स्मार्टफोनले हाम्रो संसार र जिन्दगी दुवैलाई परिवर्तन गरिदिएको छ । एउटा सानो फोनमा साराका सारा संसार अटेको छ । हरेक व्यक्ति घोसमुन्टे लगाएर फोनमै मग्न हुने समय आएको छ । स्मार्टफोनसँगै नयाँ नयाँ शब्द र भाषा जन्मिएका छन् । ती शब्द र भाषाबिना हिजोआज हामी हाम्रो अस्तित्व नै अधुरो मान्न थालिसकेका छौँ ।
‘घोसमुन्टे समुदाय’को सदस्य हिजोआज तपाईं÷हामी जोसुकै हुन थालेका छाँै । जापानमा यस्तो समुदायलाई ‘थम्ब ट्राइब’ भन्न थालिएको छ । जापानमा पहिलो पटक यो शब्द प्रयोग गरिएको थियो । त्यहाँका बालबालिकाहरू निकै तीव्र गतिमा मोबाइलमा म्यासेज गर्न पोख्त भएको देखेकाले तिनको नाउँ ‘थम्ब ट्राइब’ राखिएको थियो र यो शब्द प्रचलितसमेत भयो ।
स्मार्टफोनको संसारमा प्रयोग हुने भाषासँगै एउटा बहस पनि चलिरहेको छ । राम्रो र नराम्रो व्यवहारको बहस । कुनै व्यक्तिले अर्को व्यक्तिलाई उपेक्षा गर्नुप¥यो भने उसलाई नहेरी फोनमा घोसेमुन्टो लगाए पुग्छ । यसपछि अगाडिको मान्छेले बुझिहाल्छ, उसलाई गफ गर्न मन छैन । जसले उपेक्षा गर्छ, त्यसलाई ‘फबिङ’ शब्द प्रयोग हुने गरेको छ । अर्थात् जानीबुझी अगाडिको मानिसलाई उपेक्षा गर्नु ‘फबिङ’ हो । यो राम्रो व्यवहार पक्कै पनि होइन । त्यसैले यस्तो व्यवहारविरुद्ध चर्को स्वरमा आवाज उठाउन थालिएको छ ।
यस्तै स्मार्टफोन प्रयोग गर्नेहरूप्रति लक्षित अर्को शब्द हो ‘स्मोम्बी’ । संसारमा के के घटिसक्यो, त्यसबारे बिल्कुलै थाहा नपाई स्मार्टफोनमै लागिपर्नेहरूका लागि यो शब्द प्रयोग गरिन्छ । खासमा स्मोम्बी ‘स्मार्टफोन जोम्बी’को छोटकरी रुप हो ।
पोकेमोन गो नामक स्मार्टफोन गेमको लोकप्रियतासँगै युवा पिँढीलाई यसको लत पागलपनको हदसम्म पुगेको छ । यो पागलपनलाई रोक्न जर्मनीमा एक विशेष किसिमको ट्राफिक लाइट नै लगाइएको छ ।
त्यसो त कुनै नयाँ प्रविधि आयो र त्यो प्रविधिलाई नयाँ पुस्ताले हदसम्मको प्रेम गर्न थाल्यो भने पुराना र बूढाहरूलाई यो बिल्कुलै मन पर्दैन । १९ औँ शताब्दीताका अमेरिकामा टेलिफोन आएपछि यस्तै किसिमको अनेक नाम राखिन्थ्यो । अहिले पनि घोसेमुन्टो लगाएर फोनमा झुन्डिने काम धेरैका लागि अचम्मको क्रियाकलाप भए पनि केही समयपछि यो जीवनको अंग बन्न पुग्छ र सबैलाई यो क्रियाकलाप सामान्य लाग्न थाल्छ । त्यसपछि यसविरुद्ध कुरा काट्न बन्द हुन थाल्छ ।
हुन त केही विशेषज्ञहरूलाई यस किसिमको गतिविधि र क्रियाकलाप देखेर चिन्तित छन् । धेरैले वाहियातका कुरा गर्न नयाँ नयाँ एप प्रयोग गर्ने र समय खेर फाल्ने काम भइरहेको भन्दै चिन्ता गरिरहेका छन् । जुन सुकै चिजको पागलपनको हदसम्मको प्रेमलाई ‘मेनिया’ भनिन्छ । हिजोआजका युवा पिँढीलाई ‘मोबाइल मेनिया’ (मोमे) भएको छ ।
१८९७ मा सिकागोको ‘वेस्टर्न इलेक्ट्रिसियन’ जर्नलमा एउटा लेख छापिएको थियो । लेखमा फोनमा कति उन्मत्त भएर मानिसहरू गफ गरेका होलान् भनेर चिन्ता गरिएको थियो । जीवनमा गर्नुपर्ने कैयौँ काम छ तर ती सबै छाडेर मान्छे फोनमा झुण्डिएको छ, न दिनको चिन्ता छ न त रातकै । त्यो बेला फोनका बारेमा यसरी चिन्ता गरिन्थ्यो भने यतिबेला फेसबुकको जमाना आइसक्यो । घण्टौँ त्यसैमा रमाउनेलाई हेर्दै अहिले अभिभावकले गरिरहेको चिन्ता पनि उस जमानामा फोनमा झुण्डिने पुस्तालाई नै हेरेर गरिएको चिन्ता थियो । तर प्रविधि पुरानो भएसँगै फोनमा झुण्डिनुलाई चिन्ता मान्न छाडिएको छ । त्यसको साटो स्मार्टफोनमा घोसमुन्टे हुनुलाई चिन्ताको विषय मान्न थालिएको छ ।
चिन्ता उही हुन्छ तर जमानाअनुसार जन्मिएको नयाँ भाँडोले चिन्ताको उछाल बढाइरहन्छ । प्रविधि त बद्लिरहन्छ । भविष्यमा पनि बद्लिनेछ । भविष्यमा यस्तो लेन्स बन्ला, जसका लागि स्मार्टफोन हेर्न टाउको निहु¥याउनुपर्ने आवश्यकता नहोला । अनि, छेउको मानिसले पनि मसँग बच्नका लागि टाउको निहु¥याइरहेको छ भनेर चित्त पनि नदुखाउला !
बिबिसी फ्युचरमा टम च्याटफिल्डको आलेख
प्रकाशित: ४ पुस २०७३ ०४:५६ सोमबार