अन्तर्राष्ट्रिय

‘ चीन रुसजत्तिकै चुनौती’

वासिङ्टन – अमेरिकाका लागि चीन पनि रुस जत्तिकै चुनौती भएको अमेरिकी गुप्तचर निकाय (सिआइए)का निर्देशक माइक पोम्पेओले बताएका छन् ।

पश्चिमा देशमा प्रभाव पार्न चीनले गरेको गोप्य प्रयास रुसी संस्करणकै रूप भएको सिआइए प्रमुखले आरोप लगाएका छन् । यस्तो कुरामा चीनले रुसको भन्दा ठूलो पाइला चालिरहेको निर्देशक पोम्पेओले बिबिसीसँग बताएका छन् ।

चीनले अमेरिकी व्यापारिक सूचना चोर्न खोजेको र विद्यालय तथा अस्पतालमा घुस्ने काम गरेको उदाहरण दिँदै निर्देशक पोम्पेओले बताए । उनले चीनले यस्तो कार्य युरोप र बेलायतमा पनि बिस्तार गरिरहेको आरोपसमेत लगाएका छन् । सिआइएका प्रमुख बन्नुभन्दा अघि पोम्पेओ रिपब्लिकन पार्टीको तर्फबाट कट्टर सांसद थिए।

उनले यसै वर्षको अन्त्यतिर हुने अमेरिकाको मध्यावधी निर्वाचनमा रुसले हस्तक्षेपको प्रयत्न गर्न सक्ने आशंकासमेत व्यक्त गरेका छन् ।‘मैलै रुसको गतिविधि उल्लेख्य रुपमा कम भएको देखेको छैन । मलाई लाग्छ उनीहरूले आफ्नो प्रयासलाई निरन्तरता दिनेछन् । तर म विश्वस्त छु हामीले स्वतन्त्र र निष्पक्ष चुनाव गराउनेछौं र उनीहरूले हाम्रो चुनावलाई खासै प्रभावित पार्न सक्ने छैनन्,’ पोम्पेओले बताए ।

लाङ्लीस्थित सिआइएको मुख्यालयमा बिबिसीसँग कुरा गर्दै माइक पोम्पेओले उनको संगठनले रुसका त्यस्ता प्रयत्नहरूलाई रोक्ने प्रयास गरिरहेको बताए । अधिकांश बिहान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जानकारी गराउने सिआइए निर्देशक पोम्पेओले राष्ट्रपतिले ठिक ढंगले काम नगरेको भन्ने आरोपलाई वाहियात भन्दै खण्डनसमेत गरेका छन् ।

अर्को फरक प्रसंगमा उनले अबका केही महिनाभित्र उत्तर कोरियाले अमेरिकासम्म पुग्ने परमाणविक क्षेप्यास्त्र विकास गर्न सक्ने पनि बताएका छन् ।प्रतिआतंकवादका विषयमा रुससँग साझेदारी भएपनि रुस मुख्य रूपमा अहिले पनि अमेरिकाको प्रतिद्वन्द्वी भएको उनले बताएका छन् । उनले युरोपका धेरै देशलाई नोक्सान हुने गरी अहिले पनि रुसले गुप्तचर गतिविधि गरिरहेको र त्यो नघटेको आरोप लगाएका छन् ।

 

प्रकाशित: १७ माघ २०७४ ०५:१२ बुधबार

चीन रुसजत्तिकै चुनौती