अन्तर्राष्ट्रिय

ब्राजिलस्थित ग्रीक राजदूतलाई आफ्नै श्रीमतीको प्रेमीद्वारा हत्या

रियो दि जेनेरियो (ब्राजिल)-ब्राजिलका लागि ग्रीसका राजदूतको हत्याका पछाडि राजदूतकै ब्राजिलियाली श्रीमतीको प्रहरी साथी (प्रेमी)को संलग्नता रहेको ब्राजिलियाली प्रहरी अधिकारीले बताएका छन् ।

अभियुक्तले आफू राजदूतको हत्यामा संलग्न रहेको भनी अपराध स्वीकार गरेका छन् । अन्ठाउन्न वर्षीय ग्रीक राजदूत काइरियाकोस अमिरिदिसको सोमबार ब्राजिलियाली प्रहरी अधिकृत सर्जिओ गोमेज मोरेइराले हत्या गरेको अनुसन्धानपछि पुष्टि भएको रियोका प्रहरी प्रमुख इमारिस्टो पोन्टिसले प्रेस सम्मेलन गरी जानकारी गराए।

अमेरिदिसको मृत शरीर जलेको अवस्थामा बिहीबार उनकै भाडामा रहेको एक कारभित्र भेटिएको थियो । राजदूत अमिरिदिसकी पत्नी फ्राँस्वाँज डे सोउजा अलिभिएराले आफ्ना श्रीमान् बेपत्ता भएको खबर प्रहरीलाई उनी  हराएको एक दिनपछि मात्र जानकारी गराएका थिए।

४० वर्षीय राजदूत अमिरिदिसकी पत्नी अलिभिएरा र उनका २९ वर्षीय ब्राजिलियन प्रहरी साथी मोरेइरा दुवैजनाले आफूहरु प्रेम सम्बन्धमा रहेको कुरा स्वीकार गरेकी छन्।

रियो प्रहरीका अनुसार अलिभिएराले आफू उक्त हत्याकाण्डमा सहभागी भने नभएको बयान दिएकी छन्। यद्यपि अपराध भएकोबारे आफुले थाहा पाएकोे उनको भनाइ छ ।

यसै वर्ष ब्राजिलको राजदूतमा नियुक्त भएका अमिरिदिस आफ्नी पत्नीसहित पारिवारिक बिदामा उत्तरी रियो दि जेनेरियोमा गत डिसेम्बर २१ गतेदेखि जानुभएको र जनवरी ७ मा हवाई मार्ग हुँदै ब्राजिलको राजधानी ब्राजिलिया फर्किने कार्यक्रम रहेको थियो ।

राजदूतकी पत्नी अलिभिएराका अनुसार आफ्ना श्रीमान्ले रियोस्थित उनीहरु बसिरहेको कोठाबाट एउटा भाडाको कार लिएर बाहिर निस्केको तर पछि नफर्केपछि आफूले राजदूत हराएको सम्बन्धमा ब्राजिलियाली अधिकारीलाई जानकारी गराएकी थिइन्।

यद्यपि अलिभियराको भनाइमा शङ्का गर्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । यसैबीच ग्रीसले घटनाबारे अनुसन्धान अघि बढाउन ग्रीक प्रहरीसहितको एक अनुसन्धान टोली ब्राजिलतर्फ पठाएको छ । राजदूत अमिरिदिस यसअघि सन् २००१ देखि सन् २००४ सम्म महावाणिज्य दूत भएर जेनेरियो गएका बेला अलिभिएरासँग भेट भएको र पछि बिहे भएको थियो ।  राजदूत दम्पतीका १० वर्षीय एउटी छोरी छन्। रासस/एएफपी

प्रकाशित: १७ पुस २०७३ ०४:४२ आइतबार

ब्राजिलस्थित ग्रीक राजदूतलाई आफ्नै श्रीमतीको प्रेमीद्वारा हत्या