स्वास्थ्य

दीर्घरोगीलाई नियमित औषधी दिइने

फाइल तस्बिर

बुढीगंगा नगरपालिकाले पालिकामा बसोबास गर्ने गर्ने विपन्न परिवारका दीर्घरोगीले खाने औषधीको व्यवस्थापन गरिदिने निर्णय गरेको छ। आफैले औषधी किनेर खान नसक्ने विपन्न परिवारका दीर्घरोगीको नियमित खाने औषधी पालिकाकै लगानीमा खरिद गरेर दिने निर्णय गरिएको नगरप्रमुख रामबहादुर बाँनियाले बताएका छन्।

असार २३ मा सम्पन्न निर्वाचनपछि पहिलो दिन पदभार ग्रहण गर्दै बाँनियाले पालिकाको आन्तरिक स्रोतबाटै औषधी खरिद गरेर उपलब्ध गराउने निर्णय गरेको हो। नगरप्रमुख बाँनियाले नियमित स्वास्थ्यजाँच, वार्षिक एकपटक विशषेज्ञ सेवासहितको निःशुल्क स्वास्थ्यशिविर र जटिल प्रकृतिको उपचारको व्यवस्थासमेत पालिकास्तरबाटै गर्ने निर्णयमा हस्ताक्षर गरेका छन्।

वैशाख ३० को निर्वाचन आयोगले धाँधलीको आरोपसहित रद्द गरेपछि बुढीगंगामा असार २३ मा पुनः मतदान भएको हो। पदभार ग्रहणकै दिन बाँनियाले नगरप्रमुख, उपप्रमुख दुवैका तर्फबाट ८ वटा निर्णयमा हस्ताक्षर गरेका हुन्। पहिलो नम्बरमा सबै बस्तीमा खानेपानीको पहुँच सुनिश्चित गर्ने बताएका छन्।

आधुनिक शिक्षा विकासको अवधारणाअन्र्तगतको अंग्रेजी माध्यमको शिक्षण सिकाइ पनि सञ्चालन गर्ने गरी पहिलो चरणमा साविक तीन गाविसका पशुपति मावि, भानुदय नमुना मावि र त्रिशक्ति माविलाई छनोट गरिएको छ। सबै नागरिकलाई इन्टरनेटको सुविधामाजोड्ने गरी सेवाविस्तारको पनि निर्णय गरेको छ।

बाह्रै महिना सबै वडामा सडक सुचारु हुने अवस्था निर्माण गर्ने, पालिका स्तरमै लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने, नगर प्रोफाइल तयार पारी सोही आधारमा पाँच वर्षे योजना अघि सार्ने र कृषि खेतीलाई आधुनिक र व्यावसायिक बनाइ परम्परागत बालीको संरक्षणमा ध्यान दिने निर्णय गरेका छन्। निवर्तमान नगरप्रमुख दीपकविक्रम शाह र उपप्रमुख तारा खाती थापाको उपस्थितिमा नवनिर्वाचित नगरप्रमुख रामबहादुर बाँनिया र उपप्रमुख माया कुँवरले पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहणकै दिनको निर्णयले जनतालाई राहत हुने काम गरिएकोप्रति स्थानीय आशावादी बनेका छन्। 

जनताको सेवा र जनताको भावनाविपरीत कुनै कार्य नगर्ने वचनसमेत पदभार ग्रहणको क्रममा उनीहरूले राखेका छन्। एमालेबाट निर्वाचित जनप्रतिनिधिले पार्टीको घोषणापत्रअनुसार नै कामकारबाही गर्ने योजनासहित निर्णय गरिएको नगर कमिटी अध्यक्ष नरेन्द्र थापाले बताएका छन्। बुढीगंगामा एमालेले १० वडामध्ये ७ अध्यक्षसहित नगरप्रमुख, उपप्रमुख जितेको छ। बाँकी ३ वटा वडामा कांग्रेसका जनप्रतिनिधि आएका छन्।

प्रकाशित: २९ असार २०७९ ०४:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App