स्वास्थ्य

वीपीमा आन्दोलनरत कर्मचारीद्वारा पदाधिकारी चढ्ने गाडीको चाबी कब्जामा

रिले अनसन बस्ने घोषणा, तालाबन्दी गर्ने विद्यार्थीको चेतावनी

उपकुलपति कार्यालयअघि आयोजित विरोध सभालाई सम्बोधन गर्दै डा.मधुर बस्नेत । पदाधिकारीहरुले चढ्ने प्रतिष्ठानको गाडीको चाबी जिम्मा लिँदै संयुक्त संघर्ष समिति । तस्बिर : रोहित राई

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत चिकित्सक, विद्यार्थी र कर्मचारीहरुले पदाधिकारीहरु चढ्ने सार्वजनिक गाडीको चाबी कब्जा लिएका छन्।

प्रतिष्ठान सुधारको लक्ष्य लिएर विगत १२ दिनदेखि निरन्तर आन्दोलन जारी राखे पनि वार्तामार्फत समस्या समाधान गर्न पहलकदमी नलिएको भन्दै संयुक्त सघर्ष समितिले आइतबार पदाधिकारीहरुले चढ्ने गाडीको चाबी कब्जा गरेको हो। संघर्ष समितिले निमित्त उपकुलपति एवं रेक्टर प्रा.डा.गुरु खनाल, रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मी र अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहले चढ्दै आएको प्रतिष्ठानको गाडीको चाबी कब्जामा लिएको हो। प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी भने उनी चढ्ने गाडीसहित काठमाडौंमा छन्। 

संयुक्त संघर्ष समितिका सहसंयोजक एवं फ्याकल्टी वेल्फेयर सोसाइटीका निवर्तमान अध्यक्ष डा.विष्णु पोखरेलले प्रतिष्ठानको हितको लागि गाडी चढ्ने सुविधा दिएपनि दुरुपयोग मात्रै गरेको हुनाले चाबी खोसिएको बताए। ‘उहाँहरुले वीपीको हितमा हरदम सोच्नु हुन्छ, काम गर्नुहुन्छ भनेर गाडीको सुविधा दिएको हो, तर उहाँहरुले यो सुविधाको सदुपयोग होइन, दुरुपयोग मात्र गर्नुभयो,’ डा.पोखरेलले भने, ‘त्यसैले चार जना पदाधिकारीहरुलाई प्रतिष्ठानले उपलब्ध गराएको गाडी चढ्ने अधिकार नभएकोले चाबी खोसेका हौं।’

संघर्ष समितिले पदाधिकारीहरुले चढ्ने गाडी जथाभावी दुरुपयोग हुन नदिन वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नाम लेख्नुपर्ने पनि बताएको छ। प्रतिष्ठानको गाडीमा नाम लेखेमा पचास प्रतिशत दुरुपयोग कम हुने सहसंयोजक डा.पोखरेलले बताए। उनले भने, ‘वीपीलाई पारदर्शी बनाउनको लागि चारैजना पदाधिकारी चढ्ने गाडीमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाम लेख्नुपर्छं, त्यो हामी लेख्छौं। यसले गाडी दुरुपयोग आधा कम हुन्छ।’

रिले अनसन बस्ने घोषणा, तालाबन्दी गर्ने विद्यार्थीको चेतावनी

आन्दोलनरत वीपी प्रतिष्ठानका फ्याकल्टी, विद्यार्थी, कर्मचारी, नर्सिङहरुले आन्दोलनको स्वरुप परिवर्तन गर्दै रिले अनसन बस्ने घोषणा गरेका छन्।  

संयुक्त संघर्ष समितिले आइतबार उपकुलपति कार्यालय अघि वृहत विरोध सभा आयोजना गर्दै सोमबारदेखि रिले अनसन बस्ने घोषणा गरेको हो। प्रतिष्ठानको उपकुलपति कार्यालय अघि रिले अनसन बस्ने संघर्ष समितिका सहसंयोजक डा.पोखरेलले बताए। ‘विरामीहरुको उपचारलाई असर नपरोस् भनेर ध्यान दिएका छौं, रिले अनसनलाई पनि पदाधिकारीहरुले बेवास्ता गरे कडा आन्दोलन गर्दै आमरण अनसन पनि बस्छौं,’ उनले भने।  

विद्यार्थी प्रतिनिधि अमृत जैसीले धैर्यताको बाँध टुटिसकेको भन्दै तालाबन्दी गर्न आफूहरुले चाबीसमेत किनिसकेको बताए। केही दिनभित्रै उपकुलपति प्रतिष्ठान आएर वार्तामार्फत समस्या हल गर्न पहल नगरे चारैजना पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गर्ने उनले चेतावनी दिए। ‘सम्पूर्ण विद्यार्थी साथीहरु आजै तालाबन्दी गर्नुपर्छ भनिरहनु भएको छ, हामीले ताला किनेर गोजीमा राखेका छौं, तालाबन्दीसम्मको कार्यक्रम हाम्रो छ,’ उनले भने।  

डा.मधुर बस्नेतले प्रतिष्ठानकै उत्पादनहरु उपकुलपतिबाहेक ३ जना पदाधिकारी, उल्लेख्य सिनेट सदस्य, कार्यकारिणी सदस्य, विभागीय प्रमुखहरु भएपनि बेथितीविरुद्ध बोल्न हिच्किचाएको भन्दै असन्तुष्टी पोखे। ‘सिनेटमा प्रतिनिधित्व गर्ने कर्मचारी, फ्याकल्टीहरुले आएर बोल्नुपर्यो, कार्यकारिणी समितिमा ५ जना प्रतिष्ठानकै उत्पादन छन्, तर पनि किन वीपीको यस्तो स्थिति हो? उहाँहरु पनि जवाफदेही हुनुपर्छ, र बोल्नुपर्छ,’ उनले भने।

प्रकाशित: १३ असार २०७८ ०९:५३ आइतबार

वीपीमा आन्दोलनरत कर्मचारी