अन्तर्राष्ट्रिय

पर्खालको पैसा मेक्सिकोको भाग : ट्रम्प

अमेरिका- अमेरिकी राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पले मेस्किकोको सीमा क्षेत्रमा लगाउने पर्खाल मेक्सिकाको पैसाले बनाउनु पर्ने जिकिर दोहोर्‍याएका छन्। अमेरिकाको एरिजोनामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले मेक्सिको र अमेरिकाको बीचमा पर्खाल लगाउने र अवैध रुपमा अमेरिका बसेका आप्रवासीलाई फर्काउने अडान दोहोर्‍याएका हुन्।

चुनावी प्रचारप्रसारका क्रममा उनले मेक्सिकोले नै पर्खाल निर्माणको खर्च गर्ने विषय बारम्बार दोहोर्याएका थिए। मेक्सिकोका राष्ट्रपतिलाई भेटेको केही समयपछि ट्रम्पको यस्तो धारणा आएको थियो। जसलाई मेक्सिकोका राष्ट्रपतिले खण्डन गरेका थिए। ट्रम्पले आफ्नो भनाई राखेसँगै नियटोले पर्खाल निर्माणका लागि आफ्नो मुलुकले खर्च नगर्ने विषयमा स्पष्ट पारेको भन्दै ट्वीट गरेका छन्।

ट्रम्पले घण्टौं लामो बैठकले पर्खाल निर्माणका लागि कसले खर्च गर्छ भन्ने प्रश्नबारे भने छलफल नभएको बताए। उनले भने, 'हामीले पर्खाल निर्माणबारे छलफल गर्यौं। हामीले पर्खालका लागि खर्च कसले गर्छ भन्ने विषयमा छलफल गरेनौं। त्यो हामी पछि गर्छौं। यो एकदमै प्रारम्भिक भेट हो। मलाई लाग्छ यो भेट उत्कृष्ट भयो।'

मेक्सिकोलाई सीमाक्षेत्रमा पर्खाल लगाउन बाध्य पार्ने विषय ट्रम्पको चुनावी अभियानको केन्›मा रहेको छ, जसले उनका समर्थकहरुबीच र्‍यालीका क्रममा चर्चा बटुलेको छ।

मेक्सिको सिटीमा भएको संयुक्त पत्रकार सम्मेलनका क्रममा राष्ट्रपति पेन्ये नियटोले मेक्सिकनहरुमा ट्रम्पका विगतका टिप्पणीहरुले आघात पुगेको बताएका थिए। तर विगतमा जे भएपनि अब आफूले सम्बन्ध सुधार गर्न चाहेको उनले बताए।

यसअघि मेक्सिकोका आप्रवासीहरुलाई 'हत्यारा' र 'बलात्कारी'को संज्ञा दिएका ट्रम्पले यसपटक तिनीहरु 'असाधारण' र 'गज्जब'का भएको बताए।

ट्रम्प मेक्सिकोपछि एरिजोनाको फिनिक्स जानेछन्, जहाँ उनले गैरकानुनी आप्रवाससँग जुध्ने उपायहरुबारे भाषण गर्नेछन्। मत सर्वेक्षणहरुले पार्टीको गत महिनाको अधिवेशनपछि रिपब्लिकनहरुको स्थिति ओरालो लाग्दै गएको देखाएका छन्। प्रमुख राज्यहरुमा र राष्ट्रिय रुपमै ट्रम्पकी प्रतिद्वन्द्वी डेमोक्रेटिक उम्मेद्वार हिलारी क्लिन्टन अल्पसंख्यक समर्थकमाझ ट्रम्पभन्दा बलियो देखिएकी छन्।

अवैधरुपमा अमेरिका बसिरहेका आप्रवासी ट्रम्पको चुनावी मुद्दाको केन्द्रमा रहेका छन् र केही तप्का यही कारण ट्रम्पको पक्षमा देखिएको छ। तर करिब ५५ मिलियन हिस्प्यानिक रहेको अमेरिकामा हिलारीलाई जित्न ट्रम्पलाई अल्पसंख्यकको साथ जरुरी छ।

प्रकाशित: १७ भाद्र २०७३ ०४:५४ शुक्रबार

पर्खालको पैसा मेक्सिकोको भाग ट्रम्प