स्वास्थ्य

कोरोना महामारीसँगै सुध्रियो सुदूरको स्वास्थ्य

थपिए बेड र संरचना, करारमा चिकित्सक स्वास्थ्यकर्मीलाई तालिम र सिप

कोभिड १९ (कोरोना) ले विश्व नै डामाडोल पारेको बेला सुदूरपश्चिमको स्वास्थ्यमा भने सुनौलो मौका थपिएको छ। कहिल्यै नसप्रिएको सुदूरपश्चिमको स्वास्थ्यको अवस्था कोरोना कालले सपारेको हो। कोरोनाअघि सुदूरपश्चिमको स्वास्थ्य अवस्था नाजुक थियो। सामान्य जेकचाँज गर्नका लागि पर्याप्त मेसिन तथा औजार नहुँदा बिरामीले सुदूरपश्चिम बाहिर जानुपर्ने बाध्यता थियो। तर, कोरोनापछि भने भौतिक संरचना र भौतिक सामग्री थपिनुका साथै भएका स्वास्थ्यकर्मीलाई आवश्यक तालिम तथा सीप दिँदा स्वास्थ्य क्षेत्रमा सुधार आएको हो।

सुदूरपश्चिममा गत वर्षअघि सेती प्रादेशिक अस्पतालमा मात्रै पाँच बेडको आइसियु सेन्टर थियो। त्यो पनि कहिल्यै चल्ने त कहिल्यै नचल्ने। आइसियु सप्रिए, स्वास्थ्यकर्मी तथा कर्मचारी हुँदैनथे। कर्मचारी तथा स्वास्थ्यकर्मी भए आइसियु बिग्रेको हुन्थ्यो। तर, कोरोना कालपछि भने त्यस्तो अवस्था रहेन सुदूरमा। धमाधम बने भौतिक संरचना, रातारात किनिए स्वास्थ्य सामग्री। स्वास्थ्य सामग्री थपिँदा स्वास्थ्यकर्मीलाई त्यहीअनुसारको तालिम तथा सिप दिइयो। क्षमता अभिवृद्धि गरियो। त्यसपछि सप्रियो सुदूरको स्वास्थ्य अवस्था।  

कोरोनापछि भने सेती प्रादेशिक अस्पताल धनगढीलगायत अन्य जिल्लामा गरेर ५१ वटा आइसियु बेड थपिए। जसले यहाँका अत्यन्त जोखिम बिरामीलाई प्रदेश बाहिर गएर आइसियु सेवा लिनुपर्ने बाध्यता थोरै भए पनि टर्‍यो। ‘पहिले आइसियु बेड नै थिएन,’ प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका तथ्यांक अधिकृत डिएन गिरीले भने, ‘कोरोनापछि भने सेती प्रादेशिक अस्पतालमा मात्रै रहेको आइसियु सेन्टरलाई वृद्धि गरिनुका साथै सर्वसाधारणको पहुँचमा पुर्‍याइएको छ।’ कोरोनाअघि ५ वटा मात्रै आइसियु बेड रहेको सुदूरपश्चिममा कोरोनापछि भने आइसियुको ५७ बेड पुगेका छन्। 

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोनाअघि सेती प्रादेशिक अस्पतालमा ५ बेड रहेको आइसियु सेन्टरमा १० बेड थपेर १५ बेड पुगाइयो। त्यस्तै आइसियु सेन्टर नरहेको महाकाली अस्पताल कञ्चनपुरमा ६ बेड, जिल्ला अस्पताल बाजुरामा ३ बेड, जिल्ला अस्पताल डोटीमा २ बेड, जिल्ला अस्पताल अछाममा २ बेड, डडेल्धुरा अस्पतालमा १५ बेड, जिल्ला अस्पताल बझाङमा ३ बेड गरेर ५७ बेड थपिएको छ। आइसियु सेवा थपिँदा जोखिममा रहेका बिरामीलाई उपचार गर्न सजिलो हुनुका साथै प्रदेश बाहिर गएर सेवा लिनु पर्ने बाध्यता टरेको छ। ‘यसअघि गम्भीर प्रकृतिका बिरामीलाई एम्बुलेन्स रिजर्ब गरेर आइसियु सेवा लिन कोहलपुर तथा नेपालगन्ज  पुर्‍याउनु पथ्र्यो,’ स्वास्थ्य पत्रकार संघका सुदूरपश्चिम प्रदेश संयोजक शेरबहादुर ऐरले भने, ‘कोरोनापछि भने सुदूरपश्चिममै आइसियु सेवा थपिँदा सहज भएको छ।’ सरकारी तवरबाट मात्रै यति सेवा थपिँदा निजी अस्पताल सञ्चालकले पनि पछिल्लो समयमा आइसियु सेवा थपेर बिरामीलाई सेवा दिइरहेको उनले बताए। ‘आइसियु सेवा सरकारी तवरबाट मात्रै नभई धनगढीमा रहेका निजी अस्पतालले पनि सेवा थप गरेका छन्,’ उनले भने, ‘यसबाट पनि पछिल्लो समयमा सुदूरपश्चिममा स्वास्थ्य सेवामा फड्को मारिएको छ।’  

यस्तै जनरल बेड पनि सुदूरपश्चिममा त्यही अनुपातमा थपिएका छन्। बिरामीको संख्या दिनानु दिन बढ्दै जानु र बेड संख्या उही हुँदा सेवाग्राहीले सहज सेवा लिन नसक्नु र निजी अस्पतालमा महँगो शुल्कमा सेवा लिनुपर्ने बाध्यतालाई केही हदसम्म टेवा पुगेको छ। कोरोनाअघि सुदूरपश्चिमका सरकारी अस्पतालमा ७ सय ३७ वडा जनरल बेड रहेकोमा कोरोनापछि २ सय १५ बेड थप गरेर ९ सय ५२ बेड बनाइएको छ। सुदूरपश्चिमका विभिन्न जिल्लामा रहेका जिल्ला अस्पताल, कोभिड अस्पताललगायत अन्य अस्पतालमा बेड संख्या थप गरिएको हो। ‘कोरोनाअघि उही संरचना र उही स्वास्थ्य सामग्रीमा परम्परागत रूपमै चलेको सुदूरको स्वास्थ्य सेवामा भने पछिल्लो समयमा परिवर्तन भएको छ,’ नागरिक समाजका अगुवा प्रमोद पाठक भन्छन्, ‘भौतिक संरचना र स्वास्थ्य सामग्री थपिएका छन्।’ यसले पनि स्वास्थ्य क्षेत्रमा धेरथोर परिवर्तन भएको उनले बताए।  

कोरोनाअघि सुदूरपश्चिममा चिकित्सकको कम जनशक्ति रहेकोमा कोरोनापछि त्यसलाई बढाइएको छ। दरबन्दी उही रहे पनि करारमा चिकित्सक थपेर स्वास्थ्य सेवा दिइएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। कोरोनाअघि सुदूरपश्चिमका सरकारी स्वास्थ्य संस्थामा ८९ जना मेडिकल अफिसर रहेका थिए। जसले यहाँका बिरामीलाई उपचार गर्न भ्याइनभ्याई थियो। कोरोनाकालपछि भने त्यो संख्या बढाएर १ सय २३ पुर्‍याइएको छ। ३४ जना मेडिकल अफिसरलाई थपेर स्वास्थ्य सेवालाई अझ व्यापक बनाइएको हो। ‘कोरोनाअघि सुदूरपश्चिममा ८९ जना मेडिकल अफिसर थिए,’ स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत गिरीले भने, ‘त्यसलाई थपेर १ सय २३ जना पुर्‍याइएको छ।’  

यस्तै भौतिक संरचना पनि थप गरिएको उनले बताए। ठाउँठाउँमा कोभिड अस्पतालका लागि छुट्टै भवन बनाइएको छ। धनगढी, महेन्द्रनगरलगायत ठाउँमा अस्थायी प्रकृतिका भवन निर्माण गरेर कोभिड अस्पताल बनाइएको छ। यस्तै अस्पतालमा चाहिने बेड तथा अन्य सामग्री पनि उही मात्रामा  राखिएका छन्।

प्रकाशित: ११ वैशाख २०७८ ०१:३० शनिबार

कोरोना महामारीसँगै सुध्रियो सुदूरको स्वास्थ्य