अन्तर्राष्ट्रिय

पाकिस्तानमा हालसम्मकै उच्च विन्दुमा पुग्यो इन्धनको मूल्य

पाकिस्तानमा ऐतिहासिक रुपले इन्धनको मूल्य वृद्धि भएको छ।  

पाकिस्तान सरकारले पेट्रोल र डिजलको मूल्य वृद्धि गरेसँगै इन्धनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

पाकिस्तानको अर्थ मन्त्रालयले पेट्रोलको मूल्य १४.९ रुपैयाँ प्रतिलिटर र डिजलको मूल्य १८.४४ रुपैयाँ प्रतिलिटरका दरले वृद्धि गरेको हो। योसँगै पेट्रोलको नयाँ मूल्य ३०५.३६ रुपैयाँ र डिजलको मूल्य ३११.८४ पुगेको छ।  

पाकिस्तानमा सरकार फेरबदल भएसँगै त्यहाँको अर्थतन्त्र नराम्रोसँग प्रभावित बनेको छ। सरकारले विभिन्न वस्तुहरूको आयातमा रोक लगाइसकेको छ भने बढ्दो महँगीका कारण सर्वसाधारणलाई जीवनयापन गर्न निकै कठिन भइरहेको छ।

पाकिस्तानी रुपैयाँको अवस्था पनि अन्तर्राष्ट्रिय बजारमा कमजोर हुँदै गएको छ। अमेरिकी डलरको तुलनामा पाकिस्तानी रुपैयाँमा बिहीवार १.०९ रुपैयाँले कमी आएको छ।  

अन्तर्राष्ट्रिय मुद्रा कोषले पाकिस्तानको बिग्रदो अर्थतन्त्रलाई सुधार्न ३ अर्ब डलरको बेलआउट प्याकेज उपलब्ध गराउने भनेको छ। तर, त्यसले पाकिस्तानको अर्थतन्त्रमा सुधार हुने सम्भावना भने न्यून रहेको छ।

प्रकाशित: १५ भाद्र २०८० ०७:२९ शुक्रबार

पाकिस्तान इन्धनको मूल्य वृद्धि