अन्तर्राष्ट्रिय

विस्फोटमा परि सात बालबालिकाको मृत्यु

दक्षिणी सिरियामा विस्फोट हुँदा ७ जना बालबालिकाको मृत्यु भएको छ। दक्षिणी सिरियाको दारा प्रान्तमा शनिवार एउटा ‘विस्फोटक उपकरण’ विस्फोट हुँदा सात बालबालिकाको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

प्रहरी स्रोतलाई उद्धृत गर्दै राज्य समाचार एजेन्सी सानाले भनेको छ, ‘आतङ्कवादीले सानमायन सहरमा राखेको एउटा विस्फोटक उपकरण विस्फोट हुँदा सात बालबालिकाको मृत्यु भएको छ र एक महिलासहित दुई जना घाइते भएका छन्।’

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स वार मनिटरका अनुसार भने विस्फोटमा फरक फरक उमेरका ७ बालबालिका मारिएको र एक जना घाइते भएका छन्। बेलायतस्थित मनिटरले उक्त क्षेत्रमा अज्ञात व्यक्तिलाई निशाना बनाउन मिलिसियाहरूले उक्त उपकरण राखेको आरोप लगाएको छ।

जिहादी र विदेशी सेनालाई समावेश गरेको घातक द्वन्द्वबाट बढेको सिरियाको युद्धबाट पाँच लाख सात हजारभन्दा बढी मानिस मारिएका छन्, लाखौँ विस्थापित भएका छन् र मुलुकको पूर्वाधार तथा उद्योग क्षेत्र ध्वस्त भएको छ। रासस

प्रकाशित: २५ चैत्र २०८० ०६:५७ आइतबार

दक्षिणी सिरिया विस्फोट ७ जना बालबालिकाको मृत्यु