स्वास्थ्य

चीनले बनाएकाे कोरोना खोपले पायो ‘पेटेन्ट’, ३ महिनाभित्र बजारमा आउने अपेक्षा

चीनको क्यानसिनो बायोलोजिक्स कर्पोरेसनले आफूले विकास गरेको कोरोनाविरुद्धको खोप एडी ५-एनकोभका लागि ‘पेटेन्ट’ (सर्वाधिकार) पाएको छ ।  

चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सका अनुसार चीनको बौद्धिक सम्पत्ति नियामक संस्थाले यही अगस्ट ११ तारिख उक्त कम्पनीलाई खोपको पेटेन्ट प्रदान गरेको हो ।  

चीनले खोपको तेस्रो चरणको परीक्षण विभिन्न देशमा गरिरहेको छ र सन् २०२० को अन्त्यसम्ममा बजारमा ल्याउनेा अपेक्षा गरिएको ग्लोबल टाइम्सले जनाएको छ ।  

खोपले चिनियाँ मौालिकता र सिर्जनात्मकता प्रस्तुत गर्ने र अन्तर्राष्ट्रिय बजारमा विश्वास प्राप्त गर्ने चिनियाँ विशेषज्ञले दाबी गरेका छन् ।  

चीनका सैन्य संक्रामक रोग विज्ञ चेन वेई नेतृत्वको टोलीले विकास गरेको यो खोप चीनमा सर्वाधिकार प्राप्त गर्ने पहिलो खाेप बनेको छ ।  

क्यानसिनेले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ- ‘पेटेन्ट प्राप्तिले खोप प्रभावकारी र सुरक्षित भएको पुष्टि गरेको छ । विश्वसनीयतासँगै यसको बौद्धिक सम्पत्ति अधिकार (आईपीआर) को स्वामित्व पनि प्रदान गरेको छ ।’  

खोपको पहिलो चरणको क्लिनिकल ट्रायल सुरु भएको ३ दिनपछि उत्पादक कम्पनी क्यानसिनोले मार्च १८ मा पेटेन्ट प्राप्तिका लागि आवदेन दिएको थियो । खोपको तेस्रो चरणको परीक्षण विभिन्न मुलुकमा भइरहेको कम्पनीले जनाएको छ ।  

पहिलो र दोस्रो चरण परीक्षणको नतिजा जुलाई २० सम्ममा प्राप्त भएको  र सकारात्मक देखिएकाे बताइएको थियो ।  

वाल्टर एन्ड एलिजा हल इन्स्टिच्युट अफ मेडिकल रिसर्चका प्राध्यापक मार्क पेलिग्रिनले ‘द गार्डियन’ पत्रिकासँग भने, ‘पेटेन्ट प्राप्त भएपछि कसैले पनि यस खोपको नक्कल गर्न पाउँदैन । तर क्लिनिकल ट्रायलका लागि याे अनिवार्य मापदण्ड होइन ।’

चिनियाँ ह्याकरले कोरोना भाइरसको उपचार र खोप विकासको सूत्र चोरी गर्न खोजेको भन्ने अमेरिकाले लगाएको आधारहीन आरोपलाई पनि यस खोपले गतिलाे जबाफ दिएकाे चिनियाँ विज्ञले बताएका छन् ।  

प्रकाशित: १ भाद्र २०७७ १०:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App