स्वास्थ्य

‘कोरोना संक्रमणबाट मृत्यु हुने जोखिम- विवाहितभन्दा अविवाहितलाई बढी’

हालै गरिएको एक अनुसन्धानले कोरोना संक्रमण भयो भने त्यसबाट मृत्यु हुने जोखिम विवाहितलाई भन्दा अविवाहित व्यक्तिलाई बढी हुने देखाएको छ। स्विडेनमा गरिएको अनुसन्धानले यस्तो दाबी गरेको हो।  

वैज्ञानिकका अनुसार यदि तपाईं पुरुष हुनुहुन्छ, अनि अविवाहित, गरिब र शिक्षा पनि कम छ भने कोरोनाबाट मृत्यु हुने जोखिम ज्यादा हुन्छ।  

भारतीय पत्रिका दैनिक भास्करका अनुसार स्विडेनस्थित स्टकहोम विश्वविद्यालयका वैज्ञानिकले गरेको अनुसन्धानले कोरोना संक्रमणबाट मृत्यु हुने खतरा विवाहितलाई भन्दा अविवाहितलाई तथा महिलालाई भन्दा पुरुषलाई बढी हुने देखाएको हो।  

उक्त अनुसन्धानअनुसार महिलालाई भन्दा पुरुषलाई कोरोनाबाट मृत्यु हुने जोखिम २ गुणा बढी हुन्छ भने महिला हुन् वा पुरुष, विवाहितलाई भन्दा अविवाहितलाई मृत्युको जोखिम डेढ गुणा बढी हुन्छ। 

उक्त अनुसन्धान स्विडेनको ‘नेसनल बोर्ड अफ हेल्थ’को तथ्यांकमा आधारित छ। जुन तथ्यांकमा त्यहाँ कोरोनाका कारण मृत्यु भएकामा अविवाहित पुरुषको संख्या बढी छ भने तिनको उमेर २० वर्ष वा त्यसभन्दा केही बढी पाइएको छ। तर अविवाहित भएकै कारण कोरोना संक्रमणबाट मर्ने जोखिम किन बढी हुन्छ भन्ने कारणचाहिँ खुलाइएको छैन।

नेचर कम्युनिकेसन जर्नलमा प्रकाशित अनुसन्धानमा स्विडेनस्थित स्टकहोम विश्वविद्यालयका अनुसन्धानकर्ता स्भेन ड्रेफलले भनेका छन्, ‘खासगरी अरू देशमा भन्दा स्विडेनमै जन्मिएका मानिसमा यस्तो जोखिम बढी पाइएको छ। कोरोनाबाट मृत्युको जोखिम कम आय र शिक्षासँग पनि जोडिएको पाइयो।’

किनकि कम शिक्षा र आय भएका मानिसले आफ्नो स्वास्थ्यमा धेरै ध्यान दिन नसक्ने वैज्ञानिकको दाबी छ।  

प्रकाशित: २७ आश्विन २०७७ ०७:२७ मंगलबार

जोखिम मृत्यु