स्वास्थ्य

दुई बेहुलीसहित तीन युवतीको कोरोनाबाट मृत्यु

सरकारले कोरोना महामारीकाबीच पनि बिहेको अनुमति दिइरहेकै बेला बिहे र जात्राामा सरिक तीन युवतीको संक्रमणबाट मृत्यु भएको छ। राजधानीका कोभिड उपचारमा सलग्न अस्पतालका अनुसार उनीहरूको कोरोनाका कारण निमोनिया भएपछि मृत्यु भएको हो।  

अस्पतालका अनुसार वैशाख १० मा विवाह मण्डमा बसिरहेकी तारकेश्वर–७ की २६ वर्षीय बेहुलीलाई मण्डमै श्वास फेर्न गाह्रो भएपछि बिपी स्मृति अस्पतालमा उपचारको लागि लगिएको थियो। अस्पतालमा डेढ घण्टा अक्सिजन दिएर उपचार गरेपछि पुनः मण्डमै पुर्‍याएर विवाह सम्पन्न गरियो। श्वास–प्रश्वासमा झनै कठिनाइ भएपछि विवाहको भोलिपल्ट ११ गते पुनः सोही अस्पतालमा उपचारको लागि लगिएको थियो।

वार्डमा दुई दिन राखेर अक्सिजन तथा अन्य उपचार गरे पनि स्थिति थप गम्भीर भएपछि तेस्रो दिन आइसियुमा भर्ना गरिएको थियो। आइसियुमा चार दिनको उपचारपछि भेन्टिलेटरमा उपचार गर्दागर्दै उनको मृत्यु भएको अस्पतालका प्रशासक मधु मिश्रले बताए। उनीसहित उनकी बहिनीमा पनि संक्रमण भएकोमा अहिले सुधार भएको अस्पताल स्रोतले जनाएको छ।  

वैशाख ११ मै विवाह सम्पन्न भएकी भक्तपुर सुंडालकी २३ वर्षीया बेहुलीको वैशाख २० गते मृत्यु भएको छ। उनलाई बिहेकै भोलिपल्ट श्वास–प्रश्वासमा समस्या भएपछि अस्पताल पुर्‍याइएको थियो। उनको भक्तपुरको कोरोना अस्पतालमा उपचारका क्रममा भेन्टिलेटरमा मृत्यु भएको हो। कोरोना संक्रमणको कारण गम्भीर निमोनिया भएपछि उनको मृत्यु भएको उपचारमा संलग्न चिकित्सक फिजिसियन सुनिल ढुंगेलले बताए। उनलाई वैशाख १२ गते यो अस्पताल भर्ना गरिएको थियो। अस्पतालका अनुसार गम्भीर निमोनिया भएका थप ५ जना युवा उमेरका छन्। उनीहरू मध्येमा ३ जना आइसियु चाहिने अवस्थाका छन्। मृतक दुवै बेहुलीमा कुनै दीर्घरोग नरहेको र कोरोना संक्रमणको कारणले मात्र मृत्यु भएको चिकित्सकले बताएका छन्।  

गत चैत ३० गते दोलखा भिमेश्वरबाट भक्तपुर माइत आएकी २९ वर्षीया महिलाको पनि कोरोना संक्रमणको कारण वैशाख १७ गते भक्तपुरकै इन्टरनेसनल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। उनको आफन्तका अनुसार युवती भक्तपुरको जात्रामा सरिक भएकी थिइन्। जात्रामा सरिक भएपछि उनलाई गर्मी हुने, मुख सुक्ने जस्ता समस्या देखिए। उनी भक्तपुरमा सन्चो नभएको भन्दै दोलखा गइन्। घर गएपछि पनि स्वास्थ्यमा समस्या देखिएपछि चरिकोटको छोरोल्पा अस्पतालमा सामान्य उपचारपछि घरमै फिर्ता पुर्‍याइयो। फेरी बिरामी परेपछि स्थानीय स्वास्थ्यचौकीमा र स्वास्थ्यचौकीबाट काठमाडौंको कौशलटारस्थित इन्टरनेसनल अस्पतालमा भर्ना गरियो। अस्पतालमा दुई/तिन दिनको उपचारपछि भेन्टिलेटरमै उनको मृत्यु भएको आफन्तले बताएका छन्। माइतमा उनी भन्दा पहिल्यै बुवामा कोरोना संक्रमित भएपछि उनलाई वीर अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको जनाइएको छ।  

दोस्रो कोरोना लहरको कोरोना संक्रमण भएयता करिब ४ सय जनाको मृत्यु भइसकेकोमा उल्लेखनीय मात्रामा युवायुवती रहेको चिकित्सकहरूले जनाएका छन्। भक्तपुर कोरोना अस्पतालका फिजिसियन डा. सुनिल ढुंगेलका अनुसार दोस्रो लहरको कोरोना संक्रमण तीव्र रूपमा फैलिएकोले धेरैजसो परिवारै संक्रमित हुने क्रम बढी छ। भोज भतेर तथा अन्य जमघटमा सहभागी भएका, घुमघाममा सहभागी भएका व्यक्तिबाट परिवारका पुरै सदस्यहरूमा छोंटो अवधिमै संक्रमण फैलिएको पाइएको वीर अस्पतालका फिजिसियन डा.धुव्र गैरेले बताए। डा.गैरेका अनुसार संक्रमणको लक्षण देखिएका ५ देखि १० दिनभित्र बिरामीमा गम्भिर लक्षण भई श्वास–प्रश्वासमा समस्या आउने गरेको पाइएको छ। दोस्रो लहरमा ३० देखि ५० वर्षभित्रकामा बढी संक्रमण भएकोले मृत्यु हुनेमा पनि यो समूह बढी रहेको चिकित्सकले जनाएका छन्। 

प्रकाशित: २२ वैशाख २०७८ ०२:१३ बुधबार

दुई बेहुलीसहित तीन युवतीको कोरोनाबाट मृत्यु