स्वास्थ्य

‘कर्णाली कोशेली’ले स्वास्थ्य संस्थामा सुत्केरी हुने बढे

हुम्ला जिल्ला अस्पतालमा सुत्केरी भएकी महिला शीशुसँग घाम ताप्दै। तस्बिर: नगेन्द्र/नागरिक

केही वर्षअघिसम्म कर्णालीमा स्वास्थ्य संस्थामा आएर सुत्केरी हुनेको संख्या अत्यन्तै न्यून हुन्थ्यो। सुत्केरी व्यथाले च्यापेपछि महिलालाई स्वास्थ्य संस्था लिनुपर्नेमा गोठमा लगिन्थ्यो। त्यहीँ बच्चा जन्मिन्थ्यो। यसले आमा र जन्मेको बच्चाको स्वास्थ्य उच्च जोखिममा हुन्थ्यो। पछिल्लो समय कर्णालीमा स्वास्थ्य संस्थामा गएर सुत्केरी हुनेको संख्या बढ्न थालेको छ।

कर्णाली सरकारले ‘कर्णाली सुत्केरी प्रोत्साहन कोशेली’ उपलब्ध गराउन थालेपछि स्वास्थ्य संस्थामा आएर सुत्केरी हुनेको संख्या बढ्दै गएको देखिन्छ। कोशेलीमा दुई हजार नगदसहित न्यानो झोला र ३० केजी चामल दिने गरिन्छ। योसँगै स्थानीय तहले पनि स्वास्थ्य संस्थामा गएर सुत्केरी भएकाहरुलाई बस्तुगत सहयोग गर्न थालेपछि स्वास्थ्य संस्थामा आएर सुत्केरी हुनेको संख्या बढ्न थालेको तथ्याङ्कले देखाउँछ।

हिमाली जिल्ला हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छैन। यातायातको पहुँच नभएपनि पछिल्लो समय स्वास्थ्य संस्थामा आएर सुत्केरी हुनेको संख्या यहाँ बढ्दो क्रममा छ। कर्णाली सुत्केरी प्रोत्साहन कोशेली सुरु भएको आर्थिक वर्ष २०७६/०७७ मा हुम्लामा ३१७ जना महिलाहरुले स्वास्थ्य संस्थामा आएर बच्चा जन्माए। अघिल्लो आर्थिक वर्ष त्यो संख्या बढेर ३९५ पुग्यो। चालू आर्थिक वर्षको पुसभित्र १६७ जना महिलाले स्वास्थ्य संस्थामा आएर सुत्केरी गराएका छन्।

हुम्लामा २० वर्षदेखि जिल्ला अस्पतालमा कार्यरत नर्सिङ इन्चार्ज सरिता बोहराका अनुसार कर्णाली प्रोत्साहन कोशेली कार्यक्रम हुम्लासहित कर्णालीमा प्रभावकारी बन्दै गएको छ। ‘प्रदेश सरकारले कोशेलीवापत दुई हजार नगद, न्यानो झोला र खाद्य संस्थानले २० किलो चामलका साथै स्थानीय तहले पोषणका लागि तेल, अण्डालगायतका सामाग्रीहरु दिन थालेपछि स्वास्थ्य संस्थामा आएर सुत्केरी हुनेहरुको संख्या बढ्दै गएको छ,’ नर्सिङ इन्चार्ज बोहराले भनिन्, ‘पहिले–पहिले स्वास्थ्य संस्थामा आउनु भन्दा घरमैै असुरक्षित बच्चा जन्माउने प्रचलन थियो।’ कोशेली अन्र्तगत अस्पतालमा सुत्केरी हुने आउने महिला र कुरुवालाई निःशुल्क खाना–खाजाको पनि व्यवस्था गरिन्छ। न्यानो झोलामा सुत्केरी आमाका लागि म्याक्सी, बच्चाका लागि भोटो, टोपी, डाइपरलगायतका सामाग्रीहरु हुन्छन्।  

कर्णालीमा स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने महिलाले एकमुष्ट पाँच हजार आठ सय रुपैयाँ नगद पाउँछन्। संघीय सरकारले आमा सुरक्षा यातायात खर्चवापत तीन हजार दिन्छ भने चार पटकसम्म्म स्वास्थ्य संस्थामा आएर गर्भ चेकजाँच गरेको अवस्थामा आठ सय रुपैयाँ पाउँछन्। त्यसैमा कर्णाली सरकारले सुत्केरी प्रोत्साहन कोशेली अन्र्तगत दुई हजार रुपैयाँ थपिदिन्छ। खाद्य संस्थाले २० किलो चामल निःशुल्क दिन्छ।  

कालिकोटमा पनि पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्कले स्वास्थ्य संस्थामा आएर सुत्केरी हुनेको संख्या बढेको देखाउँछ। स्वास्थ्य सेवा कार्यालय कालिकोटका सुचना अधिकारी कटक महतका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा स्वास्थ्य संस्थामा आएर सुत्केरी महिलाको संख्या ३०६५ थियो। २०७७/०७८ मा त्यो संख्या बढेर ३५८० पुग्यो। चालू आर्थिक वर्षको पुस मसान्तसम्म स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने महिलाको संख्या कालिकोटमा १२८३ छ।

स्वास्थ्य सेवा कार्यालय कालिकोटका सुचना अधिकारी महतका अनुसार कर्णाली सुत्केरी प्रोत्साहन कोशेली, गाउँगाउँमा बर्थिङ सेन्टर सञ्चालन, सुत्केरी र नवजात शीशुलाई स्थानीय तहले गर्ने सहयोगलगायतका कारणले स्वास्थ्य संस्थामा आएर सुत्केरी हुनेको संख्या बढेको बताए। उनका अनुसार स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्या बढेकाले मातृ तथा बाल मृत्यु दर पनि न्यून भएको छ।  स्वास्थ्य कार्यालय कालिकोटले सुत्केरी महिलाका लागि झुल पनि वितरण गर्ने गरेको छ। 

‘प्रदेश सरकारले दिने कोशेली, न्यानो झोला, संघले उपलब्ध गराउने यातायात खर्च, खाद्य संस्थानले दिने २० केजी निःशुल्क चामलसँगै स्वास्थ्य कार्यालयले निःशुल्क भुल पनि वितरण गर्ने गरेको छ,’ उनले भने, ‘यसका साथै स्थानीय तहले पनि सुत्केरी महिला र शीशुका लागि आर्थिक सहयोग, पोषण व्याकेजलगायतका सहयोग गर्दै आइरहेका छन्।’ कर्णाली प्रोत्साहन कोशेलीसँगै स्थानीय तहहरुले पनि गर्भवती, सुत्केरी र शीशुका लागि विभिन्न प्याकेज दिने गरेकाले कर्णालीमा मातृ तथा बाल मृत्युदर घटेको पाइन्छ।

प्रकाशित: ८ चैत्र २०७८ ०९:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App