स्वास्थ्य

स्वास्थ्य कार्यालय म्याग्दी गण्डकी प्रदेशकै उत्कृष्ट

गण्डकी प्रदेश सरकार मातहतका कार्यालयमध्ये म्याग्दीमा स्वास्थ्य कार्यालय उत्कृष्ट घोषित भएको छ। गण्डकी प्रदेश स्थापना दिनका अवसरमा हरेक जिल्लामा उत्कृष्ट कार्यालय घोषणा गरिएको हो। 

एक महिनाअघि हरेक जिल्लामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट खटिएको टोलीले विभिन्न सूचकका आधारमा कार्यालयको मूल्याङ्कन गरेको थियो। कोरोना नियन्त्रण तथा खोप अभियानमा म्याग्दीले अन्य जिल्लाको तुलनामा निकै उत्कृष्ट कार्यसम्पादन गरेको देखिएको टोलीको भनाई छ।  

मूल्याङ्कनमा म्याग्दीबाट उत्कृष्ट कार्यालयमा पर्न सफल भएको जानकारी आएको उक्त कार्यालयका प्रमुख एकनारायण लम्सालले बताए। ‘हामीलाइ थप जिम्मेबारी थपिएको छ,‘अझै उत्कृष्ट काम गर्नेछौ,‘जिल्लाका सबै निकायहरुको सहयोगमा यो सम्भव भएको हो’ प्रमुख लम्सालले भने। उनका अनुसार प्रदेश सरकारले  मातहतका कार्यालयको सुशासन, कार्यालय व्यवस्थापन, प्रगतिलगायतको सूचकका आधारमा स्थलगत अनुगमन गरी मूल्याङ्कन गरेर उत्कृष्ट कार्यालय छनोट गरेको बताए। उनले जिल्लाभरका स्वास्थ्यकर्मीको योगदान र सक्रियताको सधै सम्झना हुने बताए।

उक्त कार्यालयले जिल्लामा कोरोना महामारीका बेला उत्कृष्ट कार्य गर्दै आएको थियो। खासगरी खोप अभियानमा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो।जिल्लामा लक्षित समुदायको ९९ प्रतिशत नागरिकले कोरोनाविरुद्ध पहिलो र दोस्रो डोजको पूर्ण मात्राको खोप लगाइसकेको जनाएको सो कार्यालयले स्थानीय तह र स्वास्थ्य संस्थामा समन्वय गर्नाका साथै खोपको भ्याक्सिन, औषधि, औजार र उपकरणको आपूर्ति, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, स्वास्थ्य कार्यक्रमको अनुगमन, पृष्ठपोषणलगायत कार्य गर्दै आएको थियो।

प्रकाशित: ५ फाल्गुन २०७८ १२:३३ बिहीबार