अन्तर्राष्ट्रिय

पाकिस्तान निर्वाचनः ७ सिटको नतिजा आउन बाँकी, २ बजे प्रदर्शन गर्दै खानको पार्टी

पाकिस्तानमा निर्वाचन सम्पन्न भएदेखि नै कसको नेतृत्त्वमा सरकार गठन हुने भन्ने आँकलन भइरहँदा पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी आज प्रदर्शन गर्न लागेको छ।

बिहीवार चुनाव सम्पन्न भएपनि पाकिस्तान चुनाव आयोगले हालसम्म पनि ७ सिटको नतिजा सार्वजनिक नगरेको भन्दै खान नेतत्त्वको पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) ले आफूले जित हासिल गरेको भन्दै देशका विभिन्न भागमा प्रदर्शन गर्न लागेको बीबीसीले जनाएको छ।

चुनावमा पार्टीले जनादेशको आधारमा हासिल गरेको जितमाथि धाँधलीको प्रयास भइरहेको भन्दै आफ्ना नेता कार्यकर्तालाई लाहौर, फैसलाबाद, रावलपिन्डी, मुल्तान, बहावलपुर, डेरा गाजी खान र गुजरांवालामा प्रदर्शन गर्नका लागि आग्रह गरेको छ।

हालसम्म सार्वजनिक नतिजा अनुसार पीटीआई समर्थित निर्दलीय उम्मेदवारहरूले सबैभन्दा बढी स्थानमा जित हात पारेका छन्।

पीटीआईले स्थानीय समय अनुसार आज दिउँसो २ बजे लाहौरको लिबर्टी चोकमा शान्तिपूर्ण प्रदर्शन गर्ने तयारी गरेको छ।

यसैबीच, पाकिस्तानका अर्का पूर्व प्रधानमन्त्री नवाज शरिफ नेतृत्त्वको पाकिस्तान मुस्लिम लीग–एनले सरकार आफूले गठन गर्ने दावी गर्दै आन्तरिक तयारी सुरु गरेको छ।

पार्टीकी प्रवक्ता मरियम औरङ्गजेबका अनुसार सरकार गठनका लागि पाकिस्तान पीपुल्स पार्टीसँग पारम्भिक कुराकानी गरेको तर, अन्तिम निर्णय भने भइसकेको छैन।

प्रकाशित: २८ माघ २०८० ११:५० आइतबार

पाकिस्तान निर्वाचन सरकार गठन पाकिस्तान चुनाव आयोग नतिजा सार्वजनिक