अन्तर्राष्ट्रिय

मयूरलाई विमानमा यात्रा गर्न नदिएपछि...

न्युयोर्क – अमेरिकाको न्यू जर्सी राज्यमा एक एयरलाइन्सले मयूरलाई विमानमा यात्रा गर्न रोक लगाएको छ।

बीबीसीका अनुसार विमानकी एक महिला यात्रुले आफूसँगै मयूरलाई पनि हवाई यात्रामा लैजान खोजेकी थिइन् तर विमान कम्पनी युनाइटेड एयरलाइन्सले मयूरलाई बोक्न अस्वीकार गर्यो। ती महिलाले आफूसँगै हवाई यात्राका लागि मयूरको पनि टिकट लिन खोजेकी थिइन्।

युनाइटेड एयरलाइन्सले न्यू जर्सीको नेवार्क विमानस्थलबाट उडान भर्ने आफ्नो जहाजमा मयूर बोक्न अस्वीकार गरेको हो। आफ्नो तौल र आकारका कारण मयूरले जहाजमा सन्तुलन कायम राख्न नसक्ने भन्दै एयरलाइन्सले बोक्न नमानेको बताइएको छ।

ती महिला आफ्नो लगेज र मयूरसहित यात्रा गर्नका लागि एयरपोर्ट पुगेकी थिइन्। उनी आफ्नो मयूरका साथमा लस एन्जल्स जान खोजेकी थिइन्। तर उनको हवाई यात्रा गर्ने प्रयास सफल भएन। एयरलाइन्सले मयूर नबोक्ने अडान लिएपछि ६ घण्टा लामो पर्खाइपछि यात्रु महिला र मयूरले सडकमा गाडीबाट यात्रा गर्नुपर्यो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विमानमा जनावर नबोक्ने भन्ने हुँदैन्। कैयौपटक एयरलाइन्सहरुले भावनात्मक र मानसिक समस्याका कारण यात्रुको हवाई यात्राका क्रममा एनिमल थेरापीको अनुमति दिने गर्छन्।

प्रकाशित: १८ माघ २०७४ ०९:४० बिहीबार

मयूरलाई विमानमा यात्रा गर्न नदिएपछि...