ताप्लेजुङको मेरिङ्देन गाउँपालिका वडा नं ३ खाम्लुङका एक किशोर उपचार खर्चको अभावमा अहिले अस्पतालमा छट्पटाई रहेका छन्। अहिले काठमाडौंस्थित सिभिल सर्भिस हस्पिटल अफ नेपाल नामक अस्पतालमा उपचार गराई रहेका १७ वर्षीय खगेन्द्र नाल्बोलाई ब्लडक्यान्सर भएपछि उनी अस्पतालमै छट्पटाई रहेका छन्।
रकमको बन्दोबस्ती गर्न सके उनलाई अस्पतालले थप उपचार प्रकृया सुरु गर्छ। तर, उनीसंग खर्चको अभाव छ। सुरुबाटै अस्पतालमा उपचार बापत लागेको खर्च तिरिसकेको छैन। खाम्लुङकै पृथ्वी माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत नाल्बो डेढ महिना अघिदेखि सिभिल सर्भिस अस्पतालको बेडमा उपचार खर्चको अभावले छट्पटाई रहेको बिरामीका आफन्त राजकुमार नाल्बोले बताए। पारिवारिक आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारण क्यान्सर पीडितको अहिलेसम्म आवश्यक उपचार हुन नसकेको राजकुमारको भनाइ छ।
ब्लड क्यान्सरबाट थलिएका खगेन्द्रको उपचारका लागि अस्पतालले करिव १५ लाख रुपैयाँ जति खर्च लाग्ने भनेपछि सो रकम अहिलेसम्म जुटाउन नसक्दा उनको आवश्यक उपचार हुन सकेको छैन। यता रोगको उपचार हुने तर खर्च धेरै लाग्ने भएपछि बिरामीका बाबु सुखराज नाल्बोसहितका आफन्तले रकम भने जुटाउन थालेका छन्। तर उपचार गर्न आवश्यक रकमको जोहो अहिले सम्म भईसकेको छैन।
मृत्युसँग संघर्ष गरिरहेका क्यान्सर रोगले ग्रसित छोराको उपचारमा सहयोग गर्न उनले सार्वजनिक आह्वान समेत गरेका छन्। अलिअलि सहयोग रकम जुट्दै आएपनि उपचारका लागि आवश्यक रकम नउठेसम्म उपचार प्रकृया सुरु हुन कठिनाई रहेको छ। क्यान्सर पीडितका बुवा सहयोग गर्नेहरुका लागि सुखराजले एनसीसी बैंकको खाता नं. १५३००००००९३१० सार्वजनिक गरेर सबैसँग अपिल गर्दै आएको बताएका छन्।
घरको आर्थिक अवस्था अत्यन्तै दयनीय भएका कारण छोरालाई बचाउने सोच राखेर उपचार खर्चका सबैसँग सहयोगको याचना गरिएको बिरामीका आफन्तले जनाएका छन्। सोहीअनुसार हाल देश विदेशमा रहेका आफन्त, नातेदार तथा सहयोगी मन भएकाहरुबाट सहयोग रकम जुट्ने क्रम जारी रहेको र अझै आवश्यक रकम जुटिनसकेकाले सहयोग गरिदिन बिरामीका आफन्तले अनुरोध गरेका छन्।
सहयोगी भावना राख्नेले ९८६५४८३८६१ नम्बरमा बिरामीका दाजु खड्ग नाल्बोलाई सम्पर्क गर्न सकिने क्यान्सर पीडित बिरामीका बुवा सुखराजले जानकारी दिए।
प्रकाशित: २५ भाद्र २०७७ ०९:४१ बिहीबार