अन्तर्राष्ट्रिय

दक्षिण कोरियाली राष्ट्रपतिले भेटे किमकी बहिनी

सोल – दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी कान्छी बहिनी किम यो जोंगसँग भेटवार्ता गरेका छन्।

दक्षिण कोरियाको पूर्वी क्षेत्रमा पर्ने प्योङचाङमा रहेको मुख्य रंगलाशामा सुरु भएको २३औं शीतकालीन ओलम्पिक खेलकुदका क्रममा इनले जोंगलाई रंगशालामै भेटेको र हात मिलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ।

उत्तर कोरियाको सत्तारुढ दल वर्कर्स पार्टीको केन्द्रीय समितिकी प्रथम उप निर्देशक किम यो जोंग निजी विमानमा शुक्रबार विहानै दक्षिण कोरिया आइपुगेकी थिइन्। प्रतिनिधिमण्डल बोकेको विमान दक्षिण कोरियाको पश्चिमी बन्दरगाह सहर इन्चोनको एक अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।

उनी उत्तर कोरियाली उच्चस्तरीय टोलीको सदस्यका रूपमा दक्षिण कोरिया पुगेको योनहाप समाचार संस्थाले जनाएको छ।
उत्तर कोरियाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व भने माथिल्लो सदनका अध्यक्ष किम योङ नामले गरेका छन्। उनी विगत निकै लामो समयपछि दक्षिणको भ्रमणगर्ने उत्तर कोरियाली एक उच्च सरकारी अधिकारी हुन।

प्रतिनिधि मण्डलमा राष्ट्रिय खेलकुद निर्देशक समितिका अध्यक्ष चोए हवाई र शान्तिपूर्ण एकता समितिका अध्यक्ष रि सन ग्वोन पनि वरिष्ठ सदस्यको रुपमा रहेका छन्।

प्रतिनिधि मण्डलमा १८ जना सहयोगी कर्मचारी संलग्न रहेको जानकारी दक्षिण कोरियाली एकता मन्त्रालयले दिएको छ । उक्त प्रतिनिधिमण्डल आइतबारसम्म दक्षिण कोरिया रहने छ।

प्रकाशित: २७ माघ २०७४ १०:०१ शनिबार

दक्षिण कोरियाली राष्ट्रपतिले भेटे किमकी बहिनी