अन्तर्राष्ट्रिय

किमलाई भेट्न ट्रम्प क्यानाडाबाट सिधै सिङ्गापुर जाने

वासिङटन - अमेरिकी राष्ट्रपति डोल्नाड ट्रम्प क्यानाडाबाट सिधै सिङ्गापुर जने ह्वाइट हाउसले जनाएको छ।

क्यानाडामा हुन गइरहेको जि ७ को सम्मेलनमा भाग लिनको लागि क्यानाडा जान लागेका राष्ट्रपति ट्रम्प सिधै त्यहाँबाट सिङ्गापुर जान लागेका हुन्।

उत्तर कोरियाली नेता किम जोङ उनसँग अर्को हप्ताको मङ्गलबार हुने शिखर वार्ताको लागि उनी क्यानाडाबाट सिधै सिङ्गापुरतर्फ जान लागेका हुन्।

ह्वाइट हाउसका प्रवक्ता सरह सनडेर्सका अनुसार क्यानाडामा हुने जि ७ को सम्मेलनको लागि शनिबार मध्याह्न अगावै राष्ट्रपति ट्रम्प त्यसतर्फ प्रस्थान गर्नेछन्।

ट्रम्प र किमबीच सिङ्गापुरको सान्तोसा द्वीपमा अवस्थित कापेल्ला होटेलमा स्थानीय समयानुसार मङ्गलबार बिहान ९ बजे भेटवार्ता हुने समय तालिका दिइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आजको तीन दिनपछि अर्थात् जुन १२ मा सिंगापुरमा उच्चस्तरीय वार्ता हुन लागेको हो।

सिङ्गपुरमा कति दिनको लागि बस्ने भन्ने बारेमा भने सो विज्ञिप्तमा केही खुलाइएको छैन। राष्ट्रपति ट्रम्पले पनि त्यहाँ बस्ने समय कुनै निश्चित नभएको बिहीबार बिहान सञ्चार माध्यमलाई बताएका छन्।

उक्त वार्ताको तयारी पूरा भएको संयुक्त राज्य अमेरिका र उत्तर कोरियाले जानकारी दिएका छन्। ती देशका अधिकारीहरुले सो वार्ताका लागि आफूहरुले अन्तिम तयार गरेको जनाएका हुन्।

यसैबीच संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको आमन्त्रणमा जापानी प्रधानमन्त्री सिन्जो आबेले बिहीबार मात्र अमेरिकाको भ्रमण गरेकाछन्।

उक्त शिखर वार्ताको ६ दिनमात्र अघि यसरी उत्तर कोरियाको छिमेकी राष्ट्रका रुपमा रहेको जापानका प्रधानमन्त्री आबेले अमेरिकाको भ्रमण गरी राष्ट्रपति ट्रम्पसँग सोही वार्ताकै विषयमा आवश्यक छलफल गरेका थिए। रासस/सिन्ह्वा

 

प्रकाशित: २५ जेष्ठ २०७५ ०८:१९ शुक्रबार

किमलाई भेट्न ट्रम्प क्यानाडाबाट सिधै सिङ्गापुर जाने