स्वास्थ्य

नेपालगन्जमा कोरोना संक्रमण तीव्र

सातामा ४ को मृत्यु, ७४ जना अस्पताल भर्ना, २ सय १० जनामा पोजेटिभ

नेपालगन्जस्थित भेरी अस्पताल। तस्बिर: अर्जुन ओली/नागरिक

नेपालगन्जमा कोरोना भाइरसको संक्रमण तीव्र बनेको छ। लक्षणसहितका बिरामी एक्कासि बढेपछि अस्पतालका बेड भरिभराउ भएका छन्। भेरी अस्पतालका एनेस्थेसियोलोजिस्ट डा.पारश पाण्डेका अनुसार गत शनिबार २२ जना बिरामी भर्ना भएकोमा बुधबारसम्म ७४ जना पुगिसकेका छन्। ‘पहिलेको भन्दा अहिलेका बिरामीको लक्षण एकदमै खतरनाक छ। भेन्टिलेटरमा राखिएका बिरामीको बोल्दाबोल्दै मृत्यु भएको छ’, उनले भने।  

डा. पाण्डेका अनुसार कोभिड वार्डमा भर्ना भएका बिरामीमध्ये १४ जनाको आइसियु र ७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। उनले थपे, ‘यसअघि परिवारमा एकजनालाई कोरोना देखिएपछि अरु व्यक्तिमा सर्दैनथ्यो तर अहिले एकजनालाई देखिनेबित्तिकै परिवारका सबैलाई भाइरस सरेको स्थिति छ।’  

संक्रमितको चाप बढेपछि उपचार गर्न जनशक्ति अभाव भएको अस्पतालले जनाएको छ। अस्पतालले उपलब्ध गराएको विवरणअनुसार एक सातामा ४ जना संक्रमितको मृत्यु भइसकेको छ। अस्पताल प्रशासनका अनुसार चैत २५ र ३० गते १–१ जना र चैत ३१ गते २ जनाको मृत्यु भएको हो। यस्तै अस्पतालले गरेको प्रयोगशाला परीक्षणबाट चैत २७ यता बुधबारसम्म २ सय १० जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये स्वास्थ्यमा समस्या देखिएका बिरामी अस्पतालमा भर्ना भए पनि बाँकी होम आइसोलेसनमा छन्।  

अस्पतालका वरिष्ठ चिकित्सक डा. श्यामसुन्दर यादवले अस्पतालसँग प्रयोगशाला परीक्षण गर्ने किटका साथै अन्य स्वास्थ्य सामग्री पर्याप्त नभएको बताए । उनले भने, ‘कोरोना बिरामीको स्वास्थ्य जाँच गर्ने सामग्रीको एकदमै अभाव छ। स्वास्थ्य सामग्री नै नभएपछि हामीले बिरामीको कसरी उपचार गर्न सक्छौं र?’

अस्पतालको कोभिड वार्ड नर्सिङ इन्चार्ज शीला शर्माले कोभिडका बिरामीको संख्या एक्कासि बढेपछि उपचार गर्न निकै सकस भइरहेको बताइन् । ‘कोभिड वार्डमा १९ जना नर्स कार्यरत छन्। सबै नर्सको ड्युटी पालैपालो गराउँदा अपुग भइरहेको छ,’ उनले भनिन्। उपचारकै क्रममा एकजना नर्सलाई समेत कोरोना पोजेटिभ देखिएको शर्माले जानकारी दिइन्।

अस्पताल विकास समितिका सदस्य धनीराम ओलीका अनुसार १ सय ४२ बेडको कोभिड वार्ड छ। बिरामीको संख्या यही अनुपातमा बढ्यो भने अस्पतालले थेग्न नसक्ने उनी बताउँछन्। अस्पताल प्रशासनका अनुसार पोजेटिभ देखिएका अधिकांश बिरामी नेपालगन्ज उपमहानगरपालिका क्षेत्रका छन्। सरकारी कर्मचारीका परिवार, विद्यार्थी, शिक्षक, स्वास्थ्यकर्मीलगायतमा संक्रमण भेटिएको छ।

नेपाल–भारत सिमा खुला, बजारमा भिडभाड

कोरोना भाइरसका नयाँ संक्रमित बढिरहँदा पनि नेपाल–भारत सीमाबाट निर्वाध आवतजावत चलिरहेको छ। भारतमा उच्च रुपले कोरोना फैलिँदा पनि स्थानीय प्रशासनले सीमा क्षेत्रमा सर्वसाधारणलाई आवतजावत गर्न रोक लगाएको छैन। नयाँ वर्ष र चैते दसैं मनाउन भारतबाट ठूलो संख्यामा नेपाली नागरिक आइरहेका छन्। उनीहरूको सामान्य स्वास्थ्य जाँचमात्रै हुने गरेको छ। यस्तै नेपालगन्ज, कोहलपुरलगायत बजार क्षेत्रमा सर्वसाधारणको भिडभाड कायमै छ।

विद्यालयमा पठनपाठन चलिरहेको छ । पछिल्लो समयमा शिक्षक र विद्यार्थीमा संक्रमण देखिए पनि स्थानीय प्रशासन तथा उपमहानगरपालिकाले चासो नदिएको सरोकारवालाको गुनासो छ। नेपालगन्ज मेडिकल कलेजका उपनिर्देशक डा.नितेश कनोडिया अस्पतालभित्र कोभिड वार्ड व्यवस्थापन गरेर मात्र कोरोना नियन्त्रण गर्न सम्भव नभएको बताउँछन्। उनी थप्छन्, ‘जनतालाई कसले नियन्त्रण गर्ने? नेपाल–भारत सीमा नाका कसले बन्द गर्ने?’ 

सर्वसाधारणको भिडभाड र सीमा नाकाबाट आवतजावत नरोक्दासम्म कोरोना नियन्त्रण गर्न असम्भव भएको उनले बताए। राजनीतिक दलका प्रतिनिधिले पनि सीमा नाका, विद्यालय तथा कलेज, सेवाग्राहीको भिडभाड हुने सरकारी कार्यालय केही दिनका लागि बन्द गर्नुपर्ने सुझाव दिएका छन्।  

नेपालगन्ज उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख उमा थापामगरले आइसोलेसन पुनः सञ्चालन गर्ने तयारी गरिरहेको बताइन्। ‘कोरोना नियन्त्रणका लागि स्थानीय स्तरमा गर्नुपर्ने काम हामीले दु्रत गतिमा गरिरहेका छौं। तर स्थानीय सरकारले मात्र गरेर यो काम सम्भव छैन, केन्द्र र प्रदेश सरकारले पनि आवश्यक सहयोग गर्न जरुरी छ,’ उनले भनिन्।  

बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले कोरोना भाइरसका नयाँ संक्रमित बढेपछि स्थानीय प्रशासन कडा रुपले प्रस्तुत हुनुपर्ने बेला आएको बताएका छन्। ‘कोरोना भाइरसका नयाँ संक्रमित बढेपछि अब अलि बढी सावधान हुनुपर्ने अवस्था देखियो,’ उनले भने, ‘सर्वसाधारणको आवतजावत रोक्ने, स्वास्थ्य मापदण्ड पालना गराउनुपर्ने हुन्छ, यसका लागि हामीले समयमै निर्णय गर्नुपर्ने हुन्छ।’ संक्रमितको संख्या एक्कासि बढेपछि भेरी अस्पतालले बुधबार सरोकारवालाको बैठक राखेको थियो।

यसैबीच विराटनगरबाट नागरिककर्मी विनोद सुवेदीले जनाएअनुसार प्रदेश १ मा बुधबार २० जना कोरोना संक्रमित थपिएका छन्। सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगरमा १५, पथरीशनिश्चरेमा १, सुनसरीको धरानमा २ र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा सक्रिय संक्रमितको संख्या १ सय ७९ पुगेको छ।

प्रकाशित: २ वैशाख २०७८ ०१:२६ बिहीबार

नेपालगन्ज कोरोना संक्रमण तीव्र