अन्तर्राष्ट्रिय

जेलबाटै इमरानको आन्दोलन : राजधानी इस्लामावाद अस्तव्यस्त, विद्यालय बन्द

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान, जो हाल जेलमा छन्। उनको आह्वानमा पाकिस्तान तहरिक ए इन्साफ (पीटीआई)का समर्थकहरूले इस्लामावादमा विरोध प्रदर्शन गरिरहेका छन्। एक वर्षभन्दा लामो समयदेखि जेलमा बन्द खानले गत फेव्रअरीमा भएको निर्वाचनमा भएको जनादेशको अपमान, आफूसहितको अन्यायपूर्ण गिरफ्तारी र तानाशाही शासनको विरोधमा राष्ट्रव्यापी प्रदर्शनको आह्वान गरेका थिए। विरोधका कारण पञ्जाब र राजधानी इस्लामावादमा तनाव बढेको छ।  

खान समर्थकहरूलाई राजधानी इस्लामावाद पुग्नबाट रोक्न सरकारले लकडाउन गरेको छ। पीटीआईका कार्यकर्ताहरूले राजधानीमा चक्काजाम गर्न थालेका छन्। इस्लामावाद उच्च अदालतले पीटीआईको विरोध प्रदर्शनलाई गैरकानूनी ठहर गर्दै रोक लगाउन आदेश दिएको छ। अदालतले सरकारलाई कानून र व्यवस्था कायम राख्न निर्देशन दिएको छ।  

विरोधको समयमा इस्लामावादमा धारा १४४ लागू गरिएको छ, र प्रहरीले कानून उल्लंघन गर्नेविरुद्ध कडाइका साथ कारवाही गर्ने चेतावनी दिएको छ। सरकारले सुरक्षा खतराको कारण राजधानीमा मोबाइल र इन्टरनेट सेवा पनि बन्द गरेको छ। पीटीआईका समर्थकहरू राजधानी इस्लामावादतर्फ यात्रा गर्दैछन्। खान समर्थकले पाकिस्तानमा मात्रै नभएर विश्वभर नै विरोध प्रदर्शन गरिरहेका छन्।  

इमरान खानकी पत्नी बुशरा बीबी र खैबर पख्तुनख्वा प्रदेशका मुख्यमन्त्री अली अमीन गण्डापुर पनि विरोधमा सहभागी भएका छन्। राजधानीका प्रमुख मार्गहरू बन्द गरिएका छन्। प्रदर्शनकारीलाई नियन्त्रणमा लिन सरकारले रेन्जर्स तैनाथ गरेको छ। प्रदर्शनका कारण इस्लामावादका शैक्षिक संस्थाहरू सोमबार (आज) बन्द छन्। विरोध प्रदर्शनको क्रममा पीटीआई कार्यकर्ता र प्रहरीबीच विभिन्न स्थानमा झडपहरू भएका छन्। पछिल्लो जानकारी अनुसार लगभग ४०० कार्यकर्ताहरूलाई पक्राउ गरिएको छ।

प्रकाशित: १० मंसिर २०८१ ०७:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App