स्वास्थ्य

माओवादी केन्द्रले पनि आइसोलेसन बनाउन पार्टी कार्यालय दिने

माओवादी केन्द्रको गोरखास्थित पार्टी कार्यालय ।

नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) गोरखाले गोरखा नगरपालिका ६ स्थित पाटेचौरमा रहेको पार्टी कार्यालय भबन आइसोलेसन बनाउन दिने निर्णय गरेको छ । जिल्ला अध्यक्ष लेखबहादुर थापाले मंगलबार एक विज्ञप्ती जारी गर्दै जनताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै आवश्यक परेको खण्डमा पार्टी कार्यालय र सभाहल आइसोलेसन केन्द्र निर्माण गर्न दिने बताएका हुन् ।  

जिला स्तरीय कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) गोरखाले आवश्यक परेमा स्वास्थ्य सुरक्षाको ब्यवस्था गरी आइसोलेसन केन्द्र निर्माण गर्न सक्ने माओवादी केन्द्रले प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।  

कोरोना संक्रमण दिनदिनै बढिरहेको र उपचार नै मूख्य भएकाले यसतर्फ पार्टी गम्भीर भएको अध्यक्ष थापाले बताए । ‘जनताको यस प्रकारको दुःख र पीडामा हामी साथै रहेका छौँ’ अध्यक्ष थापाले भने । आइसोलेसन केन्द्र निर्माण गर्न जिल्लामा ठाउँ अभाव भएको भन्ने दुःखद समाचारले पार्टीको ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ ।  

यस अघि सोमबार नेपाली कांग्रेस गोरखाले पार्टी कार्यालयको दुईवटा हल आइसोलेसन बनाउन दिने निर्णय गरेको थियो ।

प्रकाशित: २८ वैशाख २०७८ १२:४१ मंगलबार

माओवादी केन्द्र