अन्तर्राष्ट्रिय

अर्मेनीयामा नयाँ राष्ट्रपति चयन

येरेभान – अर्मेनीयाको संसदले शुक्रबार अर्मेन सार्किसीयनलाई देशको चौथो राष्ट्रपतिका रुपमा चयन गरेको छ। 

देशको समाचार संस्था अर्मेनप्रेसका अनुसार संसदका ९० जना सांसदहरूले सार्किसीयनलाई मतदान गरेका थिए भने उनको विपक्षमा १० मत परेको थियो। एउटा मत भने बदर भएको अधिकारीले जनाएका छन्। 

राष्ट्रपतिमा निर्वाचित भएको घोषणा भएपछि सार्किसीयनले जनसेवाको आफ्नो लामो र बृहत अनुभवका आधारमा आगामी दिनमा काम गर्ने अठोट व्यक्त गरे। 

उनी आगामी सात बर्षका लागि राष्ट्रपतिमा निर्वाचित भएका हुन भने राष्ट्रपतिका रुपमा उनको कार्यकाल आगामी अप्रिल ९ तारिखदेखि सुरु हुनेछ। 

क्याम्ब्रीज विश्वविद्यालय र ‘इन्स्टिच्युड अफ भ्याथमेटिक्स अफ लण्डन यूनिभर्सिटी’का पूर्व प्राध्यापक अर्मेन सार्किसियनलाई सत्तारुढ दल रिपब्लिक पार्टी अफ अर्मेनीया (आरपीए)ले जनवरीमा मनोनयन गरेको थियो । 

सार्किसीयन पुर्व प्रधानमन्त्री समेत हुन। उनले १९९६ को नोभेम्बर देखि १९९७ को मार्च सम्म निकै छोटो समय सम्म प्रधानमन्त्रीको जिम्मेबारी सम्हालेका थिए।

प्रकाशित: १८ फाल्गुन २०७४ १४:२७ शुक्रबार

अर्मेनीयामा राष्ट्रपति चयन