स्वास्थ्य

६० देखि ६५ वर्ष उमेर समूहलाई जेठ २५ गतेदेखि कोभिडविरुद्धको खोप दिइने

क्याप्शन

चीन सरकारले दिएको अनुदान स्वरूप दिएको १० लाखमध्ये ९ लाख खोप मंगलबार काठमाडाैं आइपुगेको छ। नेपाल वायुसेवा निगमको जहाजले ८ लाख र एक लाख हिमालय एयरलायन्सले तिब्बतको केरुङबाट लिएको हो। बाँकी एक लाख बुधबार ल्याउने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आपूर्ति व्यवस्थापन महाशाखाले जनाएको छ। 

चीनको सिनोफार्म कम्पनीले उत्पादन गरेको भेरोसेल नामक खोप नेपाललाई अनुदानको रूपमा दिएको हो। यो खोपलाई विश्व स्वास्थ्य संगठनले मान्यता दिइसकेको छ। चीन सरकारले नेपालमा पछिल्लोपटक थप १० लाख खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेको एक साता नबित्दै ९ लाख खोप आइसकेको हो। प्राविधिक कारणले एकैदिन ल्याउन नसकिएको थप १ लाख खोप पनि हिमालय एयरलायन्समार्फत ल्याइनेछ। 

चीनले अनुदान स्वरूप दिएका १० लाख खोपमध्ये ८ लाख चीनको केन्द्रीय सरकारले र २ लाख चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले उपलब्ध गराएको हो। बुधवार नै थप २ हजार अक्सिजन सिलिण्डर नेपाल आइपुग्दैछ। यसअघि १५ सय गरी ३५ सय वटा सिलिण्डर आइपुग्नेछ। २ लाख खोपबाहेक अन्य स्वास्थ्य सामग्री पनि तिब्बतले सहयोग गरेको महाशाखाले जनाएको छ।  

खोप अभियान जेठ २५ देखि

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले चीनबाट खोप आएलगत्तै खोप अभियान २५ गतेदेखि सुरु गर्ने निर्णय भएको बताए। २५ गतदेखि देशभरका खोप लिन बाँकी ६० देखि ६५ वर्ष उमेर समूहलाई दिइनेछ।  चीन र अमेरिकाबाट खरिदबाट खोप आउने सम्भावना रहेको कुराप्रति संकेत गर्दै खोप प्रक्रिया निरन्तर अघि बढ्दै जाने मन्त्री त्रिपाठीले बताए। 

‘खोप आउँदै गर्छ, खोप दिँदै जान्छौं,’ उनले भने। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार पाँच दिनभित्र सबै जिल्लामा पठाउने र २५ गतेदेखि खोप अभियान सुरु ग र्ने निर्णय भएको छ। यसअघि ६५ वर्ष माथिकालाई ६३ जिल्लामा र १४ जिल्लामा ५५ वर्षमाथिकालाई खोप दिइसकिएको छ। चीनबाट आएको १० लाख खोपमध्येमा ५ लाख मात्र दिने तयारी भएको छ। चीनबाट थप खोप आउने निश्चित भएपछि बाँकी सबैलाई लगाइने महाशाखा प्रमुख तारानाथ पोखरेलले बताए। नेपालमा ६० देखि ६४ वर्षका ८ लाख ५० हजार जनसंख्या रहेको तथ्यांक छ।  

कोरोना संक्रमण दर ३० प्रतिशत  

गत चौबिस घण्टामा नेपालका कोरोना संक्रमण दर ३० प्रतिशत रहेको छ। अघिल्लो दिन सोमबारको तुलनामा ३ प्रतिशत बढी हो भने नेपालमा कोरोना चुचुरोमा पुगेको अवधि अर्थात् एक महिनाअघिको भन्दा १६ प्रतिशत कम हो। एक सातादेखि ३० देखि ३४ प्रतिशतभित्र कोरोना संक्रमणको दर देखिएको छ। 

गत चौबिस घण्टामा परीक्षण भएका २० हजार १ सय ६५ वटा नमुनामध्ये ६ हजार ८५ जनामा कोरोना पुष्टि भएको हो। थपसहित नेपालका कोरोना संक्रमितको कुल संख्या ५ लाख ६६ हजार ५ सय ८७ पुगेको छ। तीमध्ये ३ लाख १५ हजार ९ सय ४८ जना दोस्रो लहरयता दुई महिनाको अवधिमा मात्र संक्रमित भएका हुन्।  

गत चौबिस घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि घटेको छ। एक महिनाअघि संक्रमण तीव्र भएको बेलामा दैनिक मृत्युदर २ सय ४०/४५ को हाराहारीमा रहेकोमा केही सातादेखि एक सय १० देखि वरपर रहँदै आएको थियो। मंगलबार मृत्यु संख्या घटेर ६८ पुगेको हो। 

प्रकाशित: १९ जेष्ठ २०७८ ०१:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App