स्वास्थ्य

सरकार रोक्दै, डा. केसी बिरामी जाँच्दै

भदौ १० गते प्रहरीको उच्च निगरानीका साथ एक साता सत्याग्रह स्थगित गरेका डा. गोविन्द केसी ११ गते विशेषज्ञ स्वास्थ्य सेवा दिन भन्दै गुठिचौर गाउँपालिकाको स्वास्थ्यचौकीमा पुगे। झोलामा औषधि उपचारका सामग्री लिएर साढे १० बजे स्वास्थ्यचौकी पुगेका थिए।  

स्वास्थ्यकर्मी र डा. केसीबीच सञ्चो बिसञ्चोको आदान प्रदान भयो। नामी डाक्टरको उपस्थितिले स्थानीय निकै उत्साहित थिए। एकजना औंलामा चोट लागेकी महिलाको उपचार गर्न डा. केसी जब तयार भए तब स्वास्थ्यचौकी इन्चार्जले सुनाए, ‘डाक्टरसाब डा. केसी आउँदैछन्, काम गर्न नदिनु भन्ने आदेश छ। हामी अन्यौलमा पर्यौं।’  

त्यसपछि एक घण्टा पनि नबसेर सदरमुकाम खलंगातिर फर्किए। स्वास्थ्यचौकीमा रहँदासम्म डा. केसीले कोरानाबाट बच्न अनिवार्य मास्क लगाउन, साबुनपानीले हात धुन र सामाजिक दूरी कायम गर्न सुझाइरहेका थिए।

डा. केसी भन्छन्, ‘त्यो दिन जिन्दगीकै पहिलोपटक निरास भए। तर जनताको स्वास्थ्य सेवा गर्नको लागि हिम्मत हारेको छैन्।’ होटलबाट सुरक्षाकर्मीको उच्च निरानीका साथ उनी गाउँमा गएका थिए। गोलघरमा बिरामी टन्न थिए। मास्कको प्रयोग भएको थिए। दूरी कायमको त कुरै छाडौँ, स्वास्थ्यकर्मीले समेत जनस्वास्थ्य तथा सुरक्षा मापदण्डको कुनै पालना गरेका थिएनन्। नजिकैको सुरक्षाकर्मीले पनि कुनै मापदण्डको पालना गरेका थिएनन्,’ डा. केसीले भने, ‘मापदण्डको कार्यन्वयन गर्ने तपाईंहरू नै लापरबाही गर्नुहुन्छ ? कसरी कोरोना संक्रमण हट्छ।’

जुम्लाको एक गाउँपालिकामा काम गर्न नदिएर निरास मनकासाथ खलंगा फर्किएका डा. केसीको मन जनताको सेवा गर्नबाट पछि हटेन। उनी अर्को दिन पातारासी गाउँपालिकाको उर्थुको स्वास्थ्यचौकीमा तीन दिन बसेर विशेषज्ञ सेवा दिए। डा. केसी स्वास्थ्यचौकीमा पुग्दा स्वास्थ्यकर्मी उत्साहित थिए। जनता विशेषज्ञ स्वास्थ्य सेवा गाउँमै पाउँदा दंग थिए। उनीसँग उपचार गर्न आउनेको संख्या बढ्न थाल्यो। त्यो समयमा पातारासी गाउँपालिका उपाध्यक्ष पुन्नकली महतराले आफ्नो हातको उपचार गराइन्। उपाध्यक्ष महतराले भनिन्, ‘गाउँमै डा.साप पुगेर उपचार गर्न पाउँदा निकै खुसी छौँ। गत हिउँद महिनामा मोटरसाइकल दुर्घटनामा चोट लागेर दुखिरहेको हातमा डा. केसीले सुई लगाइदिए। अहिले दुख्न छाडेको छ।’ चिकित्सा शिक्षा सुधारको अभियानमा निरन्तर सत्याग्रह बसिरहेका डा. केसी गाउँमा पुगेर सेवा दिँदा सन्तोष मन लिएर बिरामी घर फर्किए।

डा. केसी भन्छन्, ‘गाउँमा विशेषज्ञ स्वास्थ्य सेवा दिन पुग्दा गर्वको अनुभूति गर्नुपर्नेमा सेवा रोक्न खोज्नु मूर्खता हो। यो जनताको स्वास्थ्य अधिकारको सरासर हनन् हो।’ सोमबार बिहान कालिकोटको तिलागुफा गाउँपालिका १ मा पहिरोमा परी घाइते भएकी पुन्ना शाहीको उपचारमा सहभागी हुन डा. केसी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पुगे। उनी घाइतेको उपचारमा सहभागी भए। सामान्य हातमा चोट लागेकी शाहीको ड्रेसिङ गरे। औषधि उपचार गरिसकेपछि अस्पतालले घाइतेको डिस्चार्ज गर्यो। डा. केसी घाइतेसँगै पहिरो गएको स्थानमा एम्बुलेन्समै पुगे। पहिरोस्थलमा पुगेर उनले मृतकका परिवारसँग बसेर समवेदना दिए। निरास मनका साथ डा. केसीले भने, ‘पहिरोले निकै दुःख निम्त्यायो। तर यीनका दुःखमा मल्हमपट्टी लगाउने राज्यले कस्तो व्यवहार गर्ने हो,’ उनको माग थियो, ‘पहिरो पिडितले तत्काल राहत पाउन्।’

वर्तमान सरकारले प्रजातान्त्रिक मूल्य मान्यता स्थापित हुन दिएन। धमिलो पानीमा  माछा मार्ने दाउमा मात्र लाग्यो। कसैले डर त्रास देखाउँदैमा म डराउँदिनँ। म कसैको धम्कीले विचलित हुँदिनँ। भदौ १८ गतेदेखि सत्याग्रह बस्छु। म जे बोल्छु, त्यही गर्छु।  दमन भए सडकमै सत्याग्रह बस्छु।

डा. केसी घटनास्थल पुग्दा मृतका परिवारले मनोबल उच्च भएको अनुभूति गरिरहेका थिए। डा. केसी दुई महिनादेखि कर्णालीमा छन्। उनी सुरुमा बाजुरा हुँदै हुम्लाको ताजाकोट गाउँपालिकाको स्वास्थ्यचौकीमा पुगेका थिए। हुम्लामा एक हप्ता बसे। स्वास्थ्यकर्मीलाई आफूले जानेको कुरा सिकाउने र जनताको उपचार गर्ने कार्यमा जुटे। हुम्लामा नागरिकको औषधि उपचार सकाएर फर्केर कोल्टी, मार्तडी, अछामको बयालपाटा मंगलसेन हुँदै कालिकोट पुगे। त्यो अवधि जनताको अपार माया पाए र स्वास्थ्यकर्मीको ठूलो साथ।  

कालिकोट जिल्ला अस्पतालको १० दिन बसाइँपछि उनी साउन पहिलो हप्ता जुम्ला पुगे। पत्रकार सम्मेलनमार्फत एक महिनाको अल्टिमेटम दिए। माग पूरा नभए भदौ १० देखि सत्याग्रह गर्ने घोषणापछि उनी डोल्पामा पैदल यात्रा गरे। डोल्पाको जगदुल्ला गाउँपालिकामा पुगेका डा. केसीको विशेषज्ञ स्वास्थ्य सेवा दिने चाहना त्यहाँका जनप्रतिनिधिले पूरा गर्न सकेनन्। उल्टै सेवा दिन असहयोग गरे। पहिलो दिन त जसोतसो ९० जनाको उपचार गरे। डा. केसीले भने, ‘दोस्रो दिनमा गाउँपालिका अध्यक्षले नै काम गर्न दिनुभएन।’ तेस्रो दिनमा जुम्ला फर्किए। डा. केसीको जीवनकालमा सेवा गर्छु भनेर गाउँमा जादाँ पनि सेवा दिन नसकेको पहिलो घटना हो।

गाउँका स्वास्थ्यचौकीमा जाँदा डा. केसीले स्वास्थ्यचौकी र स्वास्थ्यकर्मीसँग मात्र समन्वय गर्छन्। गाउँपालिकामा जानकारी दिन जरुरी देख्दैनन्। ‘न म भाषण गर्न जाने हो, नत भोट माग्न,’ डा. केसीले भने, ‘जनताको स्वास्थ्य उपचारका लागि जाने भएकोले कसैसँग समन्वय गर्नु जरुरी छैन। अहिले हरेक क्षेत्रमा राजनीतिकरण भएको छ। स्वास्थ्यकर्मी र कर्मचारीलाई कार्यकर्ता बनाएर राख्ने प्रचलन छ। यो गलत कुरा हो। राजनीतिक मूल्यमान्यताको अपमान पनि।’

साउन महिनामै डा. केसी मुगु अस्पतालमा पुगेर सेवा दिन थाले। एक हप्ता बसेर विशेषज्ञ सेवा दिए। मुगुमा उनलाई कुनै अवरोध भएन। चिकित्सक र स्वास्थ्यकर्मीको साथ निकै राम्रो रहेको डा. केसी बताउँछन्। उनले भने, ‘अस्पताल व्यवस्थापन समितिमा राजनीतिक नियुक्ति गर्नाले पनि जनताले चाहअनुसारको स्वास्थ्य सेवा दिन सकिएको छैन।’ स्वास्थ्य क्षेत्र जानेको, चिकित्सक र स्वास्थ्यकर्मीले छानेको व्यक्ति अस्पताल व्यवस्थापन समितिको अध्यक्ष हुनुपर्नेमा उनले जोड दिए।

कोराना संक्रमणका कारण गरिएको लकडाउनले सर्वसाधारण अस्पतालसम्म पुग्न सकेका छैनन्। लकडाउनले गाडी पनि चल्दैनन्। अस्पतालमा पनि कोरानाको चर्चा हुन्छ। अन्य रोगले गाउँमा बिरामी मर्ने गरेका छन्। डा. केसी भन्छन्, ‘लकडाउनमा ग्रामीण क्षेत्रमा सरकारले चिकित्सक तथा स्वास्थ्यकर्मी खटाएर सेवा दिने वातावरण बनाउनुपर्छ। यहाँ त कोराना सन्त्रास छ। सचेतनाको अभाव छ। सामान्य बिरामी पनि कोरानाको सन्त्रासले मर्ने गरेका छन्। डा. केसी भन्छन्, ‘कोरोनालाई जोड दिएर अन्य रोगलाई पनि ध्यान दिन जरुरी छ। सबै जनशक्ति कोरानाका पछि लाग्दा नागरिक अन्य रोगले ग्रसित भएर मर्नु पर्ने बाध्यता नआओस्।’

डा. केसी गाउँमा पुगेर विशेषज्ञ सेवा मात्र दिँदैनन्। स्थानीयसँग भलाकुसारी गर्छन्। सर्वसाधारणको घरमा पुगेर मिठोमसिनो खान्छन्। जनताको सेवालाई नै धर्म ठान्छन्। ‘कोरोनाबारे सचेतना फैलाउँछु। बाटोमा हिँडेकालाई समेत रोकेर जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गर्न सिकाउँछु,’ डा. केसी थप्छन्, ‘कोरोनाबाट आफू बचेर अरूलाई बचाउनको लागि आग्रह गरिरहेको छु। कोराना रोग रोकथाम बारे जनतासँग साक्षात्कार गर्न पाएको छु। हात धुन, मास्क लगाउन र दूरी व्यवस्थापन गर्न लगाउँछु। अनि मात्र विशेषज्ञ स्वास्थ्य सेवा दिन तयारी हुन्छु।’

‘वर्तमान सरकारले प्रजातान्त्रिक मूल्य मान्यता स्थापित हुन दिएन। धमिलो पानीमा माछा मार्ने दाउमा मात्र लाग्यो,’ डा. केसी भन्छन्, ‘कसैले डर त्रास देखाउँदैमा म डराउँदिन। म कसैको धम्कीले विचलित हुँदिनँ। भदौ १८ गतेदेखि सत्याग्रह बस्छु। म जे बोल्छु। त्यही गर्छु। दमन भए पनि सडकमै सत्याग्रह बस्छु।’ अनशन रोक्न प्रदेशमा प्रतिनिधिलेसमेत पहल थालिरहेका छन्।  

उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा दक्ष जनशक्ति, आवश्यक पूर्वाधार निर्माण गरेर एमबिबिीएस लगायतमा शैक्षिक कार्यक्रम थाल्नुपर्ने माग राखेका छन्। ‘कर्णालीको स्वास्थ्य क्षेत्रको माग अन्य जिल्लामा अनशन बस्दा पनि प्राथमिकतामा थियो। यहाँ पनि प्राथमिकतामा राखेको छु। तर यहाँको सरकारमा मानवता देखिएन्। त्यो प्रति निकै दुखी छु।’

प्रकाशित: १६ भाद्र २०७७ ०२:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App