अन्तर्राष्ट्रिय

आमाको न्यास्रो मेट्न हिँडेका पाइला परोपकारमा समर्पित

थोमस केलनबर्गर

स्विट्जरल्यान्डका थोमस केलनबर्गरले आमाको न्यास्रो मेट्न सुरु गरेको यात्रा परोपकार कोषका लागि समर्पित गरेका छन्। उनको यो नितान्त व्यक्तिगत यात्रा ‘वाक फर ए कज’ अर्थात् एउटा उद्देश्यका निम्ति केन्द्रित भएको छ। आफूले स्थापना गरेको परोपकार संस्था ‘फिल आइल्यान्ड किड्स इन्टरनेसनल फाउन्डेसन’ लाई आर्थिक कोष संकलनका लागि पदयात्रामा निस्किएका उनी अहिले नेपाल आइपुगेका छन्। स्विट्जरल्यान्डको इन्टरलेकबाट सन् २०२१ अगस्ट २५ देखि यात्रा सुरु गरेका उनलाई नेपाल आइपुग्न करिब १५ महिना लागेको छ।  

१५ हजार किलोमिटरको महत्वाकांक्षी पदयात्रा गरिरहेका केलेनबर्गरले भने, ‘यात्राको क्रममा कुनै अप्रत्याशित बाधा नआए यो मेरो यात्रा लगभग पूरा गर्न दुई वर्षसम्म लाग्छ।’ पदयात्रा अवधिमा उनी २२ वटा देश घुम्नेछन्। स्विट्जरल्यान्डको इन्टरलेकनबाट २०२१ अगस्ट २५ मा यात्र सुरु गरेका उनी क्रोएसिया, मोन्टेनेग्रो, कोसोभो, ग्रिस, टर्की हुँदै एसिया आइपुगेका हुन्। अहिले उनी नेपालमा छन्।

उमेरले ४० पुगेका केलेनबर्गरले सन् २००७ मा फिलिपिन्समा ‘फिल आइल्यान्ड किड्स इन्टरनेसनल फाउन्डेसन’ नामक संस्था खोलेका थिए। आफू २५ वर्षको हुँदा संस्था सञ्चालन गरेको बताउँदै केलनबर्गरले भने, ‘मैले सानो उमेरमै यो संस्था खोलेको हुँ, जतिबेला म २५ वर्षको थिएँ।’ यो संस्थाले बालसंरक्षण, गरिबी निवारण र सामुदायिक विकासको लागि काम गर्छ। यसले गरिबी, मानव बेचविखन, घरेलु र यौनजन्य हिंसामा परेका बालबालिका र किशोरीको सुरक्षित आवास, शिक्षा, हक, अधिकारलगायत विषयमा वकालत गर्छ। यसरी संस्थाका लागि काम गर्ने क्रममा सन् २०२० मा आमालाई क्यान्सर रोग लागेको थाहा भएपछि स्याहार्न उनी स्विट्जरल्यान्ड फर्कनुप¥यो।

स्विट्जरल्यान्डमा बिरामी आमाको सेवामा फर्किन संस्थाको संस्थापकबाट उनी पूर्ण रूपमा बाहिर आए। उनी स्विट्जरल्यान्ड गएपछि फिलिपिन्समा रहेको संस्थाको नेतृत्व सहसंस्थापकले गर्न थाले।  

आमाको निधनपछि केलनबर्गर केही समय स्विट्जरल्यान्डमै बसे। त्यसपछि उनलाई फेरि फिलिपिन्स फर्कनुपर्र्छ जस्तो लाग्यो। आफू त्यहाँ गएर के गर्ने भन्ने पनि लाग्यो। त्यहाँ गएर पुनः संस्थाको नेतृत्वमा बसेर काम गर्न पनि उनलाई उचित लागेन। संस्था राम्ररी नै चलिरहेको र आफू पुनः सञ्चालक हुँदा हस्तक्षेप गरेजस्तो हुने ठानेर त्यसमा सक्रिय रूपमा संलग्न हुन त्यति उचित नलागेको उनले बताए। उनलाई सोही संस्थामा बसेर दोस्रो परियोजना चलाउँकी भन्ने पनि लाग्यो तर फेरि परियोजना स्थापित हुन धेरै वर्ष लाग्ने हुँदा त्यसो गर्न पनि मन लागेन।  

केलनबर्गरलाई एकातर्फ आमा गुमेको पीडाबाट बाहिर आउनुथियो भने अर्कातर्फ केही न केही काममा संलग्न हुनुपर्ने थियो। यस्तो अवस्थामा उनले लामो यात्रा गर्न चाहे। सानै उमेरमा एनजिओ खोलेपछि रोकिएको लामो यात्राको सपना पूरा गर्ने उत्तम समय यही हो भन्ने ठानेर उनले यो यात्रा तय गरे।  

सुरुमा उनले स्पेनको उत्तर–दक्षिणस्थित प्रसिद्ध तीर्थस्थलको यात्रामा निस्किने मनस्थिति बनाए, जसलाई इस्लामविरुद्ध स्पेनी इसाईहरूको संघर्षको प्रतीकका रूपमा लिइन्छ। तर उनलाई स्पेन गएर के गर्ने भन्ने लाग्यो। किनकि उनलाई अन्ततः फिलिपिन्स नै फर्कनुथियो। त्यसपछि उनले फिलिपिन्ससम्मको यात्रा हिँडेर गर्ने निर्णय लिए। यात्रा लामो भए पनि उनले स्विट्जरल्यान्डबाट भियतनामसम्मको पैदल यात्रा तय गरे। भियतनामबाट उनी उत्तर फिलिपिन्स गए।  

यसै क्रममा उनले आफ्नो यात्रालाई सपनासँग मात्र नभएर जिम्मेवारीसँग जोड्ने निर्णय गरे। उनले यात्रालाई आफूले स्थापना गरेको ‘फिल आइल्यान्ड किड्स इन्टरनेसनल फाउन्डेसन’ का लागि कोष खडा गर्ने परोपकारी कामसँग जोड्न चाहे। कोभिडका कारण संस्थालाई आर्थिक र अन्य सहयोग आउन कम हुँदै गएको थियो। यस्तो अवस्थामा आफ्नो व्यक्तिगत यात्रालाई संस्थाको हितमा जोड्नुपरेको उनले बताए।  

उनले स्थापना गरेको ‘फिल आइल्यान्ड किड्स इन्टरनेसनल फाउन्डेसन’ लाई स्विस फाउन्डेसनले निःशुल्क स्वयंसेवक, आर्थिकलगायत सहयोग गर्ने बताए। संस्थाले विशेष गरी घरेलु हिंसामा परेका, बेचविखनमा परेका, यौनजन्य हिंसाबाट प्रताडित किशोरी र गरिब बालबालिकाको हितसम्बन्धी काम गर्दै आएको छ। उनीहरूका लागि विभिन्न आवासीय कार्यक्रम तथा मनोसामाजिक परामर्श दिने गरेको छ। उनले भने, ‘संस्थाले उनीहरूलाई पूर्णरूपमा सुरक्षित आवासीय सेवासुविधादेखि बालविकास, मनोपरामर्श, सामुदायिक शिक्षालगायत काम गर्दै आएको छ।’  

संस्थाले यसका लागि त्यहाँको स्थानीय सरकार, शिक्षा विभाग तथा सम्बन्धित विभिन्न एनजिओ, आइएनजिओसँग सहकार्य गरेर क्षमतावृद्धिका लागि वैकल्पिक शिक्षा तथा तालिम दिने गरेको उनले बताए।  

केलनबर्गरले हालसम्म १७ वटा देश पैदल हिँडेर पार गरिसकेका छन्। यसैक्रममा उनी नेपालमा आइपुगेका हुन्। नोभेम्बरमा ७ मा सुनौलीबाट नेपाल प्रवेश गरेका उनले बुटवल, बर्दिया राष्ट्रिय निकुन्ज हुँदै पोखरा पुगेको बताए। पोखराबाट उनी गोरखा हुँदै काठमाडौं आएका हुन्।  

हाल काठमाडौंमा रहेका उनले कलेज तथा एनजिओहरूको निरीक्षण र अवलोकन गरिरहेका छन्। आफ्नो यात्राको उद्देश्यसँग जोडिएका बालबालिकासँग सम्बन्धित भएर काम गर्ने संस्थाहरूसँगको भेटघाटमा उनी व्यस्त छन्।  

काठमाडौंमा बसेर यहाँका गैरसरकारी संस्था भ्रमण गर्नुको मुख्य कारण फिलिपिन्सस्थित ‘फिल आइल्यान्ड किड्स इन्टरनेसनल फाउन्डेसन’ र आफ्नो यात्राको उद्देश्य जानकारी गराउनु रहेको उनले बताए।  

अबको दुई सातासम्म काठमाडौं बस्ने जानकारी गराउँदै उनले जिरी र विभिन्न हिमाली क्षेत्र हुँदै विराटनगरबाट पुनः भारत हुँदै बंगलादेश, थाइल्यान्ड, लाओस, भियतनाम र फिलिपिन्स गएर यात्रा अन्त्य गर्ने बताए। हालसम्म १० हजार २ सय किलोमिटर हिँडिसकेका उनले अझै ४ हजार ८ सय किलोमिटर यात्रा गर्न बाँकी रहेको बताए।  

आफ्ना लागि हिँड्नु सबैभन्दा राम्रो ध्यान भएको उनी बताउँछन्। उनको यात्रा परोपकारका लागि आर्थिक स्रोत जम्मा गर्ने माध्यम बनेको छ। यसरी संकलन हुने आर्थिक स्रोत फिलिपिन्समा रहेको ‘फिल आइल्यान्ड किड्स इन्टरनेसनल फाउन्डेसन’ नामक आश्रित बालबालिका र किशोरीहरूको हितमा खर्च हुनेछ। आमाको रिक्तता मेटाउन सुरु भएको उनको यो यात्रा परोपकारसँग जोडिन पुगेको छ।  

यात्राका क्रममा उनले धेरै प्रकारका अनुभव सँगालेका छन्। हिमाल, पहाड, मरुभूमि, तराई, नदी, गाउँ, जंगल, सहरको अनुभव छ उनीसँग। उनी काजकिस्तान, पाकिस्तानको मरूभूमिदेखि ५ हजार मिटर अग्लो नेपालको हिमालमा पैदल हिँडेका छन्। उनले सबैभन्दा चुनौती हिमालको यात्रा भएको बताए। बिनाउपकरण हिमालमा हिँडन एकदमै गाह्रो भएको उनको भोगाइ छ।  

नसोचेको अवस्था पनि उनको यात्रामा आयो। उनी सम्झिन्छन्, ‘हिमाल, जंगलको बीच बाटो, मरूभूमि जस्ता खतरापूर्ण ठाउँबाट बाँचेको म सामान्य सडकमा हिँड्दा माथिबाट ढुंगा खसेर झन्डै मरिनँ।’ पैदल यात्राका क्रममा लद्दाखमा आठ दिनसम्म कोही पनि मानिससँग भेट नभएको र पानीका लागि पनि अत्तालिनुपरेको उनले बताए। यात्राका क्रममा विभिन्न खतरा सामना गर्नुपरे पनि आफैंमाथि विश्वास गरेर निरन्तर अगाडि बढेकाले नेपालसम्म आइपुगेको उनले बताए।  

प्रकाशित: २८ मंसिर २०७९ ०१:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App