स्वास्थ्य

वीपीका आन्दोलनकारीद्वारा प्रधानमन्त्री देउवालाई पत्राचार,माग पुरा गर्न ४८ घण्टा अल्टिमेटम

विगत एक महिनादेखि आन्दोलनरत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको संयुक्त संघर्ष समितिले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्राचार गर्दै ४८ घण्टाभित्र आफुहरुको माग पुरा गर्न अल्टिमेटम दिएको छ।

संघर्ष समितिले प्रतिष्ठानको कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवालाई आज एक पत्र ४८ घण्टाभित्र प्रधानमन्त्री तहबाटै सचिवस्तरीय वार्ता कमिटी गठन गर्न माग गरेको हो। आफुहरुको माग ४८ घण्टानभित्र पुरा नभए साउन १ गते शुक्रबारदेखि आकस्मिक सेवा, कोभिड अस्पताल र पुर्वनिर्धारित परीक्षा कार्यक्रमबाहेक सम्पुर्ण सेवाहरु बहिष्कार गर्ने संघर्ष समितिले घोषणा पनि गरेको छ।  

समितिका अनुसार शुक्रबारदेखि बिहान ८ बजेदेखि १० बजेसम्म सम्पुर्ण चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, विद्यार्थीलगायत सबैले सेवा बहिष्कार गर्नेछन्। हरेक दिन २ घण्टा सेवा बहिष्कार गर्दा पनि वेवास्तार गरे आकस्मिक बाहेक सबै सेवा पुर्णरुपमा बहिष्कार गर्ने संघर्ष समितिका सहसंयोजक डा.विष्णु पोखरेलले बताए। उनले भने,‘हामीले आन्दोलन गरेको यतिका दिन भइसक्यो। सरकारले अहिलेसम्म वास्ता गरेको छैन। अब पनि वेवास्ता गर्ने हो भने हामी सम्पुर्ण सेवाहरु बहिष्कार गर्न बाध्य हुनेछौं।’

संघर्ष समितिले प्रतिष्ठानका पदाधिकारीहरु नैतिकरुपमा पतन भइसकेको कारण वार्ता नगर्ने आफुहरुको अडान रहेको उल्लेख गर्दै हस्तक्षेपकारी भुमिका आवश्यक रहेको पनि जनाएको छ। यस्तै, प्रतिष्ठानको अनियमितता, भ्रष्टाचार, बेथितीबारे उच्चस्तरीय छानबिन आयोग गठन गरेर दोषी देखिएकाहरुलाई तत्काल कार्वाही प्रक्रिया अघि बढाउन पनि संघर्ष समितिले माग गरेको छ। गएको असार १५ गते वार्ताको क्रममा उपकुलपति मदिरा पिएर आएको भन्ने घटनाबारे निष्पक्ष छानबिन गर्न, दोषी देखिए कारबाही गर्न र उपकुलपति प्राध्यापक भए नभएको सत्यतथ्य जानकारी गराउन पनि संघर्ष समितिले माग गरेको छ।  

यसैगरि, प्रतिष्ठानमा र विश्वविद्यालयमा हुने पदाधिकारी नियुक्ती यसअघि नै विज्ञहरुले बुझाईसकेको प्रतिवेदनलाई मुख्य आधार बनाएर पदाधिकारी छनोट प्रोटोकल सार्वजनिक गर्नुपर्ने, छनौट भएका पदाधिकारीहरुले प्रतिष्ठानमा हाजिर हुनुपुर्व नै छनौट हुँदाको समय पेश गरेको प्रतिज्ञा पत्र सार्वजनिक गर्नुपर्ने र हरेक ६ महिनामा उनीहरुको सार्वजनिकरुपमा कार्यसम्पादन मुल्यांकन गरेर सन्तोषजनक नभए कारबाही गर्नुपर्ने पनि संघर्ष समितिको माग छ।

प्रकाशित: ३० असार २०७८ ०७:३० बुधबार

प्रधानमन्त्री देउवालाई पत्राचार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान