स्वास्थ्य

कमजोर पोषणले २० सेन्टिमिटरसम्म उचाइ फरक पार्ने: अध्ययन

स्मिथा मुन्डासाद/बिबिसी

पोषणले बालबालिकाको उचाइमा २० सेन्टिमिटरसम्म फरक पार्ने एक समीक्षात्मक अध्ययनले देखाएको छ। प्रसिद्ध मेडिकल जर्नल लान्सेटमा हालै प्रकाशित सो अध्ययनअन्तर्गत विश्वका ६ करोड ५ लाख बालबालिका र किशोरका उचाइ तथा तौलको भिन्नतालाई हेरिएको थियो। पाँचदेखि १९ वर्षका उमेर समूह समावेश गरिएको सो अध्ययनले सन् १९८५ देखि २०१९ सम्म प्रकाशित दसई सयवटा अध्ययनका तथ्यांकको समीक्षा गरेको छ।

अध्ययनअनुसार सन् २०१९ मा नेदरल्यान्डमा ६ फिटको उचाइसँगै १९ वर्षका एक किशोर सबैभन्दा अग्ला थिए भने ५ फिट ३ इन्चको उचाइका टिमोर लेस्टेका अर्का किशोर सबैभन्दा होचा थिए। अनुसन्धानकर्ताले बालबालिकाका उचाइ र तौलमा हुने परिवर्तनले कस्तो षोषण र वातावरणमा उनीहरू हुर्केका हुन्छन् भन्ने देखाउने बताएका छन्। सन् २०१९ मा सरदरमा सबैभन्दा बढी उचाइ भएका बालबालिका तथा किशोर उत्तर पश्चिम तथा युरोपका रहेका र सरदरमा कम उचाइ भएका दक्षिण तथा दक्षिण पुर्बी एसिया, ल्याटिन अमेरिका र पुर्बी अफ्रिकाका रहेका थिए। सो समीक्षात्मक अध्ययनका अनुसार लाओसको १९ वर्षका किशोरको उचाइ र नेदरल्यान्डको १३ वर्षको किशोरको उचाइ बराबर अर्थात् ५ फिट ४ इन्च थियो।

यसैगरी नेपाल, बंगालादेश, ग्वाटेमाला र टिमोर लेस्टेका १९ वर्षका किशोरीको उचाइ ११ वर्षका नेदरल्यान्डका किशोरीको बराबर अर्थात् पाँच फिट रहेको अध्ययनले जनाएकोछ। पछिल्ला ३५ वर्षमा बालबालिकाको उचाइमा उल्लेख्य सुधार हुने देशमा चीन र दक्षिण कोरिया रहेका छन्। यसैगरी अफ्रिकाका सबसहारा क्षेत्रका किशोरीको उचाइ पछिल्ला ३५ वर्षमा खास परिवर्तन आएको छैन। यसैगरी तौल र उचाइको अनुपातमा मापन गरिने बोडी मास इन्डेक्स (बिएमआई) को समीक्षा गर्दा सबैभन्दा बढी बीएमआई भएका किशारकिशोरी प्यासिफिक आइल्यान्ड, मध्यपूर्व, अमेरिका र न्युजिलेन्डका रहेका छन्। यसैगरी १९ वर्षका सबैभन्दा कम बिएमआई भएका किशोरकिशोरी भारत र बंगालादेशका रहेका छन्। सबैभन्दा कम र बढी बिएमआई भएका किशोरकिशोरीका बीच २५ केजी सम्मको तौल फरक थियो।

केही देशका बालबालिकामा पाँच वर्षसम्म स्वस्थ्य बिएमआई रहे पनि १९ वर्षको उमेरसम्म पुग्दा सो अनुपात अस्वस्थ्य हुने गरेको पाइएको छ। अनुवांशिक कारणले पनि उचाइ र तौल निर्धारण गरे पनि पोषण र वातावरणले समष्टिगत जनसंख्याको उचाइ र तौलमा फरक पार्ने गरेको पाइएको छ। अनुसन्धानकर्ताले अन्तर्राष्ट्रिय पोषण नीतिले पाँच वर्षमुनिका बालबालिकालाई बढी जोड दिएको बताउँदै अन्य उमेरका लागि पनि उत्तिकै ध्यान दिनुपर्नेमा जोड दिएका छन्। अध्ययनको प्रमुख अनुसन्धानकर्तासमेत रहेकी इम्पेरियल कलेज लन्डनकी डा. एन्ड्रिया रोड्रिगेजले अध्ययनका नतिजाले नीतिगत सुधार गर्न सहयोग गर्ने बताइन्। ‘कम आय भएका परिवारलाई खाद्यान्न तथा स्वस्थ्य स्कुल खाजाको व्यवश्था गर्न जरुरी देखिएको छ,’ उनले भनिन्। यसैगरी लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रोपिकल मेडिसिनका प्राध्यापक एलान डानगौरले यो समीक्षा अत्यन्त महत्वपूर्ण रहेका बताउँदै भने, ‘विश्वका सरकारले किशोर अवस्थाका लागि अधिक ध्यान दिनुपर्छ।’

प्रकाशित: २२ कार्तिक २०७७ ०४:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App