स्वास्थ्य

धादिङबेसीमा अक्सिजनसहितको कोभिड अस्पताल सञ्चालन

सदरमुकाम धादिङबेसीमा सञ्चालनमा ल्याइएको कोभिड १९ अस्पताल। तस्बिर: सरिता/नागरिक

कोरोना भाइरसको दोश्रो चरणमा महामारी भयावह भन्दै गर्दा धादिङबेसीमा अस्थायी कोभिड अस्पताल स्थापना भएको छ। धादिङ अस्पतालले अक्सिजनसहितको कोभिड १९ अस्पताल सञ्चालनमा ल्याइएको हो। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको निर्णय बमोजिम नवनिर्मित जिल्ला वन कार्यालय, धादिङको भवनमा धादिङ अस्पताल धादिङले ५० शय्याको अस्थायी कोभिड–१९ अस्पताल संचालनमा ल्याएको हो।

तयारी अवस्थामा रहेको कोभिड अस्पतालमा आवश्यकता अनुसारको चिकित्सक र स्वास्थ्यकर्मीको पनि व्यवस्था गरिएको धादिङ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाले बताए। आइसोलेसन वेड थप गर्ने विषयमा भने भौतिक संरचनाको अभावले समस्या भइरहेको अध्यक्ष धमलाले बताए।

अस्पतालले आवश्यक अक्सिजनको आवश्यकतालाई मध्यनजर राख्दै १९ ओटा खाली अक्सिजन भर्न पठाएको जिल्ला अस्पताल धादिङले जनाएको छ। ५३ वटा अक्सिजन सिलिण्डर र मध्ये १९ ओटा खाली सिलिण्डर अक्सिजन भर्न पठाएको हो। जिल्ला अस्पतालले ३ वटा भेन्टिलेटरको पनि व्यवस्था गरेको छ। अस्पतालमा अहिले ६ जना मेडिकल अधिकृत र ३ जना विशेषज्ञ डा.बाट मात्र आवश्यकता अनुसार सेवा प्रवाह गर्ने बताएका छन्।

दुई वटा आईसियूमा र एउटा आकस्मिक कक्षमा राखेर सेवा प्रवाह गरिने जिल्ला अस्पताल धादिङका मेडिकल सुपरीडेण्डेन्ट डा. त्रिभुवन चन्द्र झाले बताए। ‘कोरोना भाइरसको संक्रमण बढ्दो छ, त्यसैलाई मध्यनजर गर्दै अक्सिजनसहितको आइसोलेशन संचालनमा ल्याएका छौँ,’ डा. झाले भने, ‘अस्पतालमा भेन्टिलेटर चलाउने दक्ष जनशक्ति भने छैन तर भेन्टिलेटर चलाउने आवश्यक जनशक्ति परिपूर्तिका लागि स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरेको र केही दिन भित्रमा भेन्टिलेटर सहित स्वास्थ्य सेवा उपलब्ध हुनेछ।’

गाउँगाउँमा संक्रमण फैलिने क्रम बढिरहेको भएपनि स्थानीय तहहरूले भने क्वारेन्टाइन समेत तयार गरेका छैनन्। अस्थायी कोभिड अस्पताल स्थापनाको लागि स्थानीय सरकारलाई बजेट पठाएको भएपनि विभिन्न बहानामा क्वारेन्टिन समेत तयार गर्न सकेका छैनन्। पहिलो चरणमा संचालनमा ल्याइएको क्वारेन्टिन पनि केही गाउँपालिकाको बाहेक अधिकांशको तयारी अवस्थामा नरहेको स्वास्थ्य कार्यालयले जनाएको छ। सदरमुकाममा भन्दा स्थानीय स्तरमा नै आइसोलेशन तयार गरेर संचालन गर्दा संक्रमित र चिकित्सक दुबैलाई जोखिम कम हुने चिकित्सकहरुको ठम्याइ छ।

प्रकाशित: १५ वैशाख २०७८ ०७:२३ बुधबार

कोभिड अस्पताल धादिङबेसीमा