स्वास्थ्य

आँखाको ज्योति फर्किदा दंग

गुर्भाकोट नगरपालिकाको बडाखोलीका ८० वर्षीय भद्रसिंह थापाका पछिल्ला तीन वर्ष कष्टपूर्ण रहे। आँखाको दृष्टि गुमेपछि एक ठाउँबाट अर्को ठाउँमा सर्नका लागि पनि साहारा चाहिन्थ्यो। ओछ्यानदेखि आँगनसम्म पुग्दा उनी धेरै पटक ढले पनि। बिहीबारदेखि उनको आँखाको ज्योति फेरि फर्केको छ।

दृष्टि फर्केपछिको खुशी थापाको अनुहारमा प्रष्टै देखिन्थ्यो। ‘आँखामा ज्योति नहुँदाको पीडा शब्दमा व्यक्त गर्न नसकिँदो रहेछ,’ शल्यक्रियापछि दृष्टि फर्किएपछि खुशी हुँदै उनले भने, ‘बुढेसकालमा आँखाको ज्योति पाएँ, फेरि संसार देख्ने भएको छु।’

आँखाको ज्योति फर्काउन अस्पतालसम्म पुग्नु पर्दथ्यो। उनी एक्लै अस्पताल पुग्न सक्ने अवस्था थिएन। छोरा–बुहारीले सदरमुकाम वीरेन्द्रनगर ल्याइदिएको भए उनले तीन वर्षसम्म दृष्टि गुमाएर बस्नुपर्ने थिएन। ‘आर्थिक समस्या पनि थियो, धेरै पैसा लाग्ने हो कि भन्ने डरले छोरा–बुहारीले पनि अस्पताल लगेनन्,’ उनले भने, ‘गाउँमा आएको शिविरमा चेक गराएँ, निःशुल्क अप्रेशन भयो, खुशी लागेको छ।’

गुर्भाकोट नगरपालिकाले नेपालगञ्जको फुलटेक्रा आँखा अस्पतालको सहयोगमा मेहलकुनामा तीन दिने निःशुल्क आँखा शिविरको आयोजना गरेको थियो। ‘छिमेकीको साथमा लागेर अप्रेशन गर्न आएको थिएँ,’ उनले भने, ‘मोतियाविन्दूको जालोले बन्द भएका आँखा डाक्टरले खोलिदिए ।’

नगरपालिकाले आयोजना गरेको आँखा उपचार शिविरमा ३५० जनाको मोतियाविन्दू अप्रेशन गर्यो।

शिविरमा आएकाहरु बुढ्यौलीका कारण आँखामा लागेको जालो फालेपछि दृष्टि फर्किएको खुशी एकअर्कामा साटिरहेका थिए। ‘आँखामा दृष्टि नहुँदा हिँडडुल गर्न समस्या हुन्थ्यो, आफन्त ठम्याउन सकिँदैनथ्यो,’ गुर्भाकोट नगरपालिका–८ सुगुरखालीकी ६५ वर्षीया धनसरी विकले भनिन्, ‘अब आँखा देख्ने भएका छौं, हिँडडुल गर्न र आफन्त ठम्याउन समस्या नहुने भयो।’

उनले आँखा बन्द भएपछि परिवार र आफन्तले गर्ने दुव्र्यवहारले सारै पिरोल्ने गरेको अनुभव सुनाइन्। ‘आँखामा दृष्टि नहुँदा घरभित्रैकाले पनि राम्रो व्यवहार नगर्दा रहेछन्’ उनले भनिन्, ‘ज्योति फर्कियो आफ्नो काम आफै गर्न सक्छु, अब कसैले हेला नगर्लान्।’

नगरपालिकाले घर–परिवारले त्यागेका बादुरे वलीको पनि शिविरमा निःशुल्क आँखाको अप्रेशन गरायो। वलीका सात छोरी र एक छोरा छन्। आँखाको ज्योति गुमेसँगै उनी घरबाट निकालिए। स्थानीय बोटेचौर बजारमा मागेर गुजारा चलाउने उनलाई प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खत्रीले अभिभावकत्व लिएर शिविरमा ल्याएका थिए।

आँखाको ज्योति फर्केपछि उनी प्रमुख प्रशासकीय अधिकृतको खोजीमा थिए। ‘आफैले जन्माएका सन्तान पराइ भइदिए, नगरपालिकाका एक कर्मचारीले ल्याएर उपचार गरिदिएका हुन्,’ उनले भने, ‘आँखा देख्ने भएपछि पहिलो पटक उनैलाई हेर्ने रहर थियो, काममा बाहिर गएकाले भेट हुन् सकेको छैन्।’

मेहलकुना आँखा अस्पतालका अध्यक्ष विर्खबहादुर नेपालीले हरेक वर्ष निःशुल्क आँखा उपचार शिविर आयोजना गर्ने गरिएको बताए। ‘गुर्भाकोट नगरपालिकाको आर्थिक सहयोग र फुलटेक्रा अस्पताल नेपालगञ्जको प्राविधिक तथा जनशक्ति सहयोगमा हरेक वर्ष शिविर सञ्चालन गछौं,’ उनले भने, ‘यो पटकको शिविरमा ३५० भन्दा बढीको निःशुल्क मोतियाविन्दूको अप्रेशन गरेका छौं।’

गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनले चार वर्षको अवधिमा सबै वडामा आँखा उपचार शिविरको आयोजना गरिएको बताए। ‘वडावडामा गरिएको आँखा उपचार शिविरमा मोतियाविन्दू देखिएकाहरुको निःशुल्क शल्यक्रिया गछौं,’ उनले भने, ‘यसबाट जेष्ठ नागरिकहरुले ठूलो राहतको महशुस गर्नु भएको छ।’

फलफूल वितरण

निःशुल्क मोतियाविन्दूको अप्रेशन गरेका बिरामीहरुलाई नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले फलफुल वितरण गरेका छन्। महामन्त्री खड्काले जनताको सबैभन्दा नजिकको सरकारले गरेको उदाहरणीय कामको प्रशंसा गर्दै मोतियाविन्दूको अप्रेशन गरेका बिरामीहरुको स्वास्थ्य लाभको कामना गरे। ‘स्थानीय सरकार जनताको सुख–दुःखको साथी हो,’ उनले भने, ‘स्थानीय सरकारले यस्तै जनप्रिय कामहरु गरे संघीयताको जग बलियो हुन्छ।’

उनले जेष्ठ नागरिक, बालबालिका, महिला र पछाडी परेको समुदायका लागि स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने बताए।

प्रकाशित: १० मंसिर २०७८ ११:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App