स्वास्थ्य

जोखिममा बिरामी, सरकार रमिते

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको इमर्जेन्सी कक्षबाहिर शुक्रबार कोरोनाबाट सिकिस्त बिरामी र तिनका आफन्तको रुवावासी थियो। आफन्तले अस्पताल परिसरमा भेटिने चिकित्सक, नर्स, कर्मचारीसँग हात जोडर बिरामीलाई भर्ना गरिदिन आग्रह गरिरहेका थिए। जति हारगुहार गरे पनि अक्सिजन अभाव भएकाले अस्पतालले भर्ना लिन सकेन। 

उपचाररत संक्रमितकै लागि अक्सिजनको जोहो गर्न नसकेपछि नयाँ बिरामी भर्ना लिन समस्या भएको हो। यो अस्पतालमा बुधबारदेखि अक्सिजन अभाव छ। ‘गल्लीमै राखेर भए पनि उपचार गरिदिनुस्, अक्सिजन लगाइदिनुस् भन्दै बिरामीका आफन्तले रुँदै हात जोड्नुहुन्छ। कोही–कोही त खुट्टै ढोग्न खोज्नु हुन्छ’, चिकित्सक विष्णु गौतमले भने, ‘बिरामी र तिनका आफन्तले अस्पतालको गल्लीमै भए पनि ठाउँ दिनुस् भनेर अनुनयविनय गर्दा पनि चिकित्सक टुलुटुलु हेरेर बस्नुपर्ने कस्तो विडम्बना, कस्तो धर्म संकट, कस्तो निरीहता।’

भैरहवास्थित भीम अस्पतालको अवस्था पनि फरक छैन। कोरोनाका बिरामीले शनिबार दिनभर पनि अस्पतालको प्रांगण भरिएको थियो। अस्पतालले अक्सिजन अभावका कारण भर्ना नलिएपछि उनीहरू रुँदै फर्किएको एक स्वास्थ्यकर्मीले बताए। ती स्वास्थ्यकर्मीका अनुसार शुक्रबारदेखि नै अस्पताल परिसर कारुणिक छ।

अक्सिजनको चरम अभाव भएपछि रूपन्देहीका सरकारी र निजी अस्पतालले शुक्रबारदेखि नै नयाँ बिरामी भर्ना लिन छाडेका छन्। पहिला भर्ना भएका बिरामीकै लागि अक्सिजन जुटाउन अस्पतालहरूलाई हम्मेहम्मे परेको छ। बेड नपाएर ज्यान गुमाइरहेको अवस्थामा अक्सिजनको पनि अभावले संक्रमित त्रासमा छन्। अस्पतालहरूको अवस्था पनि बेहाल छ।

स्थिति भयावह भएपछि चिकित्सक नै अक्सिजन जुटाउन दौडधुप गर्नु परिरहेको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.राजेन्द्र खनालले बताए। तीन तहका सरकार रमिते बनेपछि उपचारमा खटिनुपर्ने चिकित्सक नै अक्सिजन जुटाउन दगुर्नु परेको चिकित्सक बताउँछन्। लुम्बिनी प्रादेशिक अस्पताल र बुटवल धागो कारखानाको कोभिड विशेष अस्पतालका लागि अहिले दैनिक ६ सय सिलिण्डर अक्सिजन आवश्यक पर्छ। तर आपूर्ति करिब ३ सय सिलिण्डर अक्सिजनमात्र रहेको अस्पतालका सूचना अधिकारीसमेत रहेका डा.गौतमले बताए।

 तीन तहका सरकार रमिते बनेपछि उपचारमा खटिनुपर्ने चिकित्सक नै अक्सिजन जुटाउन दगुर्नु परेको चिकित्सक बताउँछन्। लुम्बिनी प्रादेशिक अस्पताल र बुटवल धागो कारखानाको कोभिड विशेष अस्पतालका लागि अहिले दैनिक ६ सय सिलिण्डर अक्सिजन आवश्यक पर्छ।

भैरहवास्थित भीम अस्पतालमा पनि झण्डै ५० प्रतिशत कम अक्सिजन आपूर्ति भएपछि शुक्रबार र शनिबार बिरामी भर्ना गरिएन। अस्पतामा अहिले ७० जनाभन्दा बढी संक्रमितको उपचार भइरहेको छ। अस्पतालका चिकित्सक नारायण पोखरेलका अनुसार ती सबै अक्सिजन दिनुपर्ने बिरामी हुन्। यो अस्पताललाई हाल दैनिक ४ सय सिलिण्डर अक्सिजन आवश्यक छ तर आपूर्ति जम्मा २ सय सिलिण्डर छ।

यी अस्पतालहरूले एक साताअघि नै केन्द्र, प्रदेश, स्थानीय सरकार र प्रशासनलाई अक्सिजन अभावबारे जानकारी गराएका थिए। तर तीनवटै सरकारले सुनेनन्। ‘मुख्यमन्त्री, मन्त्री, मेयर सबैसँग अक्सिजन आपूर्ति सहज बनाउन पटकपटक माग गरेका थियौं तर सुनुवाइ नै भएन’, बुटवलको कोभिड अस्पतालका कोरोना फोकल पर्सन डा.नन्दु पाठकले भने।

निजीतर्फ भैरहवाको युनिभर्सल मेडिकल कलेज, मणिग्रामको क्रिमसन अस्पताल, देवदह मेडिकल कलेजले पनि कोभिड १९ का बिरामीको उपचार गर्छन्। ती अस्पतालमा पनि कोरोनाका गम्भीर बिरामीको संख्या बढेसँगै अक्सिजनको चरम अभाव छ। जसका कारण शुक्रबारदेखि बिरामी भर्ना लिइएको छैन।

अक्सिजन अभावमा अस्पतालहरूले नयाँ बिरामी भर्ना रोक्नुपर्ने अवस्था आए पनि प्रदेश सरकार भने रमिते बनेको छ। मुख्यमन्त्री शंकर पोखरेलले माग अनुरूप अक्सिजन व्यवस्थापन गरेको भन्दै फेसबुकमार्फत जनता ढाँटिरहेका छन्। पोखरेलले शुक्रबार पनि फेसबुकमा अक्सिजन प्लान्टहरूले अक्सिजन उत्पादन थालेको, भारतबाट लिक्विड अक्सिजन आयात हुने पक्कापक्की भएको भन्दै पोस्ट गरेका थिए। तर यहाँका अस्पतालहरूले भने शनिबार साँझसम्म अक्सिजन आपूर्तिका लागि भरपर्दो व्यवस्थापन नगरिएको जनाएका छन्। 

लुम्बिनी प्रादेशिक अस्पतालले संघसंस्था र बुटवलमै रहेको आम्दा अस्पतालसँग अक्सिजन पैंचो मागेरसंक्रमितको ज्यान बचाइरहेको जनाएको छ। ‘अक्सिजन व्यवस्थापनका लागि हारगुहार गर्न थालेको साता÷दस दिन भयो। तर सरकार कहाँ छ, के गर्दैछ, हामीलाई थाहा छैन’। अक्सिजन खोज्न दौड्दादौड्दै हामी नै गलिसक्यौं’, प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. खनालले भने।

रूपन्देहीमा हाल अस्पतालहरूका लागि दैनिक २ हजार सिलिण्डर अक्सिजन आवश्यक पर्ने भए पनि करिब ९ सय सिलिण्डर अक्सिजन आपूर्ति भइरहेको स्वास्थ्य अधिकारीहरू बताउँछन्। रूपन्देहीमा भएका तीनवटा उद्योगबाट अक्सिजन आपूर्ति हुन्छ। प्रादेशिक अस्पतालले यसअघि नेपालगन्जबाट आपूर्ति गथ्र्यो। तर नेपालगन्जमै माग बढेपछि अहिले त्यहाँबाट हुने आपूर्ति रोकिएको छ। रूपन्देहीमा भएका तीनवटा ग्यास उद्योगको दैनिक उत्पादन क्षमता ११ सय सिलिण्डर छ। 

वैकल्पिक व्यवस्था नगरिए ती उद्योग पूर्ण रूपमा सञ्चालन भए पनि जिल्लाको मागलाई धान्न सक्ने देखिँदैन। लुम्बिनी ग्यास प्रालिको ३ सय सिलिण्डर, एचओ अक्सिजन उद्योगको ५ सय र लुम्बिनी ग्यास उद्योग प्रालिको ३ सय सिलिण्डर उत्पादन क्षमता हो। पछिल्लो समयमा भइरहेको अघोषित लेडसेडिङले पनि पूर्ण क्षमतामा उत्पादन गर्न नसकिएको उद्योगका सञ्चालक बताउँछन्। 

लुम्बिनी ग्यास प्रालिका सञ्चालक रमेश खनालले बेलाबेलामा बिनाजानकारी हुने लोडसेडिङका कारण फुल फेजमा उद्योग चलाउन नसकेको बताए। एकातिर माग अनुरूप यहाँका उद्योगले अक्सिजन आपूर्ति गर्न सकेका छैनन् भने अर्कोतिर विभिन्न संघसंस्था र स्थानीय तहले अक्सिजन बैंकका नाममा स्टक राखेर पहुँचवालाहरूको घरघरमा पुर्‍याउँदा स्वास्थ्य संस्थाहरूमा अक्सिजन र सिलिण्डर दुवै अभाव भएको स्वास्थ्यकर्मी बताउँछन्।

प्रकाशित: २६ वैशाख २०७८ ०१:३४ आइतबार

लुम्बिनी प्रादेशिक अस्पताल