अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकता रद्द गर्ने आदेश जारी गरेसँगै तनाव सुरु भएको छ। मंगलबार, २२ राज्यका महान्यायधिवक्ताहरूले राष्ट्रपति ट्रम्पको जन्मसिद्ध नागरिकता अन्त्य गर्ने प्रयासलाई रोक्न मुद्दा दायर गरेका छन्। यो नीति अनुसार, जो कोही अमेरिकामा जन्मिएको व्यक्ति, उनका अभिभावकको आप्रवासी स्थिति जे भए पनि, नागरिक हुन्छन्।
तर, सोमबार राति जारी गरिएको ट्रम्पको सात सय शब्दको कार्यकारी आदेशले उनको चुनावी अभियानमा उठाएको मुद्दालाई पूरा गरेको छ। तर यसले सफलता पाउने कुरा निश्चित छैन, किनभने यसले राष्ट्रपतिको आप्रवास नीति र नागरिक अधिकारको लामो कानूनी लडाई निम्त्याउन सक्छ।
डेमोक्र्याट महान्यायधिवक्ताहरू र आप्रवासी अधिकार समूहहरूले जन्मसिद्ध नागरिकता स्थापित कानूनी विषय भएको र राष्ट्रपतिहरूसँग धेरै अधिकार भए पनि उनी राजा नभएको तर्क गरेका छन्। न्यू जर्सीका महान्यायधिवक्ता म्याट प्लाटकिनले भने, ‘राष्ट्रपतिकाे कलमले गर्ने एक हस्ताक्षरले १४औं संशोधनलाई समाप्त गर्न सक्दैन, यो निश्चित छ।’ व्हाइट हाउसले राज्यहरूसँग कानूनी लडाइँको तयारी गरेको र मुद्दालाई "बामपन्थीहरूको प्रतिरोधको विस्तार" भनेको छ।
व्हाइट हाउसका उप–प्रेस सचिव ह्यारिसन फिल्ड्सले भने, ‘बामपन्थी विचारधारा भएकाहरूले यसमा तीन विकल्पमा काम गर्न सक्छन्, बहिष्कार गर्न सक्छन्, जनताको अधिकांश चाहनालाई अस्वीकार गर्न सक्छन्, वा राष्ट्रपति ट्रम्पसँग काम गर्न सक्छन्।’ कनेक्टिकटका महान्यायधिवक्ता विलियम टङले यो मुद्दा व्यक्तिगत भएको भन्दै भने, ‘१४औं संशोधनले जे भन्छ, त्यसैको अर्थ लाग्छ। अमेरिकी माटोमा जन्मेपछि तपाईं अमेरिकी नागरिक। सक्कियो।’
राष्ट्रपति ट्रम्पको जन्मसिद्ध नागरिकता हटाउने आदेशलाई रोक्न क्यालिफोर्निया, कोलोराडो, कनेक्टिकट, डेलावेयर, हवाई, इलिनोइस, मेन, मेरिल्याण्ड, म्यासाचुसेट्स, मिचिगन, मिनेसोटा, नेभाडा, न्यू जर्सी, न्यू मेक्सिको, न्यू योर्क, नर्थ क्यारोलिना, ओरेगन, रोड आइल्याण्ड, भर्मन्ट, वाशिङ्टन, विस्कन्सिन र एरिजोना समावेश छन्। यसका अतिरिक्त, डिस्ट्रिक्ट अफ कोलम्बिया र सान फ्रान्सिस्को शहर पनि मुद्दामा सामेल भएका छन्। एपी
प्रकाशित: ९ माघ २०८१ १०:३५ बुधबार