अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनमा सरकारी दक्षता विभाग (डीओजीई) को नेतृत्व गरिरहेका अर्बपति एलन मस्कले लगातार ठूला निर्णयहरू लिइरहेका छन्।
उनले अमेरिकी सरकारको खर्च घटाउन हरसम्भव प्रयास गरिरहेका छन्। यसै क्रममा, मस्कले संघीय कर्मचारीहरूलाई कडा चेतावनी जारी गरेका छन्। सामाजिक सञ्जाल एक्समा उनले घोषणा गरे, 'राष्ट्रपति (डोनाल्ड ट्रम्प) को निर्देशनमा, सबै संघीय कर्मचारीले चाँडै नै गत हप्ताको कामको विस्तृत (प्रगति) विवरण बुझाउनुपर्नेछ। जवाफ नदिए राजीनामा मानिनेछ।' तर, समयसीमा र प्रक्रिया स्पष्ट नगरेका कारण कर्मचारीहरूमा अन्योल छाएको छ।
ट्रम्प प्रशासनले मस्कलाई सरकारी खर्च घटाउने जिम्मेवारी दिएको छ। हालै उनले रक्षा विभागलाई आगामी हप्तादेखि कर्मचारी संख्यामा पाँच प्रतिशत कटौती गर्न निर्देशन दिएका छन्। ट्रम्प प्रशासनले दोस्रो कार्यकाल सुरु गरेपछि धेरै कर्मचारीलाई बर्खास्त गर्न थालिसकेको छ। राष्ट्रपति ट्रम्पले मस्कको कामको प्रशंसा गर्दै उनलाई अझ आक्रामक हुन आग्रह गरेका छन्। ट्रम्पले सामाजिक सञ्जालमा लेखे, 'एलनले राम्रो काम गरिरहेका छन्, तर म उनलाई अझ आक्रामक देख्न चाहन्छु। हामीले देश बचाउनु छ र यसलाई पहिलेभन्दा राम्रो बनाउनु छ।'
यसअघि जनवरीमा, ट्रम्प प्रशासनले २० लाखभन्दा बढी कर्मचारीलाई आठ महिनाको तलबसहित स्वैच्छिक राजीनामा दिने प्रस्ताव पठाएको थियो। यो कदमलाई चार संघ र २० डेमोक्र्याट वकिलले अदालतमा चुनौती दिए। फेब्रुअरी ६ मा एक संघीय न्यायाधीशले उक्त आदेशको कार्यान्वयनमा रोक लगाएका छन्। एजेन्सी
प्रकाशित: ११ फाल्गुन २०८१ ०९:१४ आइतबार