अन्तर्राष्ट्रिय

अमेरिकामा सुतिरहेकी महिलाको आगो लगाएर हत्या, जल्दै गरेको हेरेर बसे आरोपी

तस्विरः न्युयोर्क प्रहरी आयुक्त जेसिका टिश र आरोपी सेबास्टियन जापेटा

अमेरिकाको न्युयोर्कस्थित सबवे ट्रेनमा महिलामाथि आगो लगाएर हत्या गरेको घटनामा एकजना पक्राउ परेका छन्। संदिग्धको नाम सेबास्टियन जापेटा हो। उनी ग्वाटेमालाबाट अवैध आप्रवासी भएको बताइएको छ।

स्थानीय समयानुसार आइतबार बिहान साढे सात बजेको समयमा महिलामाथि आगो लगाउँदा उनको मृत्यु भएको थियो। न्युयोर्क प्रहरी आयुक्त जेसिका टिशले संदिग्धले महिलाको लुगामा लाइटरबाट आगो सल्काएको जानकारी दिएकी छन्।  

मेट्रो स्टेशनमा अचानक धुवाँ र गन्ध आएपछि प्रहरी घटनास्थल पुगेको थियो। प्रहरी पुग्दा पीडित महिला जलिरहेकी थिइन्। त्यसपछि आकस्मिक सेवाका अधिकारीहरूले मृत घोषणा गरेका हुन्।  

प्रहरीको प्रारम्भिक बयानमा महिला सुतिरहेको समयमा यो घटना भएको हो। संदिग्ध र महिलाबीच घटनाअघि कुनै कुराकानी समेत नभएको पाइएको छ। सीएनएनको रिपोर्ट अनुसार, संदिग्धले महिलाले ओढेको कम्बलमा पहिले आगो लगाए, जसकारण चाँडो फैलियो। आगो लगाएपछि जापेटा मेट्रोबाट ओर्लिएर स्टेशनमा बसेर महिला जलिरहेको हेरिरहेका थिए।  

प्रहरीले बडी क्यामेराबाट लिइएको फुटेज सार्वजनिक गर्दै दश हजार डलरको इनामसहित संदिग्धलाई पक्राउ गर्न सहयोग मागेको थियो। घटना भएको ८ घण्टापछि प्रहरीले उनलाई अर्को मेट्रोबाट पक्राउ गरेको हो। तीन विद्यार्थीको सहयोगमा हत्या आरोपमा ती व्यक्तिलाई पक्राउ गरिएको हो।  

प्रहरी आयुक्त टिशले यस घटनालाई ‘एक व्यक्तिले अर्को मानवविरुद्ध गर्न सक्ने सबैभन्दा घिनलाग्दो अपराध मध्ये एक’ भनेर वर्णन गरेकी छिन्। प्रहरीले पीडित महिलाको पहिचान र आक्रमणको कारण खोजिरहेको जानकारी दिएको छ। उनी ग्वाटेमाला प्रवासी भएको जनाइएको छ। 

प्रकाशित: ८ पुस २०८१ ११:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App