स्वास्थ्य

रौतहटमा सक्रिय संक्रमितको संख्या साढे पाँच सय नजिक, गरुडा ठप्प पार्ने निर्णय

रौतहटमा कोरोना संक्रमणको विस्तार निरन्तर उकालो लागेको छ। शुक्रबार रौतहटको गौर अस्पतालमा १४० जनाको परीक्षण गरिएकोमा ३७ जनामा पोजेटिभ देखिएको छ। पीसीआर परीक्षणबाट ३० र एन्टिजेन परीक्षणबाट ७ गरी जिल्लामा थप ३७ जनामा कोरोना संक्रमण देखिएको हो।

नयाँ संक्रमितमा सबैभन्दा बढी फतुवा विजयपुर नगरपालिकाका रहेका छन्। शुक्रबार फतुवा विजयपुरमा १६, माधवनारायण नगरपालिकामा छ, गौर नगरपालिकामा चार, परोहा नगरपालिकामा तीन, बौधीमाई, चन्द्रपुर र देवाही गोनाही नगरपालिकामा एक–एक जना रहेका छन्।  

जिल्लामा कोरोनाको दोस्रो लहरमा संक्रमित संख्या ६३९ पुगेकोमा ७३ जना निको भइ घर फर्किसकेका छन्।  

शुक्रबार जिल्लामा सक्रिय संक्रमितको संख्या ५४५ रहेको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

शुक्रबारसम्म रौतहटमा कोरोना संक्रमणको कारण मृतकको संख्या ३६ पुगेको छ।

यसैबीच रौतहटको गरुडामा कोरोना संक्रमण बढ्दै गएर दुईजना प्रतिष्ठित व्यक्तिहरुको मृत्यु भएपछि दश दिनका लागि गरुडा ठप्प हुने भएको छ । युवा पत्रकार मनोजकुमार चौधरी तथा युवा व्यवसायी दीपेन्द्र साहको मृत्युपछि गरुडा कोरोनाको अति सम्वेदनशील क्षेत्र भएको भन्दै नगरपालिकाले दश दिनको लागि ठप्प पार्ने निर्णय गरेको हो।

गरुडा नगरपालिकाको कार्यपालिकाको बिहीबार बसेको बैठकले जेठ ३१ देखि जेठ ९ गतेसम्म नगरपालिका क्षेत्रभित्र रहेका सम्पूण व्यापारिक प्रतिष्ठानसहितका निजी क्षेत्रमा संचालनमा रहेका कार्यालयहरु प्ूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको नगर प्रमुख इन्दु राय यादवले बताए। 

प्रकाशित: ३१ वैशाख २०७८ १३:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App