गरे।

इरानसँग नयाँ प्रकारको सम्झौता हुनु पर्ने पक्षमा अमेरिकी राष्ट्रपति ट्रम्प रहेका छन्, तर इरान भने उनको शर्त मान्न तयार देखिदैन । लामो समयदेखि अमेरिकाको गठबन्धनमा रहेका युरोपका शक्तिशाली राष्ट्रहरु बेलायत, फ्रान्स र जर्मनीले वासिङटनलाई सन् २०१५ को आणविक सम्झौतमा कायम रहिरहन पटकपटक आग्रह गरे पनि ट्रम्प प्रशासनले सो आग्रह मानेको छैन। 

प्रकाशित: ११ आश्विन २०७५ ०३:११ बिहीबार

डोनाल्ड_ट्रम्प तेल इरानका_इन्धनमन्त्री हस्तक्षेप