भारतको उत्तर प्रदेशमा भएको डरलाग्दो दुर्घटनामा तीन जनाको ज्यान गएको छ। विवाह समारोहमा सहभागी हुन आएका तीन युवकको आइतबार बिहान दुर्घटनामा मृत्यु भएको हो।
उनीहरूको कार रामगंगाको आधा बनेको पुलबाट करिब २० फिट तल खसेको थियो। उनीहरू गुरुग्रामबाट बरेलीको फरीदपुरमा विवाह समारोहमा सहभागी हुन आएका थिए।
मृतकहरू मैनपुरी बिछवानका ३८ वर्षीय अमित सिंह, फर्रुखाबादका ३५ वर्षीय अजित कुमार र ३० वर्षीय नितिन रहेका छन्। अमित र अजित एक सुरक्षा एजेन्सीमा काम गर्थे भने नितिन ओलाको लागि कार चलाउँथे।
भारतीय सञ्चारमाध्यमका अनुसार तीनै जना गुगल म्यापमा रुट हेरेर यात्रा गरिरहेका थिए। त्यसपछि कार आधा बनेको पुलमा पुगेर दुर्घटना भएको हो। पुलको अधुरो निर्माण र पूर्व चेतावनी जारी नहुँदा दुर्घटना भएको आशंका गरिएको छ।
दुर्घटनापछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। तीनै जनाको शवलाई पोष्टमार्टमका लागि पठाइएको छ। पुल निर्माणको काम एक वर्षभन्दा लामो समयदेखि सकिएको छैन।
प्रकाशित: १० मंसिर २०८१ १३:५५ सोमबार