स्वास्थ्य

वीपीका आन्दोलनकर्मीहरुले आइतबारदेखि इमरजेन्सी र कोभिडबाहेक काम छोड्ने

सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत पक्षले आइतबारदेखि इर्मजेन्सी र कोभिड अस्पतालबाहेकको काम छोड्ने घोषणा गरेको छ।

प्रतिष्ठान सुद्धिकरण आन्दोलन गरिरहेको संयुक्त संघर्ष समितिले बिहिबार पत्रकार सम्मेलन गर्दै आइतबारदेखि काम छोड्ने घोषणा गरेको हो। बेथिती र अनियमितताबारे छानबिन गर्ने तर दोषीलाई कारबाही नगर्ने, आन्दोलनरत पक्षसँग पनि सहमति मात्र गर्ने तर कार्यान्वयन गर्न चासो नदिने प्रवृत्ति दोहोर्याएको भन्दै आन्दोलनरत पक्ष सरकार असन्तुष्ट बनेको छ। संघर्ष समितिका सहसंयोजक डा.विष्णु पोखरेलले आन्दोलनले उठाएको मुद्दाहरुलाई सरकारले लिपिबद्ध गर्दै सम्झौता गरेपनि कार्यान्वयनमा ढिलाई भइरहेकोले अब आइतबारदेखि इर्मजेन्सी, कोभिड अस्पतालको सेवा र पुर्वनिर्धारित परीक्षाबाहेक सबै सेवा छोड्ने बताए।  

डा.पोखरेलले सरकारले कोभिड महामारीको बेला स्वास्थ्य मन्त्री नियुक्ती नगरेको भन्दै प्रधानमन्त्री देउवाको आलोचना पनि गरे। साथै उनले अबको आन्दोलन राजनीतिक दलका शीर्ष नेताहरुविरुद्ध पनि हुने बताए। संघर्ष समितिका संयोजक डा.एस.पी.रिमालले सुद्धिकरण आन्दोलन स्वास्थ्य मन्त्रालय, नेपाल सरकार र राजनीतिक दलसम्म पुगेको उल्लेख गर्दै पदाधिकारी छनौट हुँदा माथिल्लो स्तरबाट नै गडबडी हुने गरेकोले त्यही पनि सुधार हुनुपर्ने बताए। 

उनले नियुक्तीमा सुधार हुनुपर्ने, नियुक्त भएका पदाधिकारीहरुको आचरण, अनुशासन र दायित्व पुरा गरे, नगरेको हेर्नुपर्ने र प्रतिष्ठानको कर्मचारी, शिक्षकहरुमा पनि पुग्नुपर्ने बताए। यी तिनवटै कुराको समाधान पनि आन्दोलनरत पक्षले देखाइसकेको भन्दै डा.रिमालले प्रतिष्ठान पहिलादेखि नै धरासायी हुदै गएकोले एउटा आयोग बनाएर छानबिन गर्नुपर्ने पनि धारणा राखे।

प्रतिष्ठानमा विगत ८० दिनदेखि सुद्धिकरण आन्दोलन जारी छ। सरकारले गठन गरेको उच्चस्तरीय कार्यदलले पदाधिकारीहरुलाई कारबाही गर्न सिफारिश गरेपनि कार्यान्वयन भएको छैन भने आन्दोलनरत पक्षसँग गरेको ६ बुँदे सम्झौता पनि कार्यान्वन हुन सकेको छैन। 

प्रकाशित: १७ भाद्र २०७८ ०७:२८ बिहीबार

वीपीका आन्दोलनकर्मी इर्मजेन्सी र कोभिडबाहेक काम छोड्ने