स्वास्थ्य

संक्रमणबाट थप २२५ को मृत्यु

कोरोना संक्रमणबाट नेपालमा थप २ सय २५ जनाको मृत्यु भएको छ। यीमध्ये केहीको बितेको २४ घण्टामा मृत्यु भएको हो भने केहीको गत चार दिनभित्र मृत्यु भएको र मंगलबार मात्रै सूचना प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।  

नेपालमा कोरोना संक्रमणबाट चैत अन्तिम सातायताको एक महिनामा १ हजार ९० जनाको मृत्यु भइसकेको छ। हालसम्म नेपालमा ४ हजार ८४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ। कोरोना संक्रमणको दोस्रो लहर सुरु हुनुअघि चैत पहिलो सातासम्म नेपालमा कोरोनाबाट ३ हजारजनाको मृत्यु भएको थियो। स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा ६० वर्ष उमेरमाथिका २३ सय ८५ जना, ५० देखि ५९ वर्षका ७ सय ११ जना र ३० देखि ३९ वर्षभित्रका २ सय ९७ जना छन्।

गत २४ घण्टामा संक्रमण दर ४४.८ प्रतिशत रहेको छ। परीक्षण भएका २१ हजार ३ सय १६ नमुनामध्ये ९ हजार ४ सय ८३ जनामा संक्रमण पुष्टि भएको हो। तीमध्ये सबैभन्दा धेरै काठमाडौं उपत्यकाका ३ हजार ९ सय २७ जना छन्। थप संक्रमितसहित नेपालमा कुल संक्रमित संख्या ४ लाख १३ हजार १ सय ११ पुगेको छ। हाल देशभरिमा ९७ हजार ८ जना सक्रिय संक्रमित छन्। निको हुने दर ७५.५ प्रतिशत छ भने मृत्युदर १.३ प्रतिशत पुगेको छ। सक्रिय संक्रमित मध्येमा ८९ हजार ९ सय १४ जना होम आइसोलेसनमा छन् भने ७ हजार ९४ जना संस्थागत आइसोलेसनमा छन्। जटिल लक्षण भएका १ हजार ८४ जनाको आइसियुमा र २ सय ९० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। ४८ जिल्लामा संक्रमितको संख्या दुई सयभन्दा बढी छ।  

नयाँ भेरियन्टले छिटो निमोनियाँ बनाउँदा दोस्रो लहरको कोरोना संक्रमणको मृत्युदर बढेको चिकित्सकले बताएका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान विभाग संयोजक डा. शेरबहादुर पुनका अनुसार नेपालमा फैलिरहेको भारतमा देखिएको डबल म्युटेन्ट भेरियन्टको कोरोना हुन सक्छ, जुन युके भेरियन्टको तुलनामा कडा मानिन्छ। तर नेपालमा कुनचाहिं भेरियन्ट फैलिएको हो भन्ने बारेमा अध्ययन भइनसकेको उनले बताए।  

अस्पतालमा ढिलो गरी पुग्नु, पुगेकाले पनि उपचार नपाउनुजस्ता कारणले मृत्युदर ह्वात्तै बढेको डा. पुन बताउँछन्। ‘एकातिर भाइरस नै कडा भएर आएको देखिन्छ, अर्कोतिर अस्पताल पुगिसकेपछि पनि सबैले राम्रो उपचार पाएका छैनन्’, उनले भने।  

तीनवटा प्रदेशमा अस्थायी अस्पताल बनाइने

सरकारले अस्थायी कोभिड अस्पताल निर्माणको तयारी गरेको छ। दातृ निकाय तथा अन्य मित्र राष्ट्रसँग सहयोगको अपिल गरेपछि अस्पताल बन्ने तयारी भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मंगलबार नागरिकलाई जानकारी दिए। छिमेकी राष्ट्रहरू सहयोग गर्न तयार रहे पनि अस्थायी अस्पताल नै बनाइदिनेबारेमा पूर्ण निर्णय आइनसकेको उनले बताए। ‘भारत आफैं कोरोनासँग जुधिरहेको छ। चीन सहयोगका लागि इच्छुक देखिएको छ, पूर्ण निर्णय आउन बाँकी छ’, उनले भने। जसले सहयोग गरे पनि अस्थायी कोरोना अस्पताल निर्माणका लागि काठमाडौं, बुटवल र सुदूरपश्चिम प्राथमिकतामा पर्ने उनले बताए।  

सहयोगकै क्रममा चीन सरकारले दिएको ४ सय थान अक्सिजन सिलिन्डर, १० थान भेन्टिलेटर र १ सय ७३ थान अक्सिजन कन्सनटे«टर काठमाडौं आइपुगेको छ। कोभिड नियन्त्रणका लागि अन्य सामग्री सहयोगस्वरूप प्राप्त हुने क्रम जारी रहेको मन्त्रालयले जनाएको छ। पिपिई, भेन्टिलेटर, अक्सिजन ट्यांक, परीक्षण किटलगायतका सामाग्री पनि सहयोग स्वरूप प्राप्त हुँदैछ। महामारी अनियन्त्रित भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक सामग्रीको सूचीसहित परराष्ट्र तथा अन्य मन्त्रालयसँग सहयोगको अपिल गरेको थियो भने प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय मिडियामार्फत नै सहयोगको अपिल गरिसकेका छन्।  

टिचिङ, वीर र पाटन पूर्ण कोरोना अस्पताल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजधानीका मुख्य तीन ठूला अस्पताल टिचिङ, वीर र पाटनलाई पूरै कोभिड अस्पतालका रूपमा प्रयोग गरिने जनाएको छ। मंगलबार आयोजित भर्चुअल कार्यक्रममा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले राजधानीमा थप ५ सय हाइडिपेन्डेन्सी युनिट थप गर्ने, काठमाडौंका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने र निजी अस्पतालको ७५ प्रतिशत बेड कोभिड उपचारका लागि प्रयोग गर्ने निर्णय भएको बताए।

अहिले दैनिक १५ हजार अक्सिजन सिलिन्डर माग भएकोमा १० हजार मात्र आपूर्ति भएकाले थप सिलिन्डर खरिदका लागि प्रक्रिया अघि बढेको उनले जानकारी दिए। स्वास्थ्य सामग्री खरिदका लागि १४ अर्ब बजेट सुनिश्चित भइसकेको उनले बताए।  

सोही कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले अहिलको भन्दा नयाँ कडा कदमले मात्र कोरोना नियन्त्रण गर्न सम्भव भएको बताए। पूर्ण लकडाउन र स्वास्थ्य संकटकाल रोज्नुपर्ने आवश्यकता रहेको उनले स्पष्ट पारे।

प्रकाशित: २९ वैशाख २०७८ ०१:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App